तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

चितवन । कोभिड–१९ सङक्रमितको सङ्ख्या केही न्यून भए पनि पोष्ट कोभिडका बिरामी भने बढ्दै गएका छन् । कोभिड निको भएपछि पोष्ट कोभिडको समस्या आएको हो ।

एकिन तथ्याङ्क नभए पनि उपचारमा संलग्न चिकित्सकका अनुसार पोष्ट कोभिडका बिरामी बढ्दो सङ्ख्यामा छन् । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष रहनुभएका फिजिसियन डा भोजराज अधिकारीले कोभिड भएर अस्पतालमा रहेकामध्ये ५० प्रतिशत पुनः परीक्षणका लागि आउने गरेका बताउनुभयो । तीमध्ये आधामा केही न केही समस्या देखिने गरेको उहाँको भनाइ छ । 

अस्पताल भर्ना नभई घरमै उपचार गरेका पनि समस्या लिएर आउने गरेका उहाँले जानकारी दिनुभयो । पुष्पाञ्जली अस्पतालमा बिरामी परीक्षण गर्ने डा अधिकारीका अनुसार दैनिक यस खालका बिरामी अस्पतालमा आउने गरेका छन् । कोभिड निको भएपछि खोकी लागिरहने, श्वास्वा भइरहने जस्ता समस्या लिएर बिरामी आउने गरेका छन् । परीक्षण गर्दा कोभिड नेगेटिभ देखिने तर लक्षण भने बाँकी नै रहने समस्या देखिने गरेको बताइएको छ ।

उहाँले भन्नुभयो, “कोभिडपछि निमोनिया लामो समयसम्म रहिरहन्छ, छाति सफा हुन समय लाग्छ ।” दमका पुराना बिरामीको पहिलेको भन्दा कोभिडपछि केही जटिल अवस्था हुने गरेको छ । उहाँले भन्नुभयो, “कोभिड पहिले दमको समस्या दुई नम्बर थियो भने कोभिडपछि तीन नम्बर हुने गर्दछ, दम नियन्त्रणमा थियो, त्यही अवस्थामा भएन भनेर परीक्षण गर्न आउने पनि छन् ।

शरीर गल्ने, आलश्य हुने, खान रुचि नहुने, रिंगटा लाग्ने, छाति दुख्ने, शरीर गह्रौं हुने जस्ता समस्या लिएर पनि बिरामी आउने गरेका छन् । कतिपय बिरामीले समस्या भएको बताए पनि परीक्षण गर्दा केही पनि नदेखिने गरेको अधिकारीको भनाइ छ । उहाँले भन्नुभयो, “कतिपयलाई मनोवैज्ञानिक समस्या हुन्छ, कुनै समस्या नभए पनि बिरामी भएको अनुभूति गर्ने गर्दछन् ।”    

कतिपय बिरामीलाई कोभिडपछि मधुमेह नघट्ने समस्या पनि देखिने गरेको छ भने कतिपयलाई स्टेरोएड औषधिका कारण रगतमा चिनीको मात्रा बढी हुने गरेको छ । कलेजोको इञ्जाएम बढेर वाकवाकी हुने समस्या लिएर बिरामी आउने गरेका डा अधिकारीको भनाइ छ । 

पोष्ट कोभिडका बिरामीमा फोक्सो सुक्ने र कर्किने समस्या आउने गरेको बताइएको छ । लामो समय अक्सिजन लगाएका बिरामीमा शरीरलाई चाहिने पौष्टिक तत्व कम हुने हुँदा समस्या देखिने गरेको छ । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरका कोभिड टिमलिडर डा पुकार घिमिरे यस्ता बिरामी नियमित आउने गरेका बताउनुहुन्छ । उपचारपछि पुनः स्वास्थ्य परीक्षण गर्न आउँदा धेरैजसोको फोक्सोमा निमोनिया सुधार भई नसकेको अवस्थामा आउने गरेको बताइएको छ । सुधारोन्मुख हुँदै गर्दा थप केही भइहाल्छ कि भन्ने आशंका लिएर बिरामी आउने गरेका उहाँको भनाइ छ । 

बिरामीलाई थकान महसुस हुने, हातखुट्टा गल्ने, शरीर गलेर काम गर्न नसक्ने, खोकी लागिरहने जस्ता समस्या पनि देखिने गरेको उहाँ बताउनुहुन्छ । पोष्ट कोभिडका बिरामीको फोक्सोमा ढुसीको सङ्क्रमण रहने र त्यसबाट खकारमा रगत आउने समस्या लिएर बिरामी आउने गरेका छन् । मुटुको चाल छिटोछिटो घटबढ हुने समस्या पनि हुने गरेको बताइएको छ ।     

चितवन मेडिकल कलेजका मनोरोग विशेषज्ञ प्राडा सिपी सेढाईं कोभिडपछि मनोरोगको समस्या लिएर बिरामी आउने गरेका बताउनुहुन्छ । परीक्षणका लागि आउने बिरामीमध्ये १५ प्रतिशत हाराहारी पोष्ट कोभिडका रहेका उहाँको भनाइ छ । ठूला–ठूला घटना देखेपछि डराएर समस्या देखिए जस्तै गरी पोष्ट कोभिडका बिरामी अस्पताल आउने गरेका सेढाईं बताउनुहुन्छ । त्यस्ता बिरामीलाई सम्झाई बुझाई गर्ने र आवश्यक देखिएमा औषधि दिने गरिएको सेढाईंको भनाइ छ ।    

चितवन मेडिकल कलेजले पोष्ट कोभिडका बिरामीका लागि छुट्टै उपचारको व्यवस्थापन गरेको छ । सो विभागमा नियमित बिरामी आउने गरेका कलेजले जनाएको छ । जिल्लामा यहाँ भन्दा धेरै बिरामी बाहिरी जिल्लाबाट आउने गरेका छन् ।    

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …