तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

भरतपुर। देशकै नमुना माध्यमिक विद्यालयमध्येको नारायणी माध्यमिक विद्यालयमा दरबन्दीमा भन्दा निजी स्रोतका शिक्षक बढी छन् । शिशुदेखि कक्षा १२ सम्म अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ हुने यो विद्यालयमा ४० जना मात्रै दरबन्दीका शिक्षक छन् भने ४७ जना निजी स्रोतका । दरबन्दीका शिक्षकलाई सरकारले दिने तलब खुवाइए पनि निजी स्रोतका शिक्षकलाई तलब खुवाउने समस्या भएको विद्यालयका प्रधानाध्यापक (प्रअ) पूर्णप्रसाद दवाडी बताउनुहुन्छ ।

“निजी स्रोतका शिक्षकलाई मात्रै हामीले मासिक पाँच लाख रुपियाँ तलब दिनुपर्छ । कोरोनाले केही महिना यता विद्यालय बन्द हँुदा हामीले निजी स्रोतबाट राखिएका शिक्षकलाई तलब खुवाउन सकेका छैनौँ,” प्रअ दवाडीले भन्नुभयो । 

दुई हजार पाँच सयभन्दा बढी विद्यार्थी रहेको यो विद्यालयमा विद्यार्थीको चाप अनुसार शिक्षक दरबन्दी नहुँदा निजी स्रोतमा शिक्षक राख्न बाध्य भएको उहाँको भनाइ छ । उहाँ थप्नुहुन्छ, “असारसम्म त हामीले बनाउँदै गरेको विद्यालय भवनको निर्माणको काम रोकेर त्यसको बजेटले शिक्षकलाई तलब दिएका हौँ । अहिले त साउन यता तलब दिएको छैन । दशैँको मुखमा न उहाँहरूलाई तलब दिन सकिन्छ न त विद्यालयमा नियमित पढाऔँ भन्न सकिन्छ ।

निजी स्रोतका शिक्षकलाई दिइने तलबको स्रोत विद्यार्थीबाट लिइने चन्दा रकम नै भएको जनाउँदै उहाँले त्यो रकम उठाउन नपाइने भएपछि समस्या भएको बताउनुभयो ।

यो समस्या अहिले नेपालभित्रका झण्डै २८ हजार निजी स्रोतका शिक्षकले भोगिरहेको नेपाल शिक्षक महासङ्घका केन्द्रीय अध्यक्ष बाबुराम थापा बताउनुहुन्छ ।

“विद्यालयले नै आन्तरिक स्रोतमा तलब भत्ता खुवाउने गरी निजी स्रोतमा शिक्षक राख्ने प्रक्रिया नै गलत छ”, उहाँले भन्नुभयो, “(िवद्यार्थीको चापका आधारमा शिक्षक दरबन्दीको व्यवस्था नहँुदा विद्यालय आफ्नै शिक्षकलाई तलब खुवाउन नसक्ने समस्यामा छन् ।

भरतपुर महानगरभित्रैको राष्ट्रिय माध्यमिक विद्यालय स्वशीमा कार्यरत छ जना निजी स्रोतका शिक्षकले वैशाखदेखि तलब खान पाएका छैनन् । शिक्षक विनिता श्रेष्ठले वैशाखदेखि तलब नपाएको र आफूजस्ता शिक्षकको जागिर नै जोखिममा परेको गुनासो गर्नुभयो । 

“हामीलाई न तलब दिइएको छ, न तिमीहरू पढाउनै छाड भनिएको छ,” उहाँले भन्नुभयो, “दशैँको मुखमा पनि हामीले तलब नपाए कैले तलब पाउने, ?” उहाँको प्रश्न थियो । 

विद्यालय व्यवस्थापन विषयमै विद्यावारिधि गर्नुभएका पूर्वसचिव डा. शर्मा २०५८ साल यता विद्यालयमा दरबन्दी नै कायम नहँुदा अहिले विद्यालयले समस्या भोगिरहेको तर्क गर्नुहुन्छ । शिक्षा तथा मानव विकास केन्द्रका निर्देशक गेहनाथ गौतम निजी स्रोतका शिक्षकको जिम्मेवारी केन्द्रले लिन नसक्ने बताउनुहुन्छ । 

“निजी स्रोतका शिक्षक राख्ने विद्यालयले नै तलबको जिम्मेवारी लिनुपर्छ त्यो सरकारले लिन सक्दैन,” उहाँले भन्नुभयो । भरतपुर महानगरभित्रका सामुदायिक विद्यालयमा झण्डै तीन सय जना निजी स्रोतका शिक्षक छन् । गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …