तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ — कोरोना भाइरसविरुद्धको खोप कोभिसिल्ड तत्काल उपलब्ध गराउन नसकिने सरकारले जानकारी गराएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड अपडेटमा बोल्दै मन्त्रालयको परिवार कल्याण महाशाखाका प्रमुख डा तारानाथ पोखरेलले कोभिसिल्ड खोप तत्काल उपलब्ध हुने सम्भावना नरहेको बताए ।

फागुन २३ गतेपछि कोभिसिल्डको पहिलो डोज लगाएका देशभरका ६५ वर्ष र १४ जिल्लाका ५५ वर्षमाथिका गरी साढे १३ लाख व्यक्तिले तत्काल दोस्रो डोज लगाउने मिति नजिकिए पनि नपाउने भएका हुन् । विश्व स्वास्थ्य संगठनले खोपको पहिलो मात्रा लगाएको ९ देखि १२ हप्तासम्ममा दोस्रो मात्रा लगाउनुपर्ने बताएको छ । तर विभिन्न प्रयास गर्दासमेत उपलब्ध हुन नसक्ने डा पोखरेलले बताए । ‘पहिलो डोज लगाएको अब करिब ११ हप्ता बितिसकेको छ,’ उनले भने, ‘फागुन २३ भन्दा पछि खोप प्राप्त गर्नुहुने ज्येष्ठ नागरिक तथा अन्य नागरिकले खोप लगाउने मिति नजिकै आउँदा पनि तत्कालै कोभिसिल्ड खोपको दोस्रो मात्रा उपलब्ध हुने सम्भावना नदेखिएको अवस्था छ ।’

स्वास्थ्य मन्त्रालयले खोपका लागि कूटनीतिक पहल गरेको र खरिदका लागि कम्पनीहरुसँग सम्पर्क गरिरहेको बताउँदै पोखरेलले कोभिसिल्ड खोपको विकल्पमा विश्व स्वास्थ्य संगठनले सिफारिस गरेका र कोभ्याक्सबाट उपलब्ध हुने अन्य खोप प्राप्त गर्ने विषयमा दाताहरुसँग छलफल गरेको जनाए ।

नेपाल सरकारले विश्व स्वास्थ्य संगठनले सिफारिस गरेका र कोभ्याक्सबाट उपलब्ध हुने अन्य खोपहरुको विकल्पको बारेमा दाताहरुलाई, विशेष गरेर कोभ्याक्स फ्यासिलिटीलाई करिब साढे १३ लाख नागरिकलाई दोस्रो मात्रा लगाउन कुनै पनि अवस्थामा कोभिसिल्ड, एस्ट्राजेनिका वा एस्केबायो एउटै प्रकृतिको खोप उपलब्ध गराउन पहल गरिरहेको उनले बताए । यसका लागि सकारात्मक जवाफ आए पनि प्राप्त हुने यकिन मितिबारे जानकारी नआएको बताउँदै डा पोखरेलले खोप प्राप्त हुनेबित्तिकै १२ हप्ता कटे पनि पहिलो मात्रा लगाएकालाई खोपको दोस्रो मात्रा लगाउने तयारी गरिरहेको उनको भनाइ छ ।

संक्रामक रोग विशेषज्ञ डा अनुप सुवेदीले अक्सफोर्ड एस्ट्राजेनिका कम्पनीले बनाएको खोप विभिन्न देशमा विभिन्न नाममा बनेकाले सोही प्रकृतिको खोप लगाउँदा फरक नपर्ने बताउँछन् । ‘एस्ट्राजेनिका कम्पनीको दोस्रो डोजको रुपमा लगाउनका लागि अरु देशमा बनेको खोप लगाउन हुन्छ,’ उनले भने

सरकारले गत फागुन २३ गतेपछि देशभरमै ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई कोभिसिल्ड खोप लगाउन सुरु गरेसँग १४ जिल्लामा पनि ५५ वर्षका माथिका व्यक्तिलाई खोप लगाउन थालेको थियो ।

गत माघ १४ गते कोरोना विरुद्धको खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई खोप उपलब्ध गराइसक्ने घोषणा गरेका थिए । उनले भनेका थिए, ‘करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीलाई खोप उपलब्ध गराइसक्नेछौं । निःशुल्क बिनाभेद्‌भाव प्राथमिकताका आधारमा यो खोप उपलब्ध गराउनेछौं ।’

प्रधानमन्त्रीले नै घोषणा गरेको प्रतिबद्धता पूरा नभएको अवस्थामा मन्त्रालयले खोप तत्काल लगाउन नसकिने बताएपछि थप अन्योल उत्पन्न भएको छ । कान्तिपुर दैनिकमा खबर छ

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …