तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौँ। चीनले नेपाललाई दिने घोषणा गरेको १० लाख डोज खोपमध्ये ८ लाख खोप भोलि (मंगलबार)सम्म नेपालमा आइपुग्ने सरकारी अधिकारीले बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार गत २६ मेमा राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङबीच भएको टेलिफोन वार्तामा चीनका राष्ट्रपति सीले नेपाललाई सहयोगस्वरूप १० लाख खोप उपलब्ध गराउने घोषणा गरेका थिए । चिनियाँ राष्ट्रपतिको सो घोषणा लगत्तै ८ लाख डोज खोप नेपाल आउन लागेको हो ।

प्रधानमन्त्री कार्यालयका अनुसार सो खोप लिन नेपाल वायुसेवा निगमका चार्टर्ड विमान आज (सोमबार) राति ११ बजे बेइजिङका लागि प्रस्थान गर्नेछ र सो विमान बेइजिङबाट भ्याक्सिन लिई मंगलबार १० बजे नेपालको लागि प्रस्थान गर्ने तालिका रहेको जनाइएको छ । मंगलबार रातिसम्म चिनियाँ खोप नेपाल आइपुग्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

विभिन्न देशबाट सहयोग आउने क्रम जारी

सरकारी निकायको सक्रियतामा कोभिड नियन्त्रण र उपचारका लागि विभिन्न देशबाट सहयोग आउने क्रम जारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी दिए । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपाललाई उपलब्ध गराएको दोस्रो लटको स्वास्थ्य सामग्रीहरू ८ सय थान अक्सिजन सिलन्डिर, २ सय थान आईसीयू बेड, ५ थान भेन्टिलेटर, १० थान कन्सन्ट्रेटर, १५ सय थान एन्टिजेन किट आइतबार तातोपानी नाकामा नेपाललाई हस्तान्तरण गरिएको छ ।

त्यसैगरी चीन सरकारले ६ मिलियन आरएमबी अतिरिक्त अनुदान सहायताअन्तर्गत उपलब्ध गराएको ४० थान पोर्टेबल भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, ३० थान डीआर मेसिन, २० थान पोर्टेवल अल्ट्रासाउन्ड, ३० थान एनेस्थेसिया मेसिन आदि स्वास्थ्य सामग्री पनि आइतबार नै तातोपानी नाकामा नेपाललाई हस्तान्तरण गरिएको छ ।

चीन सरकारले अतिरिक्त अनुदान सहायताअन्तर्गत उपलब्ध गराएको ३ हजार ५ सय सिलिन्डरमध्ये ३५ सय थान अक्सिजन सिलिन्डर आज केरुङ नाकामा नेपाललाई हस्तान्तरण हुनेछ ।

प्रवक्ता शर्माका अनुसार अस्ट्रेलिया सरकारले उपलब्ध गराउने मानवीय सहायता सामग्री बोकी अस्ट्रेलियन डिफेन्स फोर्सको जहाज यही ४ जुन २०२१ मा नेपाल आउनेछ । यस्तै थाइल्यान्ड सरकारका तर्फबाट नौवटा, थाइ मोनास्ट्री लुम्बिनीका तर्फबाट ३३ वटा र भेरापुन्चोक फाउन्डेसन का तर्फबाट चारवटा गरी जम्मा ४६ वटा अक्सिजन कन्सन्ट्रेटरहरू नेपाल आइसकेको छ ।

गृह मन्त्रालयका अनुसार कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम वीर अस्पताललाई केन्द्रीय अस्पतालका रूपमा सञ्चालन गरिएको छ । निषेधाज्ञ उल्लंघन गर्ने १ लाख ९ हजार ५६ सवारी साधन र २२ हजार ५ सय ३७ व्यक्तिलाई कारबाही गरिएको छ । विभिन्न स्थानमा क्वारेन्टिनको गुणस्तर सुनिश्चितता र नियम पालनाका लागि १ सय ६६ स्थानमा अक्सिजन उत्पादन, आपूर्ति र वितरणलाई प्रभावकारी बनाउन ९७ स्थानमा अनुगमन भएको जनाइएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार अक्सिजनको कमी हुन नदिन दैनिक रूपमा उपत्यकाभित्रका १० वटा अक्सिजन उद्योगमध्ये नौवटा उद्योगबाट ६ हजार ३ सय ८७ वटा सिलिन्डर र उपत्यका बाहिरका १९ वटा अक्सिजन उद्योगबाट ९ हजार ३ सय ३७ वटा सिलिन्डरसहित जम्मा १५ हजार ७ सय २४ सिलिन्डर अक्सिजन भरेर विभिन्न अस्पतालमा वितरण गरिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार अमेरिकी गैरसरकारी संस्था डाइरेक्ट रिलिफ डट ओआरजी मार्फत ८ सय ४० थान अक्सिजन कन्सन्ट्रेटर समेतका स्वास्थ्य उपकरण तथा औषधि प्राप्त भएको छ । यस्तै, कोभिड प्रतिकार्यका लागि इन्टरनेसनल फेडेरेसन अफ रेड क्रस एन्ड रेड क्रिसेन्ट सोसाइटिजमार्फत परिचालन गर्नेगरी क्यानाडा सरकारले १० लाख क्यानेडियन डलरबराबरको सहयोगको घोषणा गरेको छ ।

५८ लाख बढी मेडिकल उपकरण खरिद
अर्थ मन्त्रालयका अनुसार कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि ५८ लाख ५२ हजार ३ सय ५९ थान विभिन्न मेडिकल उपकरण खरिद गरिएको छ । यसैगरी ११ हजार ४ सय ५६ एमटीक्यू अक्सिजन तथा औषधि, ३ हजार २ सय ३४ केजी स्यानिटाइजर, ८ सय ६९ केजी कोभिड टेस्ट किट र २० भायल्स रेम्डिसिभर पनि खरिद गरिएको छ । त्यसैगरी, कोभिड रोकथाम तथा नियन्त्रणका लागि विभिन्न जिल्लामा रहेका अस्पतालमा भेन्टिलेटर स्थापना गर्न १ अर्ब ४१ करोडको सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ । राजधानी दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …