तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौँ। परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण बढ्दै गए पनि बन्दबन्दी पुनः गर्ने सरकारको कुनै योजना नरहेको बताउनुभएको छ ।

असोज २२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता ज्ञवालीले भन्नुभयो, “काठमाडौँमा सङ्क्रमण तीव्र बन्दै गएको छ । यद्यपि यति हुँदाहुँदै पनि बन्दाबन्दीमा पुनः जाने सरकारको योजना छैन । त्यस्तो अवस्था नआओस्, यसमा नागरिकको स्वास्थ्य सचेतनामा पनि भर पर्छ ।

प्रवक्ता ज्ञवालीले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएकाले विभिन्न निकायबाट जारी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सबैको सहयोग आवश्यक हुने बताउनुभयो । उहाँले देशभरकै ६० प्रतिशत सङ्क्रमित काठमाडौँमा रहेकाले व्यवस्थापनमा चुनौती देखा परेको बताउनुभयो ।

उहाँले काठमाडौँमा भेन्टिलेटर, आईसीयू कक्षको विस्तारमा सरकारले ध्यान दिइरहे पनि कोरोना नियन्त्रणमा देशभित्रैका केही असल अभ्यासलाई काठमाडौँले पछ्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले धेरै हिसाबले देशलाई नमुुना उदाहरण प्रस्तुत गर्नुपर्ने काठमाडौँ महामारी विरुद्धको लडाइँका अलि पछाडि परेको बताउनुभयो । उहाँले स्थिति जटिल बन्न नदिन सबै नागरिकको सचेत साथ र सहयोगको खाँचो रहेको चर्चा गर्नुहुँदै विगतमा जस्तो उल्लासमय रूपमा होइन, महामारीका बेला अपनाउनुपर्ने सतर्कतामा ध्यान दिँदै चाडपर्व मनाउन आह्वान गर्नुभयो ।

असोज २२ गते बसेको मन्त्रिपरिषद् बैठकले निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समितिको अध्यक्ष पदमा अर्थ मन्त्रालयका सचिव रामशरण पुडासैनीलाई नियुक्त गरेको छ । प्रवक्ता ज्ञवालीका अनुसार राष्ट्रिय खेलकुद परिषद्का सदस्यहरूमा हरि खड्का, मानदेव हजारा, पुरेन्द्रविक्रम लाखे, राजेशकुमार गुरुङ, सुमित्रा चौधरी, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्रवदना राई र मोहमद सागर शेखलाई मनोनयन गरिएको छ । परिषद्को प्रदेशस्तरीय प्रतिनिधित्वसहित सदस्य मनोनयन गरिएको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

यस्तै लुम्बिनी विकास कोषको सदस्यसचिवमा सानुराजा शाक्यलाई नियुक्त गरिएको छ । त्यस्तै नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा डिमप्रसाद पौडेल, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र विकास समितिको अध्यक्षमा वाशिष्टप्रसाद रिजाल, सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा डा. बाबुराजा अमात्य र औषधि परामर्श परिषद्को सदस्यहरूमा प्रा.डा. सङ्घरत्न वज्राचार्य, बाबुराम हुमागार्इं र दीपकप्रसाद दाहाललाई नियुक्त गरिएको जनाइएको छ । त्यस्तै राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र विकास समितिको अध्यक्षमा प्रा.डा. देवबहादुर रोका क्षेत्रीलाई नियुक्त गरिएको छ । 

सरकारले पेट्रोलियम पदार्थ तथा ग्यास मूल्य स्थिरीकरण कोष सञ्चालन दोस्रो संशोधन नियमावली, २०७७ र स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम नियमावली सञ्चालन कार्यविधि, २०७७ स्वीकृत गरिएको जनाइएको छ ।

सरकारले निकासी पैठारीमा लगाइएको बन्देजमा केहीलाई खुला गर्ने निर्णयसमेत गरेको छ । तयारी मदिराको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई समेत सरकारले हटाउने निर्णय गरेको छ ।गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …