तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

तनहुँ  ।  किशोरीमा रक्तअल्पताको कमी हुन नदिन तनहुँको व्यास नगरपालिकाले आइरन चक्की खुवाउने अभियान शुरु गरेको छ । नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सबै विद्यालयका किशोरीलाई आइरन चक्की खुवाउने अभियान शुरु गरेको हो ।

माघको पहिलो बुधबारबाट यो अभियान शुरु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । “किशोरीमा रक्तअल्पता हुने सम्भावना बढी भएकाले किशोरीलाई अहिल्यैदेखि नै आइरन चक्की खुवाउन शुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “सङ्घीय सरकारले यसलाई अभियानकै रूपमा सञ्चालन गरेको छ ।”

किशोरीलाई प्रत्येक बुधबार विद्यालयमै आइरन चक्की खुवाइन्छ । त्यसका लागि स्वास्थ्य शाखाले विद्यालय नजिक रहेको स्वास्थ्य संस्थामा आइरन चक्कीको व्यवस्थापन गरेको छ । स्वास्थ्य संस्थाले विद्यालयको समन्वयमा किशोरीलाई आइरन चक्की खुवाउने व्यवस्था मिलाउनेछन् । नगरपालिकाभित्र ७५ सामुदायिक र ४३ निजी विद्यालय छन् ।

सोतीका अनुसार १० देखि १९ वर्षभित्रका किशोरी तथा युवतीलाई आइरन चक्की खुवाइनेछ । उहाँका अनुसार साउन, भदौ, असोज, माघ, फागुन र चैतमा आइरन चक्की खुवाइनेछ भने कात्तिक, मङ्सिर, पुस, वैशाख, जेठ र असारमा आइरन चक्की खुवाइने छैन । “५२ हप्तामध्ये २६ हप्ताको बुधबार किशोरीले आइरन चक्की खान्छन्”, उहाँले भन्नुभयो ।

बाल्यावस्थापछि मानव शरीरमा हुने वृद्धि र विकासको दृष्टिकोणले दोस्रो महत्वपूर्ण अवधिको रूपमा लिइन्छ । किशोरावस्था भन्नाले बाल्यावस्था र वयस्क अवस्थाबीचको मानव विकासको चरणलाई जनाउँछ । विश्व स्वास्थ्य सङ्गठनले १० देखि १९ वर्षको उमेर समूहलाई किशोरावस्था भनी परिभाषित गरेको छ । किशोरावस्थामा वयस्कावस्थाको ४० देखि ६५ प्रतिशत तौल र १५ देखि २० प्रतिशतसम्म उचाइ हासिल हुन्छ ।

किशोरावस्थामा तीव्र दरमा शारीरिक वृद्धि विकास हुने भएकाले पोषणको आवश्यकता बढी हुन्छ । पोषणतत्व अधिक आवश्यकता हुने भएता पनि विभिन्न कारण (सामाजिक, सांस्कृतिक, आर्थिक, जीवनस्तर परिवर्तन, मनोवैज्ञानिक आदि)ले गर्दा पोषणयुक्त खानपानमा कमी हुने हुँदा न्यून पोषणको जोखिम हुन्छ, जसमध्ये रक्तअल्पता पनि एक हो । रक्तअल्पता भनेको शरीरमा रगतको कमी भएको अवस्था हो । रक्तअल्पताका कारणहरुमध्ये आइरनको कमी एक प्रमुख कारण हो ।

नेपालमा करिब ३५ प्रतिशत प्रजनन उमेरका महिला रक्तअल्पताबाट पीडित छन् भने ३९ प्रतिशत किशोरीमा रक्तअल्पताको समस्या देखिएको तथ्याङ्क छ । नेपाल सरकारले रक्तअल्पताको समस्यालाई समाधान गर्न विभिन्न कदम चालिरहेको छ । विगत केही वर्षमा यसको प्रतिशत घटे पनि विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालका किशोरीहरुमा रक्तअल्पता मध्यम जनस्वास्थ्य समस्याको रूपमा रहको छ । यदि यो समस्या ४० प्रतिशतभन्दा बढी किशोरीमा देखिएमा गम्भीर समस्याको रूपमा रहने छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …