तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । कोरोना संक्रमण प्रतिदिन बढ्दै गएपछि सरकारले वैशाख मसान्तसम्म उच्च जोखिममा रहेका २५ सहरी क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विद्यालय बन्ददेखि २५ जनाभन्दा बढी भेला हुन नपाउनेसम्मका निर्णय गरेको छ । बैठकले काठमाडौं, ललितपुर, भक्तपुरका सबै महानगरपालिका तथा नगरपालिका, विराटनगर, वीरगन्ज, पोखरा, भरतपुर महानगरपालिकामा रहेका शैक्षिक संस्थाले ‘भर्चुअल वा वैकल्पिक’ शिक्षण सिकाइका विधि अपनाएर शैक्षिक गतिविधि गराउनुपर्ने निर्णय गरेको छ ।

इटहरी, धरान, जनकपुर, हेटौंडा, बुटवल, घोराही, तुलसीपुर, नेपालगन्ज, धनगढी, भिमदत्त, मेचीनगर, दमक, राजविराज, बनेपा, धुलिखेल, सिद्धार्थनगर, वीरेन्द्र्रनगरलगायत सहरी क्षेत्रमा विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका अनुसार यसअघि नै निर्धारण भइसकेका विद्यालय तथा क्याम्पसका परीक्षा तथा चिकित्सा शिक्षातर्फका अध्ययन जनस्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्ने निर्णय भएको छ ।

मन्त्रिपरिषद् बैठकले होटल तथा रेस्टुरेन्ट बिहान ८ देखि बेलुकी ८ बजेसम्म मात्रै खोल्न पाउने आदेश जारी गरेको छ । कोरोना भाइरस नियन्त्रणसम्बन्धी आदेश जारी गर्दै बैठकले ‘होटल तथा रेस्टुरेन्ट बिहान ८ देखि बेलुकी ८ बजेसम्म मात्रै खुल्ने र त्यसभन्दा अघि र पछि होम डेलिभरी व्यवस्था मात्रै उपलब्ध गराउन’ निर्देशन दिएको छ ।

राष्ट्रिय राजमार्गमा रहेका होटल तथा रेस्टुरेन्टले जनस्वास्थ्य मापदण्ड अपनाएर सेवा दिनुपर्नेछ । सरकारका प्रवक्ता गुरुङले जनस्वास्थ्य मापदण्ड अपनाएर मात्रै होटल तथा रेस्टुरेन्ट खोल्न पाउने जानकारी दिए ।

– २५ सहरका विद्यालयले वैकल्पिक विधि अपनाउनुपर्ने

– विवाह, व्रतबन्धमा २५ भन्दा बढी भेला हुन नपाइने

– राति ८ बजेसम्म मात्रै होटल र रेस्टुरेन्ट खोल्न पाइने

– सवारीमा अनिवार्य मास्क र सेनिटाइजर

– सिनेमा हल, पार्टी प्यालेसमेत बन्द

सरकारले सार्वजनिक यातायात तथा हवाई यातायातका यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, अनिवार्य सेनिटाइजर प्रयोग गर्नुपर्ने आदेश दिएको छ । मास्क नलगाएको यात्रु भएमा चालक वा सहचालक एवं व्यवस्थापकले बढीमा १० रुपैयाँ लिई मास्क उपलब्ध गराउनुपर्ने आदेश भएको छ ।

लामो दूरीका यातायातमा बीच बाटोमा यात्रु थप्न नपाउने र कोरोना नियन्त्रणका लागि जिल्लामा गठित निकायलाई यात्रुको संख्या जानकारी दिनुपर्नेछ ।

हवाई जहाजका यात्रुले मास्क र सेनिटाइजर अनिवार्य व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ । उडानपछि अनिवार्य विमान, यातायात सधान र ब्यागेज ‘डिसइन्फेक्ट’ गर्नुपर्नेछ ।

सरकारले सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाचघर, क्लब, स्विमिङ पुल, फुटसललगायत भीडभाड हुने सबै प्रकारका कार्यक्रम वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थामा सेवा तथा कार्यका लागि विद्युतीय भुक्तानी प्रणाली लागू गर्न सहजीकरण गनुपर्नेछ ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले विवाह वा व्रतबन्धका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भए जनस्वास्थ्य मापदण्ड पालना गर्नेगरी सम्बन्धित प्रमुख जिल्ला अधिकारीको पूर्वस्वीकृति लिएर २५ जनामा नबढ्ने गरी गर्ने निर्णय गरेको छ ।

बैठकले स्वास्थ्य मन्त्रालयले गर्नुपर्ने कामअन्तर्गत रोग रोकथाम, निदान र उपचारका लागि राष्ट्रिय मापदण्ड तथा जनशक्ति परिचालनसहितको प्रतिकार्य योजना जारी गर्नुपर्ने निर्णय गरेको छ ।

अस्पतालमा निश्चित बेड छुट्याएर ‘कोभिड केयर युनिट’मा सेवा दिने सम्बन्धमा आवश्यक आदेश जारी गर्ने निर्णय भएको छ । दुई सयभन्दा बढी बेड क्षमता भएका सरकारी, सामुदायिक, निजी, गैरसरकारी, निजी मेडिकल कलेज, प्रतिष्ठान, अस्पतालसँग संक्रमित उपचारका लागि सेवा सम्झौता गरी अनुगमन र शोधभर्ना भुक्तान गर्ने निर्णयमा उल्लेख छ ।

संक्रमण जोखिम अवस्था हेरी सार्वजनिक, निजी तथा गैरसरकारी स्वास्थ्य संस्था, जनशक्ति, आंैजार, उपकरण, भवन तथा स्थान स्वास्थ्य सेवा र कार्यका लागि प्रयोग गर्न सक्ने आदेश जारी गरिएको छ ।

बैठकले सूचीकृत अस्पताललाई संक्रमित उपचार व्यवस्थापनमा लाग्ने खर्च संस्थागत आइसोलेसन २ हजार, आइसोलेसन ३५ सय र मध्यम जिटल केस उपचारका लागि ७ हजार र गम्भीर बिरामीको आईसीयूमा भेन्टिलेटर उपचारसहितका लागि १५ हजार प्रतिव्यक्ति दिन निर्धारित ढाँचामा प्रत्येक महिना पहिलो सातामा उपचार खर्च शोधभर्ना भुुक्तानी गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी मापदण्ड, योजना तथा आदेश संघीय निकाय, प्रदेश तथा स्थानीय तह, सार्वजनिक तथा निजी संघसंस्थाले अनिवार्य पालना गर्नुपर्नेछ ।

यसैबीच, सोमबार देशभर १ हजार २ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ । ७ हजार ५ सय ४८ जनामा कोरोना परीक्षण भएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर ७ हजार २ सय ५४ आइसोलेसनमा छन् ।

हालसम्म कुल संक्रमित संख्या २ लाख ८५ हजार ९ सय पुगेको छ । यसअघि, आइतबार १ हजार ९६ संक्रमित थपिएका थिए । त्यस्तै, २३ लाख ५२ हजार ५ सय २ जनाको पीसीआर परीक्षण भएको छ । गत २४ घण्टामा आठ संक्रमितको मृत्युसँगै मृतक संख्या ३ हजार ९१ पुगेको छ । हाल ८१ क्वारेन्टाइनमा छन् । राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …