तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । केही दिनयता कोरोना परीक्षण दर घटेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो एक साताको तथ्याकं विश्लेषण गर्दा दैनिक सरदर १४ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षण हुँदै आएको छ ।

गत आइतबारदेखि हिजो शनिबारसम्म कुल १ लाख १ हजार २ सय ८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ । यसरी हेर्दा दैनिक १४ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षण भएको देखिन्छ ।

यसअघि, २२ हजार जनासम्मको कोरोना परीक्षण हुने गरेको थियो । देशभरका ९० बढी अस्पताल तथा प्रयोगशालाबाट परीक्षण गरिँदै आए पनि परीक्षण दर केही दिनयता न्यून देखिएको छ ।

नमुना संकलन नै कम भएकाले परीक्षणमा कमी आएको स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन् । जनस्वास्थ्य विज्ञले समुदायस्तरमा निकै न्यून मात्रामा परीक्षण हुने गरेको बताएका छन् । परीक्षण दर कम हुँदा संक्रमित संख्यासमेत घटेको छ ।

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार केही प्रयोगशाला तथा अस्पतालले परीक्षण ‘रिपोर्टिङ’ नदिँदा पनि संख्या कम देखिएको हो । ‘अस्पताल जानेको संख्या पनि कम हुँदै गएको छ,’ डा.पौडेलले भने, ‘रिपोर्टिङ कम भएर पनि संख्या घटेको हुन सक्छ ।’

स्वास्थ्य मन्त्रालयका अनुसार वीर अस्पताल, गौर अस्पताल, सशस्त्र प्रहरी अस्पताललगायतले हिजो शनिबार कोरोना परीक्षण रिपोर्टिङ नै गरेनन् ।

डा. पौडेलले अस्पतालमा आउनेको संख्यामा पनि कमी भएका जानकारी दिए । पीसीआर परीक्षण घटे पनि एन्टिजेन दायरा बढाइएको मन्त्रालयले जनाएको छ ।

गत आइतबारदेखि हिजो शनिबारसम्म पीसीआर विधिबाट १ लाख १ हजार २ सय ८ र एन्टिजेन विधिबाट २५ हजार १ सय ८५ जनाको कोरोना परीक्षण गरिएको छ । जसमा ३९ हजार ५२ जनामा संक्रमण पुष्टि भएको छ ।

गत आइतबार १० हजार ९ सय ८६ जनाको पीसीआर र १ हजार ४ सय ८४ जनाको एन्टिजेन, सोमबार १५ हजार ५५ जनाको पीसीआर र २ हजार ४ सय २५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत मंगलबार १७ हजार १ सय ४७ जनाको पीसीआर र ३ हजार १८ जनाको एन्टिजेन, बुधबार १३ हजार ८ सय ५ जनाको पीसीआर र ३ हजार ७३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण भएको छ ।

गत बिहीबार १८ हजार ५ सय ६२ जनाको पीसीआर र ३ हजार २ सय ११ जनाको एन्टिजेन, शुक्रबार १४ हजार १ सय ८२ जनाको पीसीआर र ६ हजार ६ सय ३१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको छ ।

यसैबीच, देशभर शनिबार ५ हजार ४२ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ४ सय ७१ जनाको पीसीआर र ५ हजार ३ सय ४३ जनाको एन्टिजेन परीक्षण गर्दा पीसीआरमार्फत ३ हजार ५ सय ४० जना र एन्टिजेटमार्फत १ हजार ५ सय २ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर ८ हजार २ सय ४३ जना संक्रमित निको भएका छन् । हालसम्म नेपालमा ४ लाख ८४ हजार ३ सय ७३ संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर ६८ संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७ सय ९९ पुगेको छ ।राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …