तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। शक्तिका लागि भगवतीको आशीर्वाद लिने पर्व नवरात्रको आठौँ दिन पनि काठमाडौँ उपत्यकालगायत देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ ।

आश्विन शुक्ल पक्ष शक्तिस्वरुपा दुर्गा भवानीको विशेष आराधना गर्ने पर्वका रुपमा चिनिन्छ । वर्षमा चारवटा नवरात्र पर्ने भए पनि शरद ऋतुअन्तर्गत आश्विन शुक्ल पक्षमा पर्ने नवरात्र विशेष रुपमा मनाइन्छ । बडादसैँसमेत भनिने शारदीय नवरात्र देशभर भव्य रुपमा मनाइन्छ । देवीको पूजा, पाठ एवं दर्शन गर्न भक्तजन मन्दिर जाने गर्छन् । 

शक्तिपीठमा पनि पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरको विशेष महत्व रहेको विभिन्न पुराणमा उल्लेख गरिएको छ । यही महत्वका कारण आश्विन शुक्ल प्रतिपदादेखि नै यस मन्दिरमा भक्तजनको घुइँचो छ । गत वर्ष कोरोनाका कारण सबैजसो शक्तिपीठ बन्द गरिएको थियो । मन्दिर परिसर पुग्ने भक्तजनले पनि बाहिरबाटै दर्शन गरेर फर्किएका थिए । यस वर्ष कोरोना जोखिम कम भएकाले भक्तजन मन्दिरमा लाम लागी पूजाआराधना गरिरहेका छन् ।

गुह्येश्वरी शक्तिपीठका बारेमा पशुपति पुराणमा भनिएको छ ः –

पशुपतिसमं लिङ्गं वाग्वत्या च समा नदी ।

गुह्येश्वरीसमं पीठं नास्ति ब्रह्माण्डमण्डले ।।

अर्थात् पशुपतिको समान लिङ्ग, वाग्मतीको समान नदी र गुह्येश्वरीको समान पीठ ब्रह्माण्डमा अरू छैनन् । स्कन्द पुराण नेपाल माहात्म्यको हिमवत्खण्डमा पनि गुह्येश्वरी पीठको महत्वका बारेमा प्रकाश पारिएको छ । गुह्येश्वरी मन्दिरमा विगत वर्षहरुमा भन्दा यस वर्ष पूजा आराधनाका लागि आउने भक्तजनको सङ्ख्या बढेको छ । 

गुह्येश्वरीमा भक्तजन बढे, बलि दिने घटे

गुठी संस्थानअन्तर्गतको गुह्येश्वरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुमित खड्गी मन्दिर पूजा, आराधना र दर्शन गर्न आउने भक्तजनको सङ्ख्या बढे पनि बलिसहित पूजा गर्ने भने घटेको बताउनुहुन्छ । गत वर्ष कोरोना महामारीका बेलाभन्दा पनि यस वर्ष बलि दिनेको सङ्ख्या घटेको उहाँले जानकारी दिनुभयो । 

गुह्येश्वरी मन्दिरमा प्राचीनकालदेखि महाअष्टमीका दिन राष्ट्राध्यक्षले पूजाआराधना गर्ने परम्परा छ । विश्वमै प्रसिद्ध शक्तिपीठ भएकाले यो परम्परा बसेको हो । आज दिउँसो ४ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्नुुहुने कार्यक्रम रहेको समितिले जनाएको छ ।

यसैगरी पशुपति क्षेत्रका वनदेवी, वत्सलेश्वरी, बज्रश्वरी, नवदुर्गाको मूर्ति रहेको क्षेत्र, जयवागेश्वरीलगायत देवी मन्दिरमा पनि भक्तजनको भीड छ । महासरस्वतीका रुपमासमेत पूजाआराधना गरिने जयवागेश्वरी पुनःनिर्माण भइरहे पनि नवरात्रमा पूजा, आराधना र दर्शन गर्न मिल्ने गरी ढोका खुला गरिएको जयवगोश्वरी मन्दिर पुनःनिर्माण समितिको सदस्यसमेत रहनुभएका काठमाडौँ महानगरपालिका–८ का वडा सदस्य विवेक सङ्गतले राससलाई जानकारी दिनुभयो । 

यसैगरी मैतीदेवी, नक्साल भगवती, कालिकास्थान, भद्रकाली, हनुमानढोका दरबार क्षेत्रका शक्तिपीठ, कङ्केश्वरी, बिजेश्वरी, शोभाभगवती, रक्तकाली, श्वेतकाली, दक्षिणकालीलगायत देवी मन्दिरमा पनि पूजा, आराधना र दर्शन गर्ने भक्तजनको घुइँचो छ । कोरोनाको जोखिमका कारण लामो समय घरभन्दा बाहिर ननिस्किएका मानिस पनि उकुसमुकुस भएर शक्तिपीठ पुगेका छन् । 

काठमाडौँ उपत्यकाका बज्रबाराही, बज्रयोगिनी, सुन्दरीमाई, चामुण्डादेवी, इन्द्रायणीलगायत मन्दिरमा पनि पूजाआराधना र दर्शनका लागि पुग्ने भक्तजन धेरै छन् । नवदुर्गाको विशेष पूजा गरिने नवरात्रमा शक्तिपीठमा गई पूजाआराधना र दर्शन गरेमा मनाकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । 

यसैगरी उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभे्रपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरालगायतका शक्तिपीठहरुमा पनि बलिसहित पूजाआराधना गर्ने श्रद्धालु भक्तजनहरुको घुँइचो लागेको छ । 

यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष रुपमा पूजाआराधना गरिन्छ । नवरात्रमा बलका लागि महाकाली, धनका लागि महालक्ष्मी र विद्याका लागि महासरस्वतीको पूजाआराधना गरिन्छ । यसका साथै सुख, शान्तिका लागि पनि भगवतीसँग प्रार्थना गरिन्छ । महाअष्टमी पर्व विशेष रुपमा शक्ति स्वरुपा भगवतीको प्रार्थना गर्ने दिनका रुपमा लिइन्छ । यस दिन कतिले बलिसहित पूजा गर्छन् भने कतिले सात्विक रुपमा देवीको पूजाआराधना गर्छन् ।रासस                                            

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …