तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडाैं। फागुनमा महाधिवेशन सम्भव नदेखिँदा पनि नेताहरूबीचको अविश्वासका कारण कांग्रेसले अर्को तालिका ल्याउन सकेको छैन । सभापति शेरबहादुर देउवाको पृष्ठभूमि र पार्टी सञ्चालनका पछिल्ला गतिविधिप्रति सशंकित वरिष्ठ नेता रामचन्द्र पौडेल र उनी पक्षीय नेताहरूले महाधिवेशनको तालिका संशोधन गर्न नदिएका हुन् । नियमित समयमा नसकेर एक वर्ष थप्दासमेत महाधिवेशन गराउन नसकेको भन्दै पौडेल पक्षले सभापति देउवाको आलोचना गरिरहेको छ ।

पार्टी विधानअनुसार आगामी फागुनभित्रै महाधिवेशन गराउनुपर्छ तर संविधानले दिएको अतिरिक्त ६ महिनाको समयको लाभ लिँदै महाधिवेशनको तालिका भदौमा पुर्‍याउने योजना नेतृत्वले बनाएको छ ।

क्रियाशील सदस्यताको वितरण र नवीकरण टुंग्याउन समय लाग्ने जनाउँदै नेतृत्वले भदौमा महाधिवेशन तालिका सार्न खोजेको हो तर पौडेल पक्षले पार्टीलाई संवैधानिक संकटमा पुर्‍याएर आफैँ नेतृत्वमा दोहोरिन चाहेको आशंका बारम्बार प्रकट गर्दै आएपछि शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकले प्रभावित भइसकेको क्रियाशील सदस्यताको वितरण र नवीकरणको तालिकामा मात्रै संशोधन गरेको छ । अब क्रियाशील सदस्यता वितरण र नवीकरण सकेर मंसिर मसान्तभित्रमा स्थानीय तहले नामावली केन्द्रमा पठाइसक्नुपर्नेछ । यसअघि भदौ मसान्तसम्ममा केन्द्रमा पठाउने तालिका थियो ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले महाधिवेशनका सबै तालिका प्रभावित भइसकेकाले पूर्ण तालिका नै ल्याउनुपर्ने अडान राखेका थिए । उनले महाधिवेशनलाई अन्योलमा राख्नुभन्दा जेठमा महाधिवेशन गर्ने गरी पूर्ण तालिका ल्याउनु राम्रो हुने बताएका थिए ।

वरिष्ठ नेता पौडेलले मंसिरभित्र क्रियाशील सदस्यताको सूची केन्द्रमा आइसके फागुनमै महाधिवेशन हुन सक्ने तर्क अघि सारेका थिए । फागुनको ७—१० मा नभए पनि अन्तिमतिर हुन सक्ने उनको भनाइ थियो । संस्थापनपक्षीय नेता ज्ञानेन्द्रबहादुर कार्कीले भने पटक—पटक मिति सारिरहनुभन्दा भदौमा महाधिवशेन हुने गरी तालिका ल्याउन जोड दिएका थिए । सभापति देउवा सहमति भए भदौमा, नभए क्रियाशील सदस्यताको मात्रै तालिका संशोधन गरेर अन्यलाई पछि संशोधन गर्ने पक्षमा थिए ।

केन्द्रीय सदस्य गगन थापा र धनराज गुरुङले महाधिवेशनको तयारीसँगै सरकारको अकर्मण्यताविरुद्ध आन्दोलनका कार्यक्रमसमेत ल्याउन जोड दिएका थिए । दुवैले समावेदनमार्फत तत्काल संसद् अधिवेशन बोलाउने प्रक्रिया अघि बढाउनसमेत नेतृत्वलाई सुझाएका थिए ।
बैठकमा वरिष्ठ नेता पौडेलले अन्य राजनीतिक दलबाट प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई पद बाँड्दा वर्षौंदेखि संघर्ष गरेर बसेका पुराना कार्यकर्तालाई उपेक्षा गर्न नहुने भनाइ राखेका थिए । देउवाले भने कांग्रेस समुद्रजस्तो पार्टी भएकाले प्रवेश गर्ने जोकोहीलाई स्वागत गर्नुपर्ने बताएका थिए ।

पौडेल पक्षले उठाएका १६ बुँदे मागका अधिकांश विषयमा समझदारी भइनसकाले त्यसबारे अर्को बैठकमा प्रस्ताव ल्याउने तयारी भएको देउवानिकट एक सदस्यले बताए ।

थापा सहमहामन्त्री, पाण्डे सांसद
कांग्रेसले राप्रपाबाट हालै आएका नेता सुनीलबहादुर थापालाई सहमहामन्त्री बनाउने निर्णय गरेको छ । गत साउन १३ गते राप्रपाबाट कांग्रेस प्रवेश गरेका थापालाई पार्टी सभापति देउवाले सहमहामन्त्री बनाउने घोषणा गरे पनि केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदन भएको थिएन । थापासहित आएका अन्य नेतामध्ये रामप्रसाद भट्टराई, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, किरण गिरी र टीएन योगीलाई केन्द्रीय सदस्य तथा दिलिप राई, आशाराम चौधरी र राजेशबहादुर सिंह आमन्त्रित सदस्य भएका छन् । थापासहितका नेताहरू पार्टीको अर्को बैठकमा सहभागी हुने छन् ।

यस्तै, कांग्रेसले सूर्यबहादुर केसीको निधनका कारण रिक्त रहेको समानुपातिकतर्फको सांसदमा मोहनबहादुर पाण्डेलाई मनोनयन गर्न निर्वाचन आयोगमा सिफारिस गरेको छ । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा केसीपछि खस आर्यतर्फको कोटामा पाण्डेको नाम समावेश थियो ।

यस्तै, कांग्रेस बैठकले कोभिड–१९ रोकथाम तथा नियन्त्रणलगायत सबै काममा सरकार असफल भएको ठहर गरेको छ ।

ग्लोबल टाइम्सको समाचारको निन्दा
हुम्लाको सीमा क्षेत्रमा चीनले नेपाली भूभाग अतिक्रमण गरेको भन्ने कांग्रेसको अध्ययन प्रतिवेदनलाई लिएर ग्लोबल टाइम्समा प्रकाशित समाचारप्रति बैठकले निन्दा गरेको छ । चीन सरकारको आधिकारिक दृष्टिकोण प्रतिनिधित्व गर्ने ग्लोबल टाइम्सको नोभेम्बर १० मा प्रकाशित लेखमा कांग्रेसलाई भारत परस्त भनेर गरिएको टिप्पणीप्रति कांग्रेसले आपत्ति जनाएको हो ।

कर्णाली प्रदेशका विपक्षी दलका नेता जीवनबहादुर शाहीको नेतृत्वमा कांग्रेसले गरेको स्थलगत अध्ययनले हुम्लाको सीमा क्षेत्रमा चीनले नेपाली भूभाग अतिक्रमण गरेको ठहर गरेको थियो । कांग्रेसले भनेको छ, ‘कांग्रेस
छिमेकीलगायत सबै मित्र राष्ट्रसँग सार्वभौम बराबरीका आधारमा सम्बन्ध राख्ने कुरामा विश्वास गर्छ, कांग्रेस नेपालबाहेक कुनै पनि देशको परस्त पार्टी हुन सक्दैन ।’

नेपालस्थित चिनियाँ दूतावासले नोभेम्बर १३ मा कांग्रेसलाई लखेको पत्रमा प्रतिवेदनलाई आधारहीन र झूटो भन्दै गैरजिम्मेवार र अमैत्रीपूर्ण भनिएकामा पनि गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …