तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

प्रहरीले निर्माण सम्पन्न गरिसकेको भवनसहित ४ रोपनी जग्गा फिर्ता, प्रहरीलाई त्यस्तै भवन निर्माणबापत संस्थान र नेपाल सरकारबाट प्राप्त रकम दिइने

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले महानगरीय प्रहरी वृत्त कीर्तिपुरको भवन निर्माण गर्न दिएको जग्गा भवनसहित फिर्ता लिने निर्णय गरेको छ । त्रिवि परिसरमा शैक्षिक गतिविधिलाई समेत बाधा पुग्ने गरी प्रहरी कार्यालय निर्माण गरिएको भन्दै विद्यार्थी, प्राध्यापकले विरोध गरेका थिए ।

त्रिवि कार्यकारी परिषद्को असार ५ को बैठकले प्रहरीले भवन निर्माण गरेको स्थलमा कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको स्नातकोत्तर र विद्यावारिधि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । त्रिवि हातामा प्रहरी कार्यालय स्थापना गर्न यसअघि ४ रोपनी जग्गा उपलब्ध गराइएको थियो । कीर्तिपुरस्थित चिकित्सा शिक्षा अध्ययन संस्थानको भवनसँगै प्रहरीले दुईवटा भवन निर्माण सम्पन्न गरिसकेको छ । कीर्तिपुर बजारमा रहेको प्रहरी वृत्त नवनिर्मित भवनमा सर्ने तयारी गर्दा विरोध भएको थियो । परिषद्ले प्रहरीलाई त्यस्तै भवन निर्माणबापत संस्थान र नेपाल सरकारबाट प्राप्त रकम दिने निर्णयसमेत गरेको छ ।

त्रिविका प्रवक्ता सूर्यप्रसाद अधिकारीले प्रहरीलाई अलि छेउछाउको जग्गा उपलब्ध गराउने कि भन्ने सैद्धान्तिक निर्णय भएको जनाए । ‘पहिले कार्यकारी परिषद्ले नै निर्णय गरेर दिएको रहेछ, अहिले अलि छेउको जग्गा दिने कि भन्ने सल्लाह भयो । हामीलाई पनि भवन चाहिरहेको छ, संस्थानलाई दिने प्रक्रिया अघि बढाएका छौं,’ उनले भने । जथाभावी बाँडेर साँघुरिँदै गएको जग्गामा महानगरीय प्रहरी वृत्त कीर्तिपुरको भवन बनाइएको थियो । विद्यार्थीको विरोधपछि कार्यकारी परिषद्ले अहिले निर्माण गरेको भवन आफ्नो स्वामित्वमा लिने निर्णय गरेको हो । प्रहरीलाई कहाँको जग्गा उपलब्ध गराउने भन्ने विषयचाहिँ छलफलमै रहेको उनले जनाए ।

विश्वविद्यालयको विभिन्न शैक्षिक गतिविधि सञ्चालन हुने क्षेत्रको बीच भागमा प्रहरी वृत्त स्थापना गर्न लागिएको थियो । विद्यार्थीले त्यसको विरोध गर्दागर्दै पनि निर्माण सम्पन्न गरिएको हो । आयुर्वेद शिक्षण अस्पतालको अगाडि, विज्ञान तथा प्रविधि प्रयोगशाला (बीपी संग्रहालय), चिकित्सा शिक्षा अध्ययन संस्थानअन्तर्गतको प्रयोगशाला र बागवानी केन्द्रको बीच भागमा उक्त भवन बनेको छ ।

महानगरीय वृत्तमा प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमान्ड रहन्छ । परिषद्ले सुरुमा कीर्तिपुर बजारतर्फ जाने तीनकुने (आँखा अस्पताल अगाडि) स्थित त्रिविकै जग्गामा प्रहरी भवन निर्माण गर्न दिने तयारी गरेको थियो । ३ वर्षअघि नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले विरोध गरेपछि तीनकुनेभन्दा करिब ५ सय मिटर तल बनाइएको हो ।

कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, डिनको कार्यालयअन्तर्गत रहेको कृषि क्याम्पस, रामपुर, चितवन र वनविज्ञान अध्ययन संस्थान, हेटौंडालाई गाभेर सरकारले कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना गरेको थियो । उक्त विश्वविद्यालय स्थापनापछि कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको स्नातकोत्तर र विधावारिधिको कार्यक्रम भवन भाडामा लिएर सञ्चालन गर्दै आइएको छ । ती कार्यक्रम सञ्चालन गर्न त्रिवि परिसरमै जग्गा उपलब्ध गराए पनि भवन निर्माण हुन सकेको छैन । प्रहरी भवन पनि विवादित बनेकाले कार्यकारी परिषद्ले कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको कार्यक्रम सञ्चालन गर्न दिन सामान्य प्रशासन महाशाखालाई परिपत्र गरेको हो ।

कार्यकारी परिषद्को २०७३ मंसिर २२ को निर्णय नम्बर ९२५ बाट जग्गा प्रहरीलाई उपलब्ध गराइएको थियो । प्रहरीलाई नजिकैको खोल्सापट्टि जग्गा दिए पनि भवन बनाउन नमिलेका कारण माथिकै क्षेत्रमा बनाउन अनुमति दिएको त्रिविका पूर्वपदाधिकारीहरू बताउँछन् कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …