तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

दुई वर्षदेखि प्राधिकरणले सरकारी संस्थानमा सबैभन्दा बढी नाफा कमाउँदै आएको छ। चार वर्ष अघिसम्म ४३ अर्ब ६१ करोड सञ्चिति घाटामा रहेको नेपाल विद्युत् प्राधिकरण गत आर्थिक वर्षदेखि पौने ५ अर्ब सञ्चिति नाफामा गएको छ । प्राधिकरणको ३५ औं वार्षिकोत्सवका अवसरमा सोमबार सार्वजनिक वित्तीय विवरणअनुसार प्राधिकरण आर्थिक वर्ष ०७६/७७ देखि ४ अर्ब ८७ करोड सञ्चिति नाफामा गएको हो ।

आर्थिक वर्ष ०७२/७३ मा प्राधिकरण ३४ अर्ब ६१ करोड सञ्चिति घाटामा थियो । सरकारले ०६७/६८ सम्म रहेको प्राधिकरणको करिब २७ अर्ब रुपैयाँ सञ्चिति घाटा अपलेखन गरिदिएको भए पनि त्यसपछिको ५ वर्षमा प्राधिकरणको सञ्चिति घाटा ३४ अर्ब नाघेको थियो । आर्थिक वर्ष ०७२/७३ मा प्राधिकरणको वार्षिक घाटा ८ अर्ब ८९ करोड रुपैयाँ थियो । त्यसपछि भने प्राधिकरण निरन्तर नाफामा छ ।

आर्थिक वर्ष ०७३/७४ मा एक अर्ब ४७ करोड मुनाफा कमाएको प्राधिकरणले त्यसपछिको वर्ष २ अर्ब ८५ करोड मुनाफा कमाएको थियो । आर्थिक वर्ष ०७४/७५ मा प्राधिकरणको मुनाफा ९ अर्ब ८१ करोड थियो भने गत वर्ष प्राधिकरणले ११ अर्ब ६ करोड मुनाफा गरेको हो । पछिल्ला दुई वर्षदेखि प्राधिकरणले सरकारी संस्थानमा सबैभन्दा बढी नाफा कमाउँदै आएको छ ।

वार्षिकोत्सवका अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रणालीमा रहेको चुहावट १५ दशमलव २७ प्रतिशतमा झरेको जानकारी दिए । उनका अनुसार चार वर्षअघि प्रणालीमा रहेको चुहावट करिब २६ प्रतिशत थियो । चार वर्षमा करिब ११ प्रतिशतको चुहावट कम हुँदा प्राधिकरणलाई वित्तीय रूपमा करिब ८ अर्ब रुपैयाँ फाइदा भएको छ । प्रणालीको चुहावटलाई १० प्रतिशतभन्दा कममा झार्ने लक्ष्य रहेको उनले बताए ।

भारतबाट आयात हुने विद्युत् चालू आर्थिक वर्षदेखि ५ देखि १० प्रतिशतमा झर्ने घिसिङको दाबी छ । उनका अनुसार गत वर्ष नेपालभित्र कुल खपत भएको विद्युत्मध्ये भारतबाट आयातित विद्युत्को हिस्सा २२ दशमलव ३४ प्रतिशत छ । चार वर्षमा विद्युत् खपत पनि दोब्बर भएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

आर्थिक वर्ष ०७२/७३ मा कुल विद्युत् खपत ३ अर्ब ७१ करोड ५८ लाख युनिट रहेको प्राधिकरणको तथ्यांक छ । गत वर्ष ७ अर्ब ७४ करोड युनिट ऊर्जा खपत भएको थियो । आगामी आर्थिक वर्षदेखि मुलुक विद्युत्मा पूर्णरूपमा आत्मनिर्भर हुने र निर्यात सुरु हुने उनले बताए ।

गत वर्ष भारततर्फ १० करोड ७० लाख युनिट ऊर्जा निर्यात गरिएको उनले जानकारी दिए । कार्यक्रममा ऊर्जामन्त्री वर्षमान पुनले प्राधिकरणले गर्व गर्नलायक सफलता हासिल गरेको भन्दै सफलतासँगै चुनौती थपिएको धारणा राखे ।

बाँकी १० प्रतिशत जनसंख्यामा विद्युतीकरण गर्न, विद्युत्मा आत्मनिर्भर बन्न, आगामी दिनमा उत्पादन हुने विद्युत् खपत गर्न र बाह्य बजारमा बिक्री गर्नु चुनौतीपूर्ण रहेको उनको भनाइ छ । प्रसारण लाइन समयमै नबन्दा कतिपय प्रवर्द्धकले विद्युत् खेर गएको गुनासो गरेकाले प्रसारण लाइन निर्माणको लक्ष्य हासिल गर्नुपर्ने उनले बताए ।

सरकारले एक हजार ६१ मेगावाटको माथिल्लो अरुण र ६ सय मेगावाटको दूधकोसी जलविद्युत् आयोजना अगाडि बढाएको उनले जानकारी दिए । कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …