तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

अक्सिजन दिनुपर्ने कोरोना संक्रमितको संख्या बढिरहेको छ । पछिल्लो समय लक्षण भएकामध्ये एक चौथाइलाई अक्सिजन दिनु परिरहेको छ । कोरोनाबाट मृत्यु हुन सक्ने जोखिम कम गर्न ‘अक्सिजन थेरापी’ मा मुख्य ध्यान केन्द्रित गर्न विज्ञहरूले सुझाएका छन् ।

कोरोना भाइरसले बूढापाकासँगै मधुमेह, निमोनिया, क्यान्सर, मुटुरोगी, गर्भवती महिलामा तीव्र गतिले अक्सिजनको मात्रा कम गरेको विज्ञहरूको भनाइ छ । ‘पहिले गम्भीर लक्षण थिएन । अहिले बिरामीमा तीव्र गतिले खोकी, ज्वरो, फोक्सोको संक्रमण, अक्सिजनको मात्रा कमी देखिन थालेको छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले भने, ‘काठमाडौंलगायत मुलुकभरमा लक्षण देखिएकामध्ये सरदर एक चौथाइलाई अक्सिजन दिइएको छ ।’

केही साताअघिसम्म ९९.७ प्रतिशत कोरोनाका बिरामीमा कुनै लक्षण थिएन । अहिले भने लक्षण भएका संक्रमित बढिरहेका छन् । ‘भाइरसले फोक्सो र श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्ने हुनाले शरीरमा अक्सिजनको स्तर कम हुन्छ,’ डा.पाण्डेले भने, ‘हाल कोरोना बिरामीलाई सबैभन्दा बढी चाहिने नै अक्सिजन हो । लक्षण देखिएका बिरामीलाई अक्सिजन दिनुपर्छ ।’ कोरोनाका बिरामी भेन्टिलेटरमा गएपछि फर्काउन गाह्रो हुने जनाउँदै उनले आवश्यक पर्नासाथ तुरुन्त अक्सिजन थेरापी दिनुपर्ने बताए । पछिल्लो समय कोरोना संक्रमितमा धेरै छिटो स्वास्थ्य अवस्था बिग्रिने देखिएकाले सजग हुनुपर्नेमा उनले जोड दिए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा शुक्रबार भर्ना रहेका ४५ जना कोरोना संक्रमितमध्ये ११ जनालाई अक्सिजन दिनुपरेको थियो । ‘ती ११ जनामा २४ वर्षका युवादेखि ८१ वर्षसम्मका बिरामी छन्,’ टेकु अस्पतालका प्रमुख कन्सल्टेन्ट डा.अनुप बाँस्तोलाले भने, ‘अक्सिजन कमी हुने समस्या बूढापाका, दीर्घरोगीमा बढी छ तर युवालाई पनि अक्सिजन चाहिने गरेको देखिएको छ ।’ अक्सिजन चाहिएका तीन जनामा भने कुनै अन्य रोग छैन । अन्य बिरामीमा मधुमेह, उच्च रक्तचाप, दमको समस्या छ ।

अस्पतालमा अक्सिजन चाहिने संक्रमितमा ४० वर्षमाथिका धेरै छन् । ६० वर्षमाथिका बिरामीलाई अक्सिजन अनिवार्य जस्तै भएको छ । ‘हामीले कोभिड उपचारमा मुख्य रूपले अक्सिजन थेरापीमा ध्यान केन्द्रित गर्नुपर्छ । हरेक स्वास्थ्य निकायमा अक्सिजन पर्याप्त उपलब्ध हुनुपर्‍यो,’ डा.बास्तोलाले भने, ‘कोभिडमा अन्य उपचार आवश्यकताअनुसार हो भने मुख्य उपाय नै अक्सिजन थेरापी हो । बिरामीको गम्भीरताअनुसार कति मात्रामा अक्सिजन दिने भन्ने निर्धारित हुन्छ ।’ उनका अनुसार कोरोना संक्रमितको स्वास्थ्य स्थिति स्थिर लागे पनि भित्रभित्रै अक्सिजन कमी भइसकेको हुन्छ । ‘अक्सिजन तीव्र गतिले कम भइरहेको हुन्छ,’ उनले भने, ‘कोरोनाबाट भएका धेरै मृत्युको कारण हाइपोक्सिमिया (अक्सिजनको कमी) देखिएको छ ।’

वीरगन्जस्थित हेल्थ केयरमा १ सय २ कोरोना संक्रमितमध्ये ४० जनालाई, गण्डक अस्पतालमा रहेका ५१ मध्ये १५ जनालाई अक्सिजन दिइएको नारायणी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. निरज सिंहले जानकारी दिए । ‘हालसम्म अक्सिजन उपलब्ध छ तर यसरी नै लक्षणसहितको बिरामी बढ्दै जाँदा अक्सिजन आपूर्तिमा समस्या हुन सक्छ,’ उनले भने । सरकारले अक्सिजन आपूर्तिमा समस्या हुन नदिन तुरुन्त व्यापक तयारी थाल्नुपर्ने उनले बताए ।

कोसी अस्पतालमा शुक्रबार भर्ना भएका चार जना संक्रमितलाई निरन्तर १० लिटर प्रतिघण्टा अक्सिजन दिनुपरेको छ । उनीहरूको स्वास्थ्य कृत्रिम अक्सिजनमा पूरै निर्भर छ । अस्पतालका अन्य संक्रमितलाई भने बेलाबेला अक्सिजन आवश्यक पर्ने गरेको छ । ‘डेढ सातायता लक्षणसहित कोरोनाका बिरामी बढेका छन् । सास फेर्न गाह्रो भएका बिरामीलाई अक्सिजन दिनुपरिरहेको छ,’ कोसी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन एवं कोसी कोभिड सेन्टरका संयोजक डा. दीपक सिग्देलले भने ।

त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक एवं छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासले पनि लक्षण देखिएका कोभिड बिरामीमा मुख्य खतरा अक्सिजन कमी हुने र यसको उपचारै अक्सिजन थेरापी रहेको बताए ।

ईडीसीडीका निर्देशक डा.पाण्डेका अनुसार होम आइसोलेसनमा रहेका संक्रमितहरूलाई पनि अक्सिजन आवश्यक परेर अस्पतालमा भर्ना गर्ने गरिएको छ । ‘संक्रमितको घरमै अक्सिजनको मात्रा र उपलब्धता सुनिश्चित गर्न समस्या हुने भएकाले स्वास्थ्य निकायमै पठाउने गरेका छौं,’ उनले भने । विराटनगरमा होम आइसोलेसनमा रहेका ३ सय ४२ जनालाई घरमै पल्स अक्सिमिटर राखेर अक्सिजनको मात्रा नाप्न सल्लाह दिइएको छ । उनीहरूलाई अक्सिजन ९३ प्रतिशतभन्दा कम भए स्वास्थ्य निकायमा खबर गर्न भनिएको छ । अक्सिजन चाहिने बिरामीलाई स्वास्थ्य निकायमा बोलाउने गरेको डा. सिग्देलले बताए । काठमाडौंमा समेत होम आइसोलेसनमा रहेकाहरूले सास फेर्न गाह्रो भएको बताएका छन् । ‘बाहिरबाट अलिअलि सास फेर्न गाह्रो भयो भनेर फोन आउँछ तर बेड छैन भन्नुपरेको छ,’ टेकु अस्पतालका डा. बास्तोलाले भने, ‘होम आइसोलेसनमा रहेकाहरूले अक्सिजन लिएको जानकारी भने छैन ।’

अक्सिजन अभाव छैन: प्रवक्ता
धेरैजसो ठाउँमा आफ्नै अक्सिजन प्लान्ट भएकाले अक्सिजन अभाव नहुने स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ । ‘नभएको ठाउँमा प्लान्ट हाल्ने प्रयास गरिरहेका छौं,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘हाल भएका अक्सिजन प्लान्टहरू पूर्ण क्षमताअनुसार चौबीसै घण्टा चलाएर अन्य अस्पतालहरूलाई समेत अक्सिजन आपूर्ति गर्नुपर्छ ।’ उनले कुनै पनि अस्पतालबाट अक्सिजन अभाव भएको जानकारी नआएको बताए । उनले नभएको ठाउँमा अक्सिजन प्लान्ट व्यवस्था गर्न बजेट व्यवस्था भइसकेको जानकारी दिए । कान्तिपुर दैनिकमा अतुल मिश्रले खबर लेखेका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …