तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं। छात्रालाई बलात्कार गरेको आरोप लागेका शिक्षकलाई जिल्ला अदालत डोटीले धरौटी लिएर तारिखमा छोडेको छ ।

केआईसिंह गाउँपालिका–४ की १९ वर्षीया किशोरी शिक्षकबाटै बलात्कृत भएर गर्भवतीसमेत भएकी थिइन् । गाउँकै झिमेमालिका माविका शिक्षक सोफिनाथ भट्टले बलात्कार गरेको पीडित किशोरीले बताएकी छन् । कारागार पुर्‍याउनुपर्ने व्यक्तिलाई अदालतले तारिखमा छोडिदिँदा अन्याय भएको पीडितको गुनासो छ । ‘अदालतप्रतिको विश्वास नै गुम्यो,’ किशोरीका काकाले भने, ‘एकातिर गर्दै नगरेको गल्तीले छोरीको भविष्य बर्बाद भयो, अर्कातिर दोषीलाई थुनामा राख्नुको साटो अदालतले मनोबल बढाएर गाउँमा पठाइदियो ।’

गत कात्तिक १ गते जिल्ला अस्पताल डोटीमा शारीरिक परीक्षण गर्दा किशोरीको पेटमा १३ हप्ता ४ दिनको भ्रूण रहेको पुष्टि भएको थियो । उनले काठमाडौं गएर गर्भपतन गराइसकेकी छन् । जिल्ला अदालत डोटीका न्यायाधीश विदुर काफ्लेको इजलासले बुधबार भट्टलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएका थिए । सरकारी वकिलको कार्यालय डोटीले जिल्ला अदालतको फैसलामा चित्त नबुझेपछि उच्च अदालतमा पुनरावेदन गरेको सरकारी वकिलको कार्यालयका न्यायाधिवक्ता पूर्णबहादुर केसीले बताए ।

शिक्षक भट्टले विभिन्न प्रलोभन र आश्वासन देखाएर शारीरिक सम्बन्धका लागि तयार नभएपछि विद्यालयको वनभोजमा गएका बेला खिचिएको तस्बिरलाई ब्ल्याकमेलिङ गरेको किशोरीको आरोप छ । ‘गत साउन १८ गते फोटो डिलिट गरिदिने आश्वासन देखाएर गाउँकै कापडी पड भन्ने ठाउँमा बोलाएर जबरजस्ती करणी गरे,’ उनले भनिन् । भट्टले साउन १८ गतेको उक्त घटनालाई लिएर धम्क्याउन थालेको उनले बताइन् ।

फेरि सताउन थालेपछि गत असोज १९ गते ती किशोरी भट्टले बोलाएका ठाउँमा गएकी थिइन् । भट्टले फेरि बलात्कार गरेपछि उनले हिम्मत गरेर सबै विवरण घरमा बताएको सुनाइन् । त्यसपछि मात्रै परिवारले किटानी जाहेरी दिएको हो । अदालती प्रक्रियाका क्रममा किशोरी बलात्कारबाट गर्भवती रहेको खुलेको हो । सुरुमा शिक्षक–विद्यार्थीकै व्यवहार भए पनि पछिल्लो समय फोनमा अनेक प्रलोभन दिने गरेको आरोप लगाइन् ।

जिल्ला न्यायाधीश विदुर काफ्लेले प्राप्त प्रमाणका आधारमा प्रतिवादी भट्ट कसुरदार रहेको विश्वास गर्ने ठाउँ भए पनि उनी शारीरिक अशक्त हुनुका साथै अभियोग र अधिकतम सजायलाई आधार मानेर थुनामा राख्नुपर्ने आवश्यकता नरहेको उल्लेख गरी ३ लाख धरौटी लिई तारिखमा पुर्पक्ष राख्न आदेश दिएका छन् ।

आरोपित शिक्षक भट्ट एउटा खुट्टा खुम्च्याएर हिँड्छन् । न्यायाधिवक्ता केसीले मुलुकी फौजदारी संहिता २०७४ अनुसार आरोपित भट्टलाई तत्काल फेला परेका प्रमाणका आधारमा ७ देखि १० महिनासम्म कारागारमा राखी पुर्पक्ष गर्न सकिने व्यवस्था हुँदाहुँदै धरौटीमा पुर्पक्ष गर्ने आदेश चित्तबुझ्दो नभएको बताए ।

भट्टले भने करणी गरेको कुरा अदालतमा स्विकारेका छैनन् । उनले फोनमा कुराकानी हुने गरे पनि शारीरिक सम्पर्क नरहेको दाबी गरेका छन् । प्रहरीले डीएनए परीक्षणका लागि पठाएको नमुनाको रिपोर्ट आइसकेको छैन । कान्तिपुर दैनिकमा मोहन शाहीले खबर लेखेका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …