तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

लकडाउन अन्त्यसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र देखिएको छ । मंगलवार मात्रै १ सय ३४ संक्रमित थपिएका छन् । आरटी पीसीआर परीक्षण गरेकामध्ये काठमाडौंमा १ सय १०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा पोजिटिभ देखिएको हो ।

काठमाडौंमा पाँच सयभन्दा बढी संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ‘संक्रमितको संख्या दैनिक वृद्धि भइरहेको छ । यस अवस्थामा बढ्दा बेड अभावको स्थिति पनि छ,’ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने । उनका अनुसार काठमाडौंसहित पर्सा, रौतहट, महोत्तरीमा ५ सयभन्दा बढी संक्रमित छन् ।

साउन ६ गते लकडाउन अन्त्य गरिँदा संक्रमितको कूल संख्या १७ हजार ९ सय ९४ थियो । अहिले बढेर २३ हजार ९ सय ४८ पुगेको छ । जोखिम कायमै रहेका बेला लकडाउन अन्त्यको निर्णयपछि संघीय राजधानी आउने संख्या बढेको थियो । असार २७ गतेदेखि साउन १२ गतेसम्म दैनिक औसत पाँच जना नयाँ संक्रमित पुष्टि भएका थिए ।

लकडाउन अन्त्यसँगै उपत्यकामा संक्रमितको संख्या बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । फलफूल एवं तरकारी व्यवसायी, नाई, होटल व्यवसायी, ब्युटिपार्लर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतमा संक्रमण देखिएको छ । जनप्रतिनिधि पनि संक्रमित पाइएका छन् ।

उपत्यकामा साउन १३ गते ५३ जनामा कोरोना पोजिटिभ देखिएको थियो । साउन १५ गते ४८, १८ गते ३१, १९ गते ५१ जना नयाँ संक्रमित पुष्टि भएका थिए । साउन २० मा ६२ जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।

उपत्यकाका ३ जिल्लामध्ये काठमाडौंमा सबैभन्दा धेरै संक्रमित छन् । साउन २१ गते काठमाडौंमा ५७ जना नयाँ संक्रमित फेला परेका थिए । ललितपुरका ५ जनामा संक्रमण देखिएको थियो । संक्रमणदर बढेपछि साउन २२ गते मन्त्रालयले सरकारी, सामुदायिक तथा निजी कार्यालयमा बैठक, गोष्ठी, सेमिनार तथा अन्य जमघट बन्द गर्न अपिल गरेको थियो । नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. गौतमले काठमाडौंमा संक्रमण दर बढेको जनाएका थिए ।

त्यसदिन काठमाडौंका तीनै जिल्लामा गरी ८७ जना संक्रमित भेटिएका थिए । जसमध्ये काठमाडौंका ७६, ललितपुरका १० र भक्तपुरका १ जना थिए । अघिल्लो दिन स्वाब परीक्षणमा दिएका १६ जना मोबाइल स्विच अफ गरी सम्पर्कविहीन भएको महाशाखाका एक अधिकारीले बताए । ‘स्वाब संकलनपछि रिपोर्ट नआउञ्जेल क्वारेन्टाइनमा बस्नुपर्नेमा घुमफिर गरेको पाइयो,’ उनले भने ।

वीर अस्पतालको आपत्कालीन कक्षमा कार्यरत चिकित्सकलाई पनि साउन २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यही दिन उपत्यकामा १ सय ६ जनामा कोरोना देखिएको थियो । त्यसमा काठमाडौंका ९२, ललितपुरका १० र भक्तपुरका ४ जना थिए । साउन २४ गते ६२ जना संक्रमित थपिए । तीमध्ये काठमाडौंका ५६, ललितपुरका ३ र भक्तपुरका ३ जना थिए ।

साउन २५ गते ९२ जनामा कोरोना पुष्टि भयो, जसमा काठमाडौंका ९०, ललितपुरका २ जना थिए । साउन २६ गते ४४ जना संक्रमित थपिए, जसमा काठमाडौंका मात्रै ३६ जना थिए। ललितपुर र भक्तपुरमा ४/४ जना नयाँ संक्रमित थपिए ।

‘औषधि, अक्सिजन, भेन्टिलेटरले सहयोग मात्र गर्ने हो । रोगको उपचार नहुने भएकोले रोग लाग्न नदिनु नै उत्तम उपाय हो,’ प्रवक्ता डा. गौतमले भने, ‘संक्रमण बढ्दै गए अस्पतालले धान्न सक्दैनन् । स्वास्थ्यकर्मी पनि अपुग हुन सक्छन्। अकालमा ज्यान जान सक्छ । बेलैमा सावधानी अपनाए हुन्थ्यो ।’

कसरी बढे संक्रमित ?

सरकारले साउन ७ गतेदेखि यातायात सेवामा जोरबिजोर प्रणाली हटाएको थियो । सार्वजनिक सवारी साधनमा स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग गरिएको छैन । व्यापार, बैठक, भेटघाट भन्दै काठमाडौं आउनेहरूबाट संक्रमण फैलन पुगेको महाशाखा प्रमुख डा. वासुदेव पाण्डेले बताए । उनले भने, ‘सीमावर्ती जिल्लाबाट आएका व्यक्तिमा कोरोना संक्रमण बढी पाइएको छ ।’

लकडाउन अवधिमा पनि पहुँचका भरमा पास बनाएर निजी र सार्वजनिक सवारी साधनबाट काठमाडौं भित्रिनेका कारण पनि संक्रमण बढेको हो । कतिपय एम्बुलेन्सबाट पनि आएका थिए । मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलका अनुसार काठमाडौं भित्रिने नाकाहरूमा होल्डिङ सेन्टर बनाएर परीक्षण नगर्दा उपत्यका जोखिममा परेको हो ।

‘होल्डिङ सेन्टरमा राखेर कोरोना पोजिटिभ देखिएकालाई अस्पतालको आइसोलेसन र नेगेटिभ देखिएका व्यक्तिलाई कोठामा जान दिने व्यवस्था गरेको भए यो जोखिम हुने थिएन,’ उनले भने। काठमाडौं उपत्यकाको प्रमुख प्रवेशद्वार नागढुंगा, साँगा, फर्पिङ नाकाबाट ठूलो संख्यामा यात्रुहरू प्रवेश गरिरहेका छन् ।

७२ प्रतिशतले मात्रै लाउँछन् मास्क

नेपालमा ७२.१ प्रतिशतले मात्र मास्क प्रयोग गर्ने गरेको पाइएको छ । २७.१ प्रतिशतले मास्क नलगाएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययनमा उल्लेख छ । परिषद्ले व्यक्तिगत रूपमा ४ हजार ५ सय २ जनामा अध्ययन गरेको थियो । यसैगरी सार्वजनिक स्थलमा २ हजार ७ सय ३ जनामा अध्ययन गर्दा २७.३४ प्रतिशतले मास्क सही तरिकाले नलगाएको पाइएको छ । उनीहरूले चिउँडोमा राख्ने, हातमा लिने वा मुख मात्र छोप्ने गरी लगाएको पाइएको हो ।

परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले भने, ‘काठमाडौं उपत्यकामा बाहिर हिँडडुल गर्दा पनि मास्क नलगाउने प्रवृत्ति देखिएको छ । मास्क लगाए पनि सही तरिकाले नलगाउने गर्दा जोखिम झन् बढेको छ ।’

संक्रमण बढी देखिएका जिल्लामा जोखिम रहेकाले अलि कडाइ गर्नुपर्ने देखिएको सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले बताए । उनका अनुसार कडाइ गर्ने अधिकार स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई दिइएको छ । ‘जोखिम जहाँ बढ्छ । त्यहाँ कडाइका उपाय अपनाइन्छ,’ मन्त्री खतिवडाले भने । मंगलवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा मन्त्री खतिवडाले भने, ‘जोखिम घट्दै गएको स्थानमा खुकुलो हुँदै जाने र जोखिम बढेको ठाउँमा कडाइ बढ्दै जाने क्षेत्रगत नीति हो ।’

मन्त्रालयका प्रवक्ता डा. गौतमले कोरोना रोकथाम र नियन्त्रणमा हरेक तहतप्काका व्यक्तिको उत्तिकै जिम्मेवारी भएको बताए । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …