तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

निरन्तरको वर्षापछि बाढी, पहिरो र डुबानका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । पछिल्लो घटनामा सात जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् । काठमाडौँको टोखा नगरपालिका पासीडाँडास्थित टहरो घरमाथि बिहान पहिरो खस्दा रामकुमार रानामगरका जुम्ल्याहा सन्तान तीन वर्षीया सन्ध्या र सचिनको मृत्यु भएको छ । सुनसरी स्थायी निवासी रानामगरको सपरिवार महेश श्रेष्ठको उक्त टहरो घरमा बस्दै आएको थियो ।

महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख विश्वराज पोखरेलका अनुसार बिहान वर्षासँगै पहिरो खस्दा टहराभित्र रहेका आफन्त भागेर ज्यान जोगाउन सफल भए पनि सन्ध्या र सचिन पहिरोमा परेको जानकारी दिनुभयो ।

त्यसैगरी कागेश्वरी–मनोहरा नगरपालिका–१ गागलफेदीमा आइतबार राति पहिरो जाँदा २२ वर्षीय मनराज गुरुङको मृत्यु भएको थियो ।

त्यस्तै गजुरी गाउँपालिकाको मलेखुस्थित पहिरोमा परी १७ वर्षीया निकिता परियारको मृत्यु भएको छ भने जितेन चौधरी र बालिका सङ्गीता चेपाङ घाइते भएका छन् । घाइतेको काठमाडौँमा उपचार भइरहेको छ । पूर्वी नवलपरासीको बुलिङटारमा गएको पहिरोमा परी ७० वर्षीय शेरबहादुर सार्कीको दम्पती बेपत्ता छन् । स्थानीय प्रहरीले पहिरोमा बेपत्ता भएका सार्की दम्पतीको खोजी जारी राखेको छ । उता बाजुरामा बाढीले बगाउँदा दाजुभाइ बेपत्ता भएका छन् ।

नेपाल प्रहरीका अनुसार बाढी र पहिरोबाट ज्यान गुमाउनेको सङ्ख्या प्रतिदिन बढ्दै गएको छ । गत जेठ ३० देखि साउन ६ सम्म ११८ जनाको मृत्यु भएको छ भने ४९ जना बेपत्ता र ११५ जना घाइते छन् । बाढीभन्दा पहिरोका कारण मानवीय क्षति अत्यधिक छ । बाढी, पहिरो र डुबानका कारण भौतिक संरचना घर, भवन, विद्यालय र सवारी साधनमा क्षति पुगेको जनाइएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, उद्धार, राहत वितरण, अवरुद्ध सडक खुलाउन र पुनस्र्थापना कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी करिब १० हजार जनशक्ति परिचालन गरिएको छ ।

नेपाली सेनाले चारवटा हेलिकप्टरसहित पाँच हजार दक्ष जनशक्ति परिचालन गरेको छ । दुई हजार ६९८ प्रहरी र तीन हजार सशस्त्र प्रहरी परिचालन गरिएको छ । चितवन भरतपुरमा एक, सुर्खेतमा दुई र इटहरीमा एक गरी चारवटा हेलिकप्टर परिचालनका लागि तयारी अवस्थामा राखिएको छ ।

सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले उद्धारका लागि काठमाडौँ सानो गौचरन, नारायणहिटी, बर्दिबास, पोखरा, इटहरी, चितवन, गजुरी, नेपालगन्ज, भैरहवा, कैलाली, रौतहट लगायतका स्थानमा चार÷चार सय जनाको दक्ष जनशक्ति तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।

नेपाल प्रहरीले वर्षायामका कारण उत्पन्न विपद् जोखिम न्यूनीकरण, व्यवस्थापन र उद्धार गर्न दुई हजार ६९८ सुरक्षाकर्मी परिचालन गरेको छ । सशस्त्र प्रहरी बलले पनि विपद्सम्बन्धी तालिम प्राप्त तीन हजार जनशक्तिमध्ये एक हजार पाँच सय जनालाई उद्धारमा परिचालन गरेको छ । सशस्त्र प्रहरी प्रवक्ता प्रवीणकुमार श्रेष्ठले तालिम प्राप्त र अन्य गरी विभिन्न प्रदेशमा आवश्यक उपकरणसहित उद्धारका लागि सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।

यसैबीच धादिङ समाचारदाता मुरारी अधिकारीका अनुसार अविरल वर्षाका कारण धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको आगिन्चोक गोलाङमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा २७ वर्षीय मिलन खाँड, उहाँकी श्रीमती २२ वर्षीया सम्झना र दुई वर्षीय छोरा अमृत छन् । गोरखापत्र दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …