तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

तीन दिनदेखि लगातार परेको झरी । घरैमाथि ठूलो पहरो । खोंचको घर । सोमबार दिउँसो मात्र पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–२ डाँडाझेरीकी ५७ वर्षीया खिलमाया सार्कीले पहरोमा पुगेर घाँस काटेर ल्याएकी थिइन् ।

तर राति त्यही पहरो खसेर खिलमायासँगै उनका श्रीमान् शेरबहादुरलाई बगायो । पशुचौपाया पनि पहिरोमा बगे । दिनभरिको कामले थाकेका वृद्ध दम्पती निद्रामै मृत्युवरण गर्न पुगे । दम्पती पुर्ख्यौली घरमा बस्दै आएका थिए । उनका छोरा धनवीरको परिवार नजिकै अर्को घरमा थिए । पहिरोको ठूलो आवाजले उनलाई ब्युँझायो । बाहिर निस्केर हेर्दा बाबुआमा बस्ने घर पहिरोले बगाइसकेको थियो । गाउँलेलाई हारगुहार गरे पनि पहिरोले पुरेका बुबाआमा उनले सकुशल झिक्न सकेनन् ।

हुप्सेकोट गाउँपालिका–२ चपाहामा ओमबहादुर मल्लको घरमा पहिरो खसेपछि परिवारलाई स्थानीय बालहित प्राविमा सारिएको पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताए ।

चाँडै उठ्नाले परिवारै बचे
तनहुँ– बन्दीपुरको नहालाकी मन्जु अधिकारी सोमबार साँझको घरायसी काममै व्यस्त थिइन् । नाहाला टोलका अध्यक्षलगायत घरमा आए । वर्षाका कारण घर जोखिममा रहेकाले उनलाई सपरिवार सुरक्षित ठाउँमा सर्न आग्रह गरे । बेलुकीको खाना खाएर १४ र ८ वर्षका छोरालाई लिएर मञ्जु देवर अर्जुनको घरमा बस्न गइन् । भोलिपल्ट बिहान बाहिर निस्कँदा आफ्नो घर तल सरेको भेटिन् । देवरको घर पनि भासिन लागेको महसुस भयो । हतार हतार छोरा र देवरका परिवारलाई उठाइन् । सबै जना निस्किएलगत्तै अर्जुनको घर पनि भासियो ।

‘चाँडै उठ्नाले परिवारकै ज्यान बच्यो । अलिकति ढिला भएको भए के–के हुन्थ्यो–हुन्थ्यो,’ उनले भनिन् । अर्जुन, उनकी श्रीमती र ७ वर्षको छोरा थिए । घर पहिरोले लग्छ भन्ने कुनै शंकै थिएन । ‘देवरको घर सुरक्षित हुन्छ कि भनेर बस्न आएका थियौं । यही घर पनि जमिन भाँसिएर लग्यो,’ उनले भनिन् । भूकम्पले भत्काएको घर देवरले पोहोरमात्रै नयाँ बनाएका थिए । वडाध्यक्ष भानुभक्त पोखरेलका अनुसार भूकम्पले पहिलै जमिन चर्किएको थियो । वर्षामा मूल पलाउँदा पहिरोको जोखिम बढेको हो । बन्दीपुर–१ नाहालामा पहिरोले ५ घर पूर्ण क्षति, ३ घर बगाएको र १५ घर जोखिममा रहेको उनले बताए । तनहुँका एसपी अरुण पौडेलका अनुसार राजमार्ग क्षेत्रमा मात्रै करिब २५ घर पहिरोले भत्काएको छ ।

२१ घर विस्थापित, भागेर ज्यान जोगाए
लमजुङ– बस्तीमा पहिरो खस्दा मर्स्याङ्दी गाउँपालिका–३ तरापुको पल्लोटारी गाउँमा २१ परिवारले घर छाडेका छन् । करिब ५ सय मिटर माथिबाट खसेको पहिरोले घरगोठ पुरिएको वडाध्यक्ष प्रेमबहादुर बस्नेतले बताए । बिस्थापितहरू छिमेकी गाउँ, आफन्त, विद्यालय र सामुदायिक भवनमा बसेका छन् । मंगलबार बिहान ८ बजेतिर खसेको पहिरोले स्थानीयका घरगोठ पुरिँदा १० वटा चौपाया मरेका छन् । पहिरोले पुरेका घरको भग्नावशेषबाट स्थानीय र प्रहरीको सहयोगमा मालसामान निकालिएको छ ।

दिदीलाई सघाउन गएका दाजुभाइ पहिरोमा परे
दार्चुला– नजिकिएको गौरा पर्व । दिदीको पसलमा लुगा सिउनेको भीड थियो । लेकम–५ पिडका अर्जुन दर्जी र मिलन दिदी लक्ष्मी परियारलाई सघाउँदा आफूलाई पनि खर्च जुट्ने भन्दै पस्ती गएका थिए । साताअघि गएका उनीहरू घर फिर्न पाएनन् ।

मालिकार्जुन–८ पस्तीमा मंगलबार बिहान खसेको पहिरोले घर पुरिँदा २४ वर्षीय अर्जुन र १८ वर्षीय मिलनको मृत्यु भयो । घटनाको करिब ६ घण्टापछि दुवैको शव भेटिएको प्रहरीले जनाएको छ । पहिरोले स्थानीय वडा कार्यालयको चौर र शौचालय भत्किएपछि लक्ष्मीको घर पनि पुरिएको हो । घरसँगै पुरिएकी ३५ वर्षीया लक्ष्मी, उनका ९ वर्षीय छोरा शुभम र १२ वर्षीया छोरी सोनियालाई उद्धार गरिएको डीएसपी पदमबहादुर विष्टले बताए । घाइते लक्ष्मी र सोनियालाई उपचारार्थ सेनाको हेलिकप्टरमा नेपालगन्ज पठाइएको छ । दिदीले पस्ती बजारमा टेलरिङ राखेकाले अर्जुन प्रायःजसो जान्थे । भाइ मिलन कहिलेकाहीँ मात्र जाने गरेका थिए । सानु दमाईंका दुई छोरा र ६ छोरी थिए । दुइटै छोराको पहिरोमा मृत्यु भएपछि घरमा रुवाबासी छ । अर्जुनका श्रीमती र दुई छोरी छन् । मिलन लटिनाथ नमुना माविमा १२ कक्षामा पढ्दै थिए ।

सुतेकै ठाउँमा पुरिए परिवारका ३ जना
धादिङ– पहिरोले घर पुर्दा धादिङको त्रिपुरासुन्दरी–६ आगिञ्चोकमा एकै परिवारका तीन जनाको सुतेकै ठाउँमा मृत्यु भएको छ । सोमबार मध्यरात पुरिएर २५ वर्षीय मिलन खाँण, उनकी २२ वर्षीया श्रीमती सम्झना र दुई वर्षीया छोरी अन्जिताको मृत्यु भएको धादिङ प्रहरीका डीएसपी रूपक खड्काले बताए । काान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …