तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । केही दिनयता नेपालमा कोरोनाको नयाँ भेरियन्ट समुदायस्तरमै फैलिएपछि यसबाट प्रभावितको संख्या दिनानुदिन हवात्तै बढ्न थालेको छ ।

कोरोना भाइरस संक्रमित हुनेको संख्या आइतबार चार अंकमा पुगेको छ । केही दिनयता संक्रमणदर अत्यधिक रूपमा बढ्दै गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८४ हजार ६ सय ७३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर ६ हजार २ सय ९० जना सक्रिय संक्रमित रहेका छन् । कुल संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै ४ सय ३५ जना छन् । काठमाडौंमा ३ सय २६, ललितपुरमा ६४ र भक्तपुरमा ४५ जनामा संक्रमण देखिएको छ ।

युवा र बालबालिका बढी प्रभावित, आठ जनाको मृत्यु

संक्रमण ह्वात्तै बढेलगत्तै चिकित्सकले सतर्क र सजग रहन आग्रह गरेका छन् । नेपालमा हाल यूके भेरियन्ट र डबल म्युटेन्ट भेरियन्ट देखिएका छन् । यी भेरियन्ट पहिलेको स्वरूपभन्दा छिटो फैलिनुका साथै बालबालिका र युवामा बढी संक्रमण हुने पाइएको छ ।

कतिपय बालबालिकामा लक्षण नदेखिए पनि रोग भएको भए अन्य व्यक्तिमा सार्न सक्ने बताइएको छ । विश्वका कतिपय देशमा बालबालिकामा बिरामीको समयभन्दा पनि रोग लागेको चारदेखि ६ सातापछि मल्टिसिस्टम इन्फ्लाममेटरी सिन्ड्रम इन चिल्ड्रेन (एमआईएससी) भई बच्चा सिकिस्त हुन सक्ने बाल रोग विशेषज्ञहरू बताउँछन् । चिकित्सकहरूका अनुसार एमआईएससीको लक्षणमा ज्वरो, कडा झाडापखाला, बढी पेट दुख्ने, श्वासप्रश्वासमा गाह्रो हुने, मुटुमा समस्या देखिने नयाँ भेरियन्टका लक्षण रहेका छन् ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना जोखिम बढेको भन्दै यसको चपेटामा बालबालिका रहेको बताए । उनले भने, ‘भाइरसले कोर्स चेन्ज गरेको छ । बालबालिकासहित सबै उमेर समूहका नागरिक चपेटामा परेका छन् । बालबालिकाप्रति सरोकारवाला निकाय संवेदनशील हुनुपर्छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमणबाट बच्न भौतिक दूरी कायम, मास्कको समुचित प्रयोगलाई ध्यान दिनुपर्ने बताए ।

यस्ता लक्षण देखिए सचेत रहनुहोस्
– ज्वरो आउने
– कडा झाडापखाला
– बढी पेट दुख्ने
– श्वासप्रश्वासमा गाह्रो
– मुटुमा समस्या देखिनु

नेपाल पेडियाट्रिक सोसाइटीका अध्यक्ष डा. कृष्णप्रसाद विष्टले अति आवश्यक कामबाहेक आफू वा आफ्ना बालबालिकालाई बाहिर वा भिडभाडमा नलैजान आग्रह गरे । अहिले रोग द्रुत गतिमा फैलिरहेको र स्वास्थ्य मन्त्रालयले समेत विद्यालय भर्चुअल कक्षा सञ्चालन गर्न अनुरोध गरेकाले स्वास्थ्य मापदण्ड पूरा हुने अवस्था भए मात्र बालबालिकालाई विद्यालय वा कलेज पठाउनुपर्ने बताए ।

गत २४ घण्टामा २ सय ६२ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ७५ हजार ३ सय पुगेको छ । यस्तै, देशभर ८५ जना क्वारेन्टाइनमा रहेका छन् । देशभर १ सय १६ जना आईसीयू र ४६ जना संक्रमित भेन्टिलेटरमा उपचारत छन् ।

गत २४ घण्टामा आठ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८३ जना पुगेको छ । हाल देशभर १ सय ६२ जना कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । जसअन्तर्गत १ सय १६ जना आईसीयू र ४६ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

प्रदेश एकमा सात जना आईसीयूमा र एक जना भेन्टिलेटरमा, प्रदेश २ मा सात जना आईसीयू, बागमती प्रदेशमा ६० जना आईसीयू र २८ जना भेन्टिलेटरमा छन् ।

गण्डकी प्रदेशमा तीन जना आईसीयू र एक जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ३० जना आईसीयू र ११ जना भेन्टिलेटरमा, कर्णालीमा ६ जना आईसीयू र दुई जना भेन्टिलेटरमा र सुदूरपश्चिम प्रदेशमा तीन जना आईसीयू र तीन जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । १ सय ८९ जना आइसोलेसनमा छन् ।

एकै दिन १ सय १२ बालबालिका संक्रमित
आइतबार १ सय १२ बालबालिकामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार शून्यदेखि नौ वर्ष उमेर समूहका २१ बालबालिका र १० देखि १९ वर्ष उमेर समूहका ९१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म १८ वर्षमुनिका बालबालिकाहरूलाई कुनै खोप सिफारिस नगरिएकाले बालबालिका प्रताडित हुन सक्ने देखिएको छ । त्यसैले, बालबालिकालाई संक्रमण हुनबाट बचाउन चिकित्सकले सल्लाह दिएका छन् । राजधानी दैनिकमा खबर छ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …