तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

गोंगबु चोकबाट उत्तरतर्फ नवज्योति मार्गमा आइतवार बिहान एउटा सुटकेस भेटियो । पार्किङ गरेर राखिएको ट्याक्सी र भ्यानको बीचमा थियो, सुटकेस । पानी परिरहेको थियो । सुटकेसबाट रगत बगिरहेकाले त्यसलाई कसैले खोल्ने आँट गरेनन् ।

त्यसलाई देख्ने स्थानीयले तत्कालै प्रहरीमा खबर गरे । एक जना प्रहरी आएर सुटकेस खोले । तर त्यसभित्रको दृश्य देखेर सबै आतंकित बन्न पुगे । त्यसमा टाउको र खुट्टा काटिएको मान्छेको शरीर थियो ।

ती प्रहरीले माथिल्लो निकायलाई खबर गरे । महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरको टोली घटनास्थल पुग्यो । टोलीले सुटकेस बरामद भएको ठाउँमा सिल गरी अनुसन्धान शुरू गर्‍यो । तर प्रहरी सकसमा पर्‍यो । शरीरको घाँटीभन्दा मुनि र घुँडा माथिको भाग मात्रै छ ।

प्रहरीले छेउछाउमा खोजी गरे पनि टाउको र खुट्टा भेटिएन । अनुसन्धानमा तालिम प्राप्त कुकुर प्रयोग गरियो । कुकुरले सुँघेर प्रहरीलाई सुटकेस भएभन्दा २०० मिटर टाढा स्वर्गद्वारी मार्गमा पुर्‍यायो । नभन्दै त्यहाँ एउटा जेब्रा झोला फेला पर्‍यो । झोला खोलेर हेर्दा टाउको र खुट्टा भेटियो ।

आइतवार दिनभरको प्रयासपछि मृतकको पूरा शरीर भेटियो । तर शव कसको हो भन्ने पत्ता लागेन । प्रहरीले स्थानीय जनप्रतिनिधि र छरछिमेकसँग सोधीखोजी गर्‍यो । कसैले पहिचान गर्न सकेनन् । शव सनाखत नभएकाले प्रहरीले मृतकको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्‍यो । मृतकका मामा पर्नेले सोमवार शवको सनाखत गरे ।

हत्या गरिएका व्यक्ति रहेछन्, कृष्णबहादुर बोहोरा । रोल्पा घर भएका उनी ८ महिनादेखि काठमाडौंकै एक होटलमा बस्दै आएका थिए । वैदेशिक रोजगारीमा गएर आएका उनले खास काम गर्ने गरेको देखिएन । उनी बस्ने होटलका मान्छे र अन्यसँगको सोधपुछबाट उनी कल्पना मुडभरी (पौडेल) को सम्पर्कमा रहेको खुल्यो ।

मुडभरी काठमाडौंमा फेला परिनन् । उनी चितवन पुगिसकेको पत्ता लाग्यो । चितवन प्रहरीको सहयोगमा पक्राउ गरी उनलाई सोमवार काठमाडौं ल्याइयो । उनको नवज्योति मार्गस्थित कोठामा खानतलासी गर्दा हत्या घटना त्यहीँ भएको पत्ता लाग्यो । अभियुक्त मुडभरीले पनि प्रहरीसमक्ष हत्यामा आफ्नो संलग्नता स्वीकार गरिन् । हत्याकाण्डको मुख्य योजनाकारका रूपमा मुडभरीलाई प्रहरीले मंगलवार सार्वजनिक गरेको छ । फेसबूकमा आफ्नो फेक आईडी बनाएर ब्ल्याकमेल गर्न थालेपछि आफूले हत्या गरेको बयान उनले दिएकी छन् ।

कसरी गरियो हत्या ?

बोहोरा र मुडभरीको चिनजान ३–४ वर्षअघि फेसबूकमार्फत भएको रहेछ । मुडभरीको डेरा गोंगबुको नवज्योति मार्गमा थियो । उनीहरूमा चिनजान भएपछि आउजाउ निरन्तरै थियो । मुडभरी १ छोरा र १ छोरीका साथमा बस्दै आएकी थिइन् ।

बोहोरा भने विदेश गएर आएका तर ८ महिनादेखि एक होटलमा बस्दै आएका थिए । लामो समयदेखि साथी भएकाले उनीहरूबीच नजिकको सम्बन्ध थियो । सँगै खानेबस्ने गरेका थिए ।

तर बोहोराले केही समयअघि मुडभरीको तस्वीर प्रयोग गरेर फेसबूकमा फेक आईडी बनाएछन् । त्यही नक्कली फेसबूकबाट बोहोराले गोप्य तस्बिर सार्वजनिक गर्ने धम्की दिने गरेको बयान मुडभरीले प्रहरीलाई दिएकी छन् । धम्क्याउने क्रम चलिरहेपछि त्यसबाट बच्ने उपायको खोजीमा लागेको अनुसन्धानले देखाएको छ ।

घटना भएको रात बोहोरा सधंैझै होटलबाट मुडभरीको कोठामा आए । उनले होटलबाट आउँदा बा७२प ५६४४ नम्बरको स्कुटर प्रयोग गरेका थिए । अरू बेलाजस्तै खानपिन चल्यो । मुडभरीका २ सन्तान भने अर्को कोठामा थिए ।

बोहोरालाई मुडभरीले दहीमा ५ गोली स्लिपिङ ट्याब्लेट खुवाएर बेहोस बनाइन् । बोहोरा बेहोेस भएपछि मुडभरीले उनको अण्डकोशमा हतौडाले हानिन् । यति गर्दा पनि बोहोरा नमरेको आशंका भयो । त्यसपछि उनले बोहोराको घाँटीमा सलले बेरेर थिचिन् । त्यसपछि मात्र उनलाई बोहोरा मरेको यकिन भयो ।

अब शव कहाँ फ्याँक्ने ? उनले शव काटेर फ्याँक्ने योजना बनाइन् । कोठामै भएको हतियारले पटक–पटक प्रहार गरी उनले टाउको र खुट्टा जेब्रा झोलामा र बाँकी भाग सुटकेसमा हालेको खुलेको छ । उनले शव फ्याँक्न १५ वर्षीया छोरीको सहयोग लिएकी थिइन् ।

शनिवार राति सुटकेसलाई बोराको नाम्लो लगाएर एक ठाउँमा र अर्को ठाउँमा करीब २०० मिटर दूरीमा फ्याँकेर कोठामा आएकी थिइन् ।

उनले माइत चितवन जाने योजना बनाइन् । एम्बुलेन्सलाई फोन गरिन् । संयोगवश एम्बुलेन्स बिरामी लिएर काठमाडौं आएको थियो । एम्बुलेन्स ड्राइभर चिनेको भएकाले उनलाई जान गाह्रो भएन । उनी आइतवार अपराह्न छोराछोरी लिएर काठमाडौंबाट भागेकी थिइन् । तर प्रहरीले उनलाई चितवनको कालिका नगरपालिकाबाट पक्राउ गर्‍यो ।

घटनाको मुख्य योजनाकार मुडभरी नै रहेको पुष्टि भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताए । ‘हत्या गर्ने मुख्य योजनाकार कल्पना पक्राउ परिसकेकी छन्,’ एसएसपी ज्ञवालीले भने, ‘यसमा अन्यको संलग्नता भए/नभएको थप अनुसन्धान भइरहेको छ ।’

प्रारम्भिक अनुसन्धानबाट मुडभरी नै दोषी भएको प्रमाण भेटिएकाले उनलाई फौजदारी संहिताअनुसार अदालतमा पेश गरिने महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाले बताए । काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी प्रहरीले थप अनुसन्धान थालेको छ । अभियुक्तलाई महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा राखिएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …