तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । केही दिनयता देशका विभिन्न स्थानको वायु प्रदूषण बिगँरदै गएपछि स्वास्थ्यमा चुनौती थपिएको छ । स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने वायुको गुणस्तर बिग्रँदै जाँदा विशेषगरी बालबालिका, वृद्धवृद्धाको स्वास्थ्यमा बढी असर पर्न थालेको छ । 

शनिबार देशका विभिन्न स्थानको वायुको गुणस्तर निकै बिग्रेको देखिएको छ । वातावरण विभागको वायु गुणस्तर मापनअनुसार सबैभन्दा बढी वायु प्रदूषणको स्तर सिमरामा बिग्रिएको छ । सिमरामा १९५ एक्यूआई रहेको छ भने विराटनगरमा १९४, पोखरामा १८९ एक्यूआई रहेको छ । काठमाडौँको कीर्तिपुरमा १६९, रत्नपार्कमा ११५, धनगढीमा १५९, जनकपुरमा १२२ एक्यूआई रहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डले एक्यूआई ५० सम्म भएको वायु स्वास्थ्यका लागि स्वस्थ भएको मानिन्छ । एक्यूआई १०० भन्दा माथि उक्लेपछि त्यस्तो वायु अस्वस्थ मानिन्छ । विश्व स्वास्थ्य सङ्गठनले त्यस्तो अवस्थामा वृद्धवृद्धा तथा बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिन आह्वान गरेको छ । यसरी वायु प्रदूूषण बढेसंँगै विभिन्न किसिमका श्वासप्रश्वाससम्बन्धी रोग लाग्न सक्ने भन्दै चिकित्सकले सावधानी अपनाउन जोड दिएका छन् । वायु प्रदूषणको सिकार बालबालिका तथा वृद्धवृद्धालाई बढी देखिने भन्दै चिकित्सकले प्रदूषण अवधिभर घरबाहिर निस्कन नहुने सुझाव दिएका छन् । 

वरिष्ठ छाती तथा श्वासप्रश्वास रोग विशेषज्ञ डा. राजु पङ्गेनीले वायु प्रदूषणले गर्दा बालबालिका तथा वृद्धवृद्धालाई बढी असर गर्ने बताउनुभयो । उहाँले प्रदूषणका कारण रुघाखोकी, घाँटीको एलर्जी, फोक्सोसम्बन्धी रोग, बालबालिकामा ब्रोङ्काइटिक्सलगायतका रोग लाग्न सक्ने बताउनुभयो । डा. पङ्गेनीले बालबालिकालाई श्वासप्रश्वासमा समेत असर गर्ने भएकाले सचेत रहन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “यदि घरबाहिर निस्कनै परेमा विशेष सावधानी अपनाउनुपर्छ । अत्यधिक वायु प्रदूषण बढ्दा फोक्सोसम्बन्धी बिरामीलाई झन् असर पर्ने डा. पङ्गेनीको भनाइ छ । 

वायु प्रदूषणका कारण रुघाखोकी लाग्ने, घाँटीमा समस्या हुने, घाँटी खसखस हुने, चिलाउने, घाँटीको एलर्जी हुने गर्छ ।यसैगरी, वीर अस्पतालमा कार्यरत वरिष्ठ छातीरोग विशेषज्ञ डा. अशेष ढुङ्गानाले प्रदूषणले दीर्घरोगीलाई मात्र नभई, स्वस्थ व्यक्तिलाई समेत असर गर्ने बताउनुभयो । उहाँले दम, मुटु, छातीको समस्या भएका बिरामीलाई असर गर्ने भएकाले विशेषगरी दीर्घरोगीले सचेतना अपनाउनुपर्ने बताउनुभयो । उहाँले अहिलेको वायु प्रदूषणबाट जोगिनलाई ‘मर्निङवाक’ नगर्ने, घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाएरमात्र निस्कने, वायु प्रदूषण भएका बेला कठिनखालका शारीरिक अभ्यास नगर्ने, वायु प्रदूषणबाट आँखा जोगाउनका लागि चस्मा प्रयोग गर्नुपर्ने बताउनुभयो । 

बालरोग विशेषज्ञ डा. दिनेश कोइरालाले वायु प्रदूषणको असर बालबालिकालाई समेत पर्ने भएकाले उनीहरूलाई घरबाहिर निस्कन दिन नहुने बताउनुभयो । डा. कोइरालाले बालबालिकालाई चिसो मौसम र वायु प्रदूषणको बेला बाहिर छाड्न नहुने बताउनुभयो । उहाँले अत्यधिक चिसो तथा प्रदूषणले निमोनिया, श्वासप्रश्वास, हाइपोथर्मियालगायतका रोगले आक्रमण गर्ने बताउनुभयो ।

डा. कोइरालाले जाडोमा बालबालिकालाई बाक्ला कपडा लगाइदिनुपर्ने बताउनुभयो । वायु प्रदूषणले सामान्य मानिसलाई समेत विभिन्न रोगले सताउने भएकाले रोग प्रतिरक्षा क्षमता कम भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका सचेत रहनुपर्ने बताउनुभयो ।गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …