तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कञ्चनपुर-खेतवाट भित्रयाएको अन्नबाली राख्नका लागि परम्परागत रुपमा प्रयोग हुँदै आएका कञ्चनपुरका थारु समुदायका डेंहरी (माटोका भकारी) हराउँदै जान थालेका छन्।

एक पटक बनाए पछि वर्षौंसम्म प्रयोगमा ल्याउन सकिने भकारी थारु समुदायको पछिल्लो पुस्ताले आधुनिकतालाई आत्मसात् गर्न थालेपछि हराउँदै जान थालेका हुन् । पुरानो पुस्ताले सिकाउनका लागि रुचि नराख्ने र नयाँ पुस्ताले सिक्ने चाहना नराख्दा परम्परागतकालदेखि प्रयोग हुँदै आएका भकारी बनाउने कार्य ओझेलमा पर्न थालेको हो ।

डेंहरी बनाउनलाई प्रयोग हुने चिम्टाइलो माटो तालतलैया र वन क्षेत्रबाट ल्याउँदै आएकोमा वन संरक्षणका कारण माटो ल्याउन नदिने गरेकाले समेत बनाउने काममा अवरोधसमेत हुँदै आएको थारु समुदायको भनाइ रहेको छ।

‘परम्परागत घरमा डेंहरीले नै कोठा छुट्टयाउने गरी राखिने गरेको थियो”, बेलडाँडीका कालीप्रसाद चौधरीले भने “परम्परागत घरको सट्टा आधुनिक पक्की घर बनाइन थालेपछि राख्ने ठाउँको अभावमा थारु समुदायको रहनसहनको अभिन्न अङ्गका रुपमा रहेका डेंहरी बनाउन छाड्दै गएका छन् ।”

चिम्टाइलो माटो, धानको पराल र गहुँको भुसको प्रयोग गरी बनाइने परम्परागत भकारी हराउँदै जान थालेकोमा चिन्ता व्यक्त गर्दै उहाँले यसलाई जोगाउनका लागि युवा पुस्तालाई यसबारे पुरानो पुस्ताले सीप हस्तान्तरण गर्नुपर्ने बताए। “टिन, बाँस, निगालो र प्लाष्टिकका भकारी सहजै बजारमा किन्न पाउन थालेपछि समेत डेंहरी बनाउने काममा यसको प्रभाव परेको छ”, उनले भने, “सहजरुपमा बजारमा भकारी खरिद गर्न पाइन थालेपछि माटोको जोहो किन गर्ने भन्ने भावनाले समेत थारु संस्कृतिसँग जोडिएको डेंहरीलाई बिर्सदै जान थालेका छन् ।”

डेंहरी थारु समुदायको संस्कृतिसँग मात्रै नभएर धार्मिक भावनासमेत जोडिएको उहाँको भनाइ रहेको छ । “यसको आफ्नै धार्मिक महत्व छ यो कुरा नयाँ पिँढीलाई बुझाउन आवश्यक छ”, उनले भने। डेंहरी खासगरी महिलाले बनाउने गर्दछन् । परम्परागत यस्ता भकारीमा गहुँ, धान, मकै, तोरी, केराउलगायतका अन्न राख्ने गरिन्छ ।

“यसमा राखिने अन्न वर्षौंसम्म राख्दासमेत रोग किरा लाग्ने र बिग्रने डर हुँदैन”, धनबहादुर कुश्मीले भने, “ढिकीमा कुटेको चामल धेरै वर्षसम्म यसमा राख्दासमेत बिगँ्रदैन ।” उनका अनुसार हाल ग्रामीण क्षेत्रका अधिकांश घरमा बूढापाका महिलाले बनाएर राखेका माटाका भकारी केही घरमा लस्करै राखेको अझै पनि हेर्न सकिन्छ। धेरै थारु समुदायका घरमा त्यस्ता भकारी राख्ने क्रम हराउँदैसमेत गएको छ। डेंहरी धेरै प्रकारको हुने गरेको छ। जसमा डेंहरी, पटाहा डेंहरी, जवरा, चारकुने, गोल र कुठली रहेका छन् ।

पटाहा डेंहरी देवता रहने कोठाको पश्चिममा राखिने गरिएको छ । यसले भान्छा र डिहुरार (देउथान) छुट्टयाउने गर्दछ । अन्य डेंहरीको तुलनामा यो ठूलो हुने गर्दछ । यस डेंहरीलाई कहिल्यै पनि खाली राख्नु नपर्ने र राखेमा अशुभ हुने विश्वास थारु समुदायमा रहेको छ ।

पटाहा डेंहरी फुटेमा, भत्किएमा यसमा राखिएको अन्न चेलीबेटीलाई दिने चलन छ । पटाहा डेंहरीमा पाँच वटा हातको छाप र एउटा फलामको किला गाडेको हुन्छ । त्यो किलामा झोरर्या(झोली) राखी त्यसमा गुरुवाले मन्त्रसहित दिएको अक्षता र धुप राखिएको हुन्छ । डेंहरी विशेष गरी लाम्चो चार कुने विभिन्न आकार र उचाइको बनाइने गरिन्छ । कुठली अरु डेंहरीको तुलनामा सानो हुन्छ । यसलाई पटाहा डेंहरीकै नजिक राखिन्छ।

अन्यलाई आवश्यकताअनुसार घरका विभिन्न ठाउँमा राख्ने गरिन्छ । यसमा विशेष गरी दैनिक आवश्यक पर्ने नुन, दाल, चामलसँगै अन्नको बीउलगायत राख्ने गरिन्छ । डेंहरी अन्न भण्डारको थारु समुदायको प्रमुख वस्तुमध्येकै मानिन्छ। जवरामा धानको भुस राख्ने गरिन्छ । “डेंहरी राखिएको छ भने टाढैबाट थारु समुदायको घर हो भन्ने ठम्याउन सकिन्छ’, लहानु चौधरीले भने, “बनाउन जान्ने थोरै भएकाले थोरैका घरमा मात्रै अब डेंहरी रहेको छ।’

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …