तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नवनियुक्त चारमन्त्री बालकृष्ण खाँड, जनार्दन शर्मा, पम्फा भुसाल र ज्ञानेन्द्रबहादुर कार्कीले पदभार ग्रहण गरेका छन् । गृहमन्त्री खाँड, अर्थमन्त्री शर्मा र ऊर्जामन्त्री भुसालले बुधबार र कानुनमन्त्री कार्कीले मंगलबार आआफ्नो मन्त्रालय पुगी पदबहाली गरेका हुन् । पदबहालीका क्रममा उनीहरूले नीतिगत निर्णय लिनुका साथै मातहतका कर्मचारीलाई निर्देशनसमेत दिएका छन् । नवनियुक्त गृहमन्त्री खाँणले पहिलो निर्णयका रूपमा पूर्वी नवलपरासी जिल्ला विपद् व्यवस्थापन कोषमा त्यहाँबाट माग गरिएको रकम पठाउने फाइल सदर गरेका छन् । अर्थमन्त्री शर्माले कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५ अर्ब रुपैयाँको सहमति प्रदान गर्नेलगायतका निर्णय गरेका छन् ।

अर्थमन्त्री जर्नादन शर्मा

कोभिड खोप किन्न पाँच अर्ब बजेटको सहमति
काठमाडौं । अर्थ मन्त्रालयले कोभिड खोप किन्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५ अर्ब रुपैयाँ बजेट सहमति दिएको छ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले बुधबार पदभार ग्रहण गर्ने क्रममा चारवटा फाइल सदर गरेका छन् । जसमध्ये एउटा फाइलमा खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयलाई बजेट सहमति दिने थियो ।
अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यका अनुसार यसबाहेक अर्थ मन्त्रालयले यसअघि खर्चको सहमति दिएका विभिन्न संघीय, प्रादेशिक, जिल्ला र स्थानीय तह स्तरका स्वास्थ्य संस्थालाई समेत अर्थ मन्त्रालयले बजेट स्वीकृत गरेको छ ।
यसैगरी, उनले स्वास्थ्यबाट आईसीयू, एचडीयू तथा भेन्टिलेटर खरिद भई भुक्तानीका लागि माग आएको ९६ करोड १२ लाख रुपैयाँ उपलब्ध गराउनेसम्बन्धी फाइलसमेत सदर भएको जानकारी दिए । प्रादेशिक र स्थानीय अस्पतालाई यसअघि सहमति दिएअनुसार ५२ करोड ४६ लाख रुपैयाँ उपलब्ध गराउनसमेत अर्थले फाइल सदर गरेको छ । कोभिडसम्बन्धी विभिन्न दायित्व, अस्पतालको सोध भर्ना र जोखिम भत्तासमेतका लागि संघीय स्तरका लागि ५६ करोड ४१ लाख र प्रदेश र स्थानीय तहमा जानेगरी ३७ करोड २४ लाख रुपैयाँ निकासाको फाइलसमेत नवनियुक्त अर्थमन्त्री शर्माले सदर गरेका हुन् ।

सरकारको भिजनअनुसार नयाँ बजेटको तयारी गरिने
नवनियुक्त अर्थमन्त्री शर्माले नयाँ बनेको सरकारको आवश्यकता र भिजनअनुसार आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट संशोधन गरिने बताएका छन् । अर्थमन्त्रीको कार्यभार सम्हालेलगत्तै कर्मचारीहरूसँगको पहिलो बैठकमा शर्माले बजेट संशोधन गर्ने विषय इंगित गरेका हुन् । ‘बजेटका सन्दर्भमा अदालतले केही कुरा बोलेको पनि छ । नयाँ सरकारको आफ्ना आवश्यकता र भिजनको कुरा पनि छ । यसबारे हामी विस्तृ छ छलफलमा लागौं,’ अर्थ मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै उनले भने ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई केही परिवर्तन गरी संसद्बाटै पारित गरेर ल्याउने नयाँ सरकारको तयारी छ । अर्थमन्त्री शर्माले आफू अर्थतन्त्रको राम्रो ज्ञाता नभएको र संयोगले अर्थमन्त्रीको जिम्मेवारीमा आइपुगेकाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्न पनि कर्मचारीलाई आग्रह गरे ।

‘म संयोगले अर्थमन्त्री भएको हुँ, मलाई विश्वास गरेर यो जिम्मेवारी दिइयो,’ शर्माले भने, ‘म अर्थशास्त्रको कुनै विज्ञ होइन । कुनै विश्वविद्यालयमा ठूलो अध्ययन गरेर आएको पनि होइन । तर, अहिलेको समस्या कहाँनेर छ भन्ने कुराको पहिचान गर्न सक्छु ।’ मन्त्रालयका काम कारबाही प्रभावकारी रूपमा सञ्चालन गर्न कर्मचारी संयन्त्रबाट ठूलो सहयोगको अपेक्षा आफूले राखेको शर्माले बताए । यसैगरी, उनले सरकारले आगामी आवका लागि अघिल्लो सरकारले ल्याएको बजेट संशोधन गरेर जाने इंकित गरे । शर्माका लागि अर्थ मन्त्रालयको जिम्मेवारी नयाँ हो । तर, उनले अब नयाँ सरकारको भिजनअनुसार मुलुकलाई आर्थिक रूपले सम्पन्न बनाउने अभियानमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन ।

अर्थमन्त्रीको निर्देशनलगतै पुनर्निर्माणमा खटिएका इन्जिनियरहरूको माग पूरा
नवनियुक्त अर्थमन्त्री शर्माको निर्देशन लगतै लामो समयदेखि भत्ता नपाएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरूको माग पूरा भएको छ । दुर्गममा गएर काम गरेका उनीहरूले विगत एक वर्षदेखि पाउनुपर्ने भत्तालगायतका पारिश्रमिक नपाएको गुनासो अर्थमन्त्री शर्मासम्म पुगेपछि उनले तत्काल समस्या समाधान गरिदिएका हुन् ।

अर्थमन्त्री शर्माको निर्देशनपछि बुधबार उनीहरूलाई रकम भुक्तानी गर्न ८ करोड ३४ लाख ९४ हजार रुपैयाँ निकासा भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य डा. हरि पराजुलीले जानकारी दिए । कोरोना महामारीको प्रतिकूल परिस्थितिमा काम गरेका इन्जिनियरहरूको माग सम्बोधन भएसँगै उनीहरूलाई काम गर्न थप हौसला मिल्ने प्राधिकरणले जनाएको छ ।

इन्जिनियरहरूको माग सम्बोधनका लागि पराजुली अर्थ मन्त्रालयमा फाइल बोकेर बुधबार पुगेका थिए भने लगत्तै शर्माले मातहतको निकायलाई आवश्यक रकम भुक्तानी गर्न निर्देशन दिएका थिए । निकासा भएको रकम पुनर्निर्माणमा खटिएका ३ हजार ६४ जना इन्जिनियर तथा प्राविधिकलाई भुक्तानी गरिनेछ । यसअघि आफूहरूले पाउनुपर्ने सेवा सुविधाको माग गर्दै पटकपटक करारका ती इन्जिनियरहरूले आन्दोलन गर्दै आए पनि माग सम्बोधन हुन सकेको थिएन ।

नवनियुक्त शर्माले मुलुकमा गम्भीर स्वास्थ्य र आर्थिक संकटको बेला आफू अर्थ मन्त्रालयको जिम्मेवारीमा आइपुगेको भन्दै चुनौतीका चाङबीचको आफ्नो कार्यकाल सफल बनाउन कर्मचारीले सहयोगी भूमिका खेल्ने अपेक्षा राखेको पनि बताए । बुधबार अर्थ मन्त्रालयको पदभार ग्रहण गर्दै नवनियुक्त अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।

उनले आफ्नो इच्छाशक्ति र क्षमताले भ्याएसम्म आफूले काम गर्ने र कर्मचारीबाट पनि उत्कृष्ट कार्यसम्पादनको अपेक्षा राखेको बताए । ‘तपाईंहरूले गर्ने कामलाई अनुमोदन गर्ने, निर्देशन गर्ने र सहयोग हुनेगरी म आएको छु । मलाई अनुहार चाहिन्न । जात पनि चाहिन्न र कुनै झन्डा पनि चाहिन्न । मलाई काम चाहिन्छ,’ शर्माले भने ।

आफ्नो क्षेत्रमा पाएको जिम्मेवारी र कामलाई कसरी अगाडि बढाउने कसरी प्रभावकारी बनाउने, कसरी पारदर्शी बनाउने र जनताका लागि केही न केही योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै शर्माले भने, ‘यो मेरो मात्र नभएर हामी सबैको प्रतिबद्धता हुनुपर्छ ।’

महामारीको संकट एकातिर हुँदा गरिबीमा रहेका जनता, बेरोजगारी, विकास निर्माण र व्यापार व्यवसायमा आएको संकटमा मलम लगाउन साझा पहल गरिनुपर्ने उनको भनाइ छ । आर्थिक सबलीकरण, अर्थतन्त्रलाई पुनरुत्थान र पुनर्जीवित गर्न मार्गचित्र तयार पार्न र आर्थिक विकासका क्षेत्रका आयोजनाको प्राथमिकीकरण गर्न पनि कर्मचारीलाई अर्थमन्त्री शर्माले निर्देशन दिए ।

यसैगरी, बढ्दो व्यापार घाटालाई सन्तुलनमा ल्याउन छुट्टै सुधार कार्यक्रम ल्याउनु आवश्यक रहेकाले त्यसको तयारी गर्न पनि उनले निर्देशन दिएका छन् । ‘व्यापार घाटा कम गर्न छुट्टै सुधार कार्यक्रम ल्याउन जरुरी छ । सबै राजनीतिक दल र सबै नागरिकको साझा संकल्पबाट मात्र यो सम्भव छ । यो विशेष सुधार अभियान सफल पार्न म सबै पक्षसँग आग्रह गर्न चाहन्छु,’ अर्थमन्त्री शर्माले भने ।

आफू अर्थ मन्त्रालयमा आउनुको पछाडि सहकार्य गर्ने, अर्थतन्त्रको अवस्थालाई बुझ्ने, आफ्नो इच्छा शक्ति र क्षमताअनुसार काम गर्ने, गरिबीको मारमा रहेका जनता, खटिरहेका श्रमिकलाई राहत दिनेलगायतका कारण रहेको उनले बताए ।

व्यापार व्यवसाय क्षेत्रमा आएको संकटमा मलम लगाउने र कोभिड १९ को महामारीबाट अर्थतन्त्रलाई माथि उठाउन आफूले भूमिका खेल्ने उनले बताए । मन्त्रालयबाट भइरहेको कामलाई आफूले निरन्तर अनुगमन, निर्देशन र सहयोग गर्ने भन्दै उनले कर्मचारीबाट समेत यस्तो सहयोगको अपेक्षा गरे । उनले निष्ठा, इमानदारी र पारदर्शितालाई भने नभुल्नसमेत सचेत गराए ।

यसैगरी, अर्थमन्त्री शर्माले पुँजी बजारलाई उत्साहित बनाउन सरकारको ध्यान केन्द्रित हुने बताए । थप लगानीको अवसर सिर्जना गर्नसमेत सरकारको ध्यान केन्द्रित हुने बताउँदै उनले जसका लागि प्रतिबद्धता, पारदर्शिता र इमान्दारिता चाहिने दावी गरे ।

गृहमन्त्री बालकृष्ण खाँण
विपद् व्यवस्थापन परियोजना अघि बढाइने

काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले बुधबार सिंहदरबारस्थित गृहमन्त्रालयमा पदबहाली गरेका छन् । खाँणले विपद् व्यवस्थापनसम्बन्धी परियोजना अघि बढाउने पहिलो निर्णयमा हस्ताक्षर गर्दै पदबहाली गरेका हुन् ।

पद बहालीपछि पत्रकारहरूसँगको संवादमा गृहमन्त्री खाँणले सरकार विपद्बाट क्षति भएका घरपरिवारलाई तत्काल राहत दिन तयार गरेको बताए ।

यसैगरी, उनले जनताले कोभिड–१९ को सबैभन्दा ठूलो महामारी सामना गरिरहेकाले त्यसलाई परास्त गर्न सबैको सहयोग र योगदानको खाँचो रहेकोसमेत बताए ।

सो क्रममा उनले कोरोनाको महामारीबाट बच्न सबैले गम्भीरतापूवर्क आफ्नो दायित्व र भूमिका निर्वाह गर्न जरुरी रहेको भन्दै कोरोना महामारीका क्रममा प्रतिकार्यमा खटिने सुरक्षा निकाय, स्वास्थ्यकर्मी तथा जनतालाई सही सूचना दिन खटिएका सञ्चारकर्मीलाई अग्रभागमा रहेर महŒवपूर्ण योगदान पु¥याएकोमा धन्यवादसमेत व्यक्त गरे ।

सो क्रममा गृहमन्त्री खाँणले पूर्वी नवलपरासी जिल्ला विपद् व्यवस्थापन कोषमा त्यहाँबाट माग गरिएको रकम पठाउने फाइल सदर गरेका थिए ।

नवनियुक्त गृहमन्त्री खाँणलाई सिंहदरबारस्थित मन्त्रालयमा गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारीलगायतले स्वागत गरेका थिए ।

पम्फा भुसाल, ऊर्जामन्त्री
जलविद्युत् आयोजना र राष्ट्रिय प्रसारण लाइनको प्राथमिकरण

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले काममा कुनै पनि पूर्वाग्रह नराखी परिणाममुखी काम गर्ने बताएकी छन् । बुधबार कार्यभार सम्हालेको पहिलो दिन पदबहालीका क्रममा यस्तो बताएकी हुन् ।

मन्त्रालयका सचिव, विभागीय प्रमुखहरू, सहसचिवसहितको बैठकमा बोल्दै देश र जनताको सपना पूरा गर्न आत्मसात् गर्दै राम्रो परिणाम निकाल्न सबैलाई लाग्न आग्रह गरेकी छन् । उनले भनिन्, ‘जनताको छोरी हुँ, जनताको जनयुद्वबाट यहाँसम्म आएको हुँ, काम गर्न सरल छु, मिलेर काम गरौं, जनताका काम गरौं । मसँग व्यक्तिगत कुनै स्वार्थ छैन । मेरो एउटै स्वार्थ परिणाम निकाल्ने गरी काम गर्ने मात्र हो ।’

मन्त्री भुसालले जहिले पनि लक्ष्य राख्ने तर लक्ष्य पूरा नगर्ने हुँदै आएको र त्यसमा पनि एक÷दुईवटा मात्र लक्ष्य पूरा हुने गरेकोमा यसलाई सुधार गर्नुपर्ने बताइन् । उनले अहिले लोडसेडिङको समस्या जल्दोबल्दो भएको भन्दै लोडसेडिङ कहिल्यै नहुनेमा जोड दिनुपर्ने बताइन् । बिजुली बत्ती बाल्नै नपाउनेहरू छन् उनीहरूसँग बिजुलीको पहुँच चाँडो पु¥याउनुपर्ने मन्त्री भुसालले बताइन् ।

कृषि प्रधान देश भनिए पनि सिँचाइको समस्या ठूलो रहेको बताउँदै, सबै कृषियोग्य ठाउँमा १२ महिना नै सिँचाइ पु¥याउनेतर्फ लाग्नुपर्ने बताइन् । साथै अहिले बाढी पहिरो र भूक्षय बढेको छ, हामीले हाम्रो जिम्मेवारी पूरा गरेर विभिन्न निकायसँग समन्वय गरेर यसको रोकथाम तथा नियन्त्रणमा सक्दो कदम चाल्नुपर्ने भुसालले बताइन् ।

मन्त्री भुसालले ऊर्जा मन्त्रालय सम्हालेको पहिलो दिन जलविद्युत् आयोजना तथा राष्ट्रिय प्रसारण लाइनहरूको प्राथमिकरण गरी प्रतिवेदन पेस गर्नका लागि कार्यदल गठन गरी अघि बढ्ने पहिलो निर्णय गरेको छ ।

ऊर्जामा पम्फा भुसाल तेस्रो महिला मन्त्रीका रूपमा मंगलबार (२९ असार) पदभार ग्रहण गरेकी हुन् । यसअघि शैलजा आचार्य र राधा ज्ञवालीले ऊर्जा मन्त्रालयमा पहिलो र दास्रो गरेर बागडोर सम्हालेका थिए । राजधानी दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …