तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपालको १२ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण समुदाय चरणमा गएको छ । काठमाडाैँ उपत्यकासमेत पर्ने बागमती प्रदेशको काठमाडाैँ र ललितपुर तथा चितवनसहित प्रदेश २ का धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा तथा प्रदेश १ का मोरङ् र सुनसरी तथा प्रदेश ५ को रुपन्देहीमा कोरोना भाइरसको सङ्क्रमण समुदाय चरणमा गएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ्को क्रममा जनस्वास्थ्यविद् डा. सुरेश तिवारीले समुदाय चरणका सूचकहरूको आधारमा उक्त निचोडमा पुगेको जानकारी दिनुभयो । पछिल्लो एक महिनामा थपिएकामध्ये ७३ प्रतिशत सङ्क्रमित यी १२ जिल्लाको रहेका छन् । असारसम्म विदेशबाट आउने र तिनको सम्पर्कमा रहेकोमा मात्रै सङ्क्रमण पुष्टि भएको थियो । तर पछिल्लो एक महिनामा सङ्क्रमण पुष्टि भएकोमध्ये ९६ प्रतिशत स्थानीय रहेको जनस्वास्थ्यविद् डा. तिवारीले तर्क गर्नुभयो ।

साउन १५ गतेयता नेपालमा २० हजार १८७ जना सङ्क्रमित थपिएका छन् । माघ महिनामा पहिलो सङ्क्रमित पुष्टि भएपछि २० हजार सङ्क्रमित पुग्न करिब सात महिना समय लिएको थियो । तर एक महिनाभित्रै उक्त सङ्ख्या दोब्बर भएको छ । साउन १६ गतेसम्म नेपालमा कुल १९ हजार ७७१ जनामा सङ्क्रमणको पुष्टि भएको थियो । भदौ १६ गतेसम्म ४० हजार ५२९ पुगेको छ । एक महिनामा सङ्क्रमित सङ्ख्या दोब्बर भएको छ ।

कुल सङ्क्रमितको करिब ४७ प्रतिशत यी १२ जिल्लाका छन् । पछिल्ला दिनहरूमा काठमाडाैँ उपत्यकामा सङ्क्रमित थपिने क्रम बढेको छ । काठमाडाैँमा एक साताभित्र मात्रै करिब दुई हजार नयाँ सङ्क्रमितको पुष्टि भएको छ । काठमाडाैँमा मात्रै चार हजार ५२२ र ललितपुरमा ६८५ जना सङ्क्रमित पुष्टि भएका छन् ।

सूचकले के भन्छ ?
सुरुको केही महिनामा नेपालमा कोरोना भाइरसका सङ्क्रमित पुष्टि हुँदा अधिकांश सङ्क्रमण पुरुषमा देखिएको थियो । साउन पहिलो सातासम्म मात्र आठ प्रतिशत महिलामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको थियो । तर पछिल्लो एक महिनामा महिला सङ्क्रमितको प्रतिशत २२ पुगेको छ । अर्थात् सङ्क्रमण हुने विदेशबाट आएका मात्रै नभई घरमै अधिकांश समय बिताउने महिलाको सङ्ख्या बढ्दो छ ।

वृद्धमा समेत सङ्क्रमण दर बढ्दो छ । साउन पहिलो सातासम्म ६० वर्ष उमेर नाघेका सङ्क्रमित वृद्ध एक प्रतिशत मात्रै थिए । तर एक महिनाभित्र सङ्क्रमित वृद्ध चार प्रतिशतको करिब पुगेको छ । पछिल्लो समयमा मृत्यु हुने कोरोना सङ्क्रमित वृद्धको सङ्ख्या पनि बढ्दो छ ।

साउन पहिलो सातासम्म प्रति एक सय व्यक्तिको परीक्षण गर्दा तीनदेखि चार जनामा सङ्क्रमणको पुष्टि हुँदै आएको थियो । तर हाल सङ्क्रमण दर बढेको छ । एक महिनाभित्र सङ्क्रमित पुष्टि हुने दर करिब ८ देखि ९ प्रतिशत पुगेको छ । जनस्वास्थ्यविद् डा. सुरेश तिवारीले यो बिन्दुमा सङ्क्रमण समुदायमा पुगेको तर्कलाई यी तथ्याङ्कले पुष्टि गरेको तर्क गर्नुभयो ।

मापदण्डको पालनाले नियन्त्रणमा आउँछ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नै स्थिति नियन्त्रणबाहिर जान सक्ने, अस्पताल र स्वास्थ्य परीक्षण गर्ने जनशक्ति कम पर्ने अवस्था आउन सक्ने भन्दै सचेत गराउनुभएको थियो । डा. गौतम भन्नुहुन्छ, “जनस्वास्थ्य मापदण्डको पूर्ण पालना नै स्थिति नियन्त्रणमा ल्याउन सक्छ, सबैजना संवेदनशील हुनैपर्छ ।

मन्त्रालयले सामाजिक दूरीको पालना, पटक पटक हात धुने र मास्कको प्रयोग अनिवार्य गर्न आग्रह गरेको छ । प्रवक्ता गौतमले विश्वको अपेक्षा अझै तनाव र त्रसित हुने अवस्था नरहेपनि बेलैमा सचेत हुन आग्रह गर्नुभएको छ ।

जनस्वास्थ्यविद् डा. सुरेश तिवारीले सामाजिक र मनोवैज्ञानिक रुपमा त्रसित नभई उच्च आत्मबलसहित सचेत नागरिकको भूमिका निर्वाह गर्न आग्रह गर्नुहुन्छ ।

डा. तिवारीले समुदायमा सङ्क्रमणको जालो तोड्न अनुशासित क्रियाकलाप गर्न आग्रह गर्नुहुन्छ । सङ्क्रमणको जालो तोड्न स्वास्थ्य मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाएको छ । रेड जोनमा रहेका १२ वटै जिल्लामा ट्रेसिङमा जोड दिइएको छ । आवश्यकताको आधारमा पीसीआर परीक्षण गर्ने कार्य जारी रहेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …