तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । ४ मंसिरमा भएको आमनिर्वाचनमा तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यमा रामचन्द्र पौडेल निर्वाचित भए । उनी राष्ट्रपतिमा निर्वाचित भएपछि १० वैशाखमा सोही क्षेत्रमा उपनिर्वाचन भयो । जारी मतगणनाको मतपरिणामअनुसार तनहुँ १ कांग्रेसले गुमाउने पक्का भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्ले विजयी विजयी भएको घोषणा हुन मात्रै बाँकी छ ।

तनहुँ १ सहित बारा २ र चितवन २ मा उपनिर्वाचन सम्पन्न भयो । तीनवटा क्षेत्रमा भएको उपनिर्वाचनको मतगणना जारी छ । ती कुनै पनि क्षेत्रमा ठूला र पुराना भनिएका दलले अग्रता लिएका छैनन् । चितवन २ मा रास्वपाकै अध्यक्षसमेत रहेका रवि लामिछानेले अग्रता लिएका छन् भने बारा २ मा जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्षसमेत रहेका उम्मेदवार उपेन्द्र यादव र जनमत पार्टी (जपा)का उम्मेदवार शिवचन्द्र कुशवाहाबीचमा कडा प्रतिस्पर्धा छ । यादव र कुशवाहा थोरै मतले अगाडि पछाडि छन् ।

जसपा अध्यक्ष यादवलाई बारा २ मा सत्तारूढ नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को समर्थन छ । जनमतका उम्मेदवार कुशवाहालाई कुनै दलको समर्थन नभए पनि एक्लै यादवलाई कडा टक्कर दिएका छन् ।

चितवन २ मा पनि रास्वपाका उम्मेदवार लामिछाने एक्लै सत्तारूढ दलका उम्मेदवारलाई टक्कर दिएका छन् । कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठलाई सत्तारूढ दलहरूको समर्थन छ ।

तनहुँ १ मा पनि रास्वपा उम्मेदवार वाग्ले एकलै भिडेका हुन् । कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई सत्तारूढ दलहरूको समर्थन छ ।

भर्खरै गठन भएको नयाँ दलले पुराना दलका उम्मेदवारलाई धेरै पछाडि छोडेर अग्रता लिइरहेका छन् । गाउँगाउँमा कमिटी भएका कांग्रेस, एमाले, माओवादी केन्द्रजस्ता पार्टीका उम्मेदवार संगठन नै नभएका नयाँ पार्टीका उम्मेदवार अगाडि नराम्रोसँग पराजित हुने संकेत देखिँदै छ ।

कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपाजस्ता दलले गठबन्धन बनाएर निर्वाचनमा सहभागी हुँदासमेत नयाँ दलका अगाडि टिक्न सक्ने अवस्था छैन । यो घटनाले मतदाताले पुराना दललाई पत्याउन छोडेर नयाँ दल रोज्न थालेको स्पष्ट देखिन्छ ।

राजनीतिक विश्लेषक प्राडा लोकराज बरालले सर्वसाधारण मुलुकमा परिवर्तन खाजेकाले आफ्नो मत पनि परिवर्तन गरेको बताए । समृद्धि, सुशासन, रोजगारलगायतका विषयमा पुराना दलबाट सम्भव नदेखेका आमजनताले अब स्वतच्छ छवि भएका युवाले केही नयाँ काम गर्छन् कि भन्ने विश्वासले आफ्नो मत दिने परम्परा पनि तोडेको बराल बताउँछन् ।

लामो समयसम्म तिनै पार्टी तिनै नेताले जनताका लागि केही गर्न नसकेको धारणा राख्दै बराल भन्छन्, ‘पुराना पार्टी राजनीतिक परिवर्तन गर्न त सफल भए तर समृद्धिका सवालमा चुके । पुराना दलबाट आर्थिक समृद्धि, सुशासन अब सम्भव छैन भन्ने सर्वसाधारणले पनि बुझे,’ बरालले अगाडि भने, ‘नयाँ दल, स्वच्छ छविका युवाले देशमा अब केही गर्छन् कि भन्ने बुझाइ देखियो । त्यसैले उनीहरूले समृद्धि, सुशासन, रोजगारका लागि स्वच्छ छवि भएका युवा नेतालाई रोजिरहेका छन् ।’

उनका अनुसार पुराना दलका नेताले कामभन्दा बढी कुरा गरेको बताउँदै उनले भ्रष्टाचार, अनियमितता बढ्दै गइरहेकाले सचेत युवा निर्वाचनका बेला सजग भएको देखिन्छ । मुलुकमा भ्रष्टाचार, अनियमिततामा तिनै दलका नेताको संलग्नता तथा संरक्षण देखिएकाले समृद्धि, विकास उनीहरूबाट सम्भव नदेखिएकाले युवा नेताले अब केही नयाँ गर्नेमा सर्वसाधारण विश्वस्त रहेको बरालको बुझाइ छ ।

राजनीतिक विश्लेषक देवेन्द्र मिश्रले ठूला दलका ठूला नेता नै बिग्रेको आरोप लगाए । निर्वाचनका बेला घोषणा गरेका प्रतिबद्धताअनुसार सरकारमा पुगेपछि काम नगरेकाले सर्वसाधारणको विश्वास उनीहरूमाथि नदेखिएको उनी बताउँछन् । सरकारमा पुगेपछि देश र जनताका लागि काम गर्नुभन्दा बढी कसरी हुन्छ पैसा कमाउने विषयमा नेताहरू केन्द्रित भएपछि भ्रष्टाचार तथा अनियमितता पनि बढ्दै गएको कुरा सर्वसाधारणले समेत बुझेका छन् ।

‘ठूला दल र नेताप्रतिको सर्वसाधारणको रुचि घटेको छ । उनीहरूको निर्वाचनका बेला घोषणा गरेको प्रतिबद्धतापत्र अनुसार काम गरेनन् । सत्तामा जाने र पैसा कमाउने, यो कुरा त सर्वसाधारणले समेत बुझेका छन्,’ मिश्रले भने, ‘हाम्रा नेताहरूको व्यवहार, बोली, कार्यशैली सबै विषयमा परिवर्तनको आवश्यकता छ । नभए सर्वसाधारणले आफ्नो मत परिवर्तन गर्न सक्छन् भन्ने कुराको सन्देश उपनिर्वाचनले दिएको छ ।’

तीनवटा क्षेत्रमा भएको उपनिर्वाचनमा सर्वसाधारणले आफ्नो मत परिवर्तन गर्ने क्रम सुरु गरेको बताउँदै उनले आउने दिनमा ठूला दलका नेता सुध्रिनुपर्ने जनादेश पनि भएको बताए । ‘अब गफ होइन, काम चाहियो । भ्रष्टाचार होइन, समृद्धि चाहियो । भ्रष्टाचारीलाई संरक्षण होइन, कारबाही गर । आफ्नो कार्यशैलीमा सुधार ल्याऊ, देश र जनताको हितमा काम गर भन्ने जनादेश पनि मतदाताले दिएका छन्,’ मिश्रले भने ।

संविधानसभाका सदस्यसमेत रहेका राजनीतिक विश्लेषक श्याम श्रेष्ठले उपनिर्वाचनमा मतदाताले ठूला दललाई दण्ड दिएको बताउँछन् । ठूला दलका नेतृत्व परिवर्तन नभए वा यही शैलीमा अगाडि बढे सर्वसाधारणले विकल्प खोज्ने क्रममा योभन्दा नराम्रो परिणाम बेहोर्नुपर्ने उनले बताए ।

‘पुराना दल र नेताप्रतिको वितृष्णा चर्को रूपमा बढ्दो छ । विकल्प खोज्ने क्रममा नयाँ पुस्ताका युवा नेता र नयाँ पार्टीलाई सर्वसाधारणले रोजिरहेका छन् । आक्रोशित जनताले प्रतीकात्मक रूपमा आफ्नो मत परिवर्तन गरे,’ श्रेष्ठले भने, ‘टेस्टेड भइसकेका नेताबाट परिवर्तन गर्न गाह्रो छ । जनताले टेस्ट गरिसेका छन, यिनै नेतृत्वबाट सर्वसाधारणले समृद्धिको सम्भावना देखेका छैनन् । विदेशीको इसारामा चल्ने नेतृत्व परिवर्तन हुनैपर्छ । यही नेतृत्वबाट केही हुनेवाला छैन ।’

मुलुक र आमजनताको चाहना, आवश्यकता के हो भन्ने कुरा ठूला दलका नेता बिर्सिसकेको आरोप लगाउँदै उनीहरू विदेशीको एजेन्डा बोकेर हिँडिरहेको उनले बताए । पटक÷पटक उही नेताहरू सरकारमा पुगे पनि काम राम्रो नगरेकाले विकल्प खोज्ने क्रममा सर्वसाधारणले समेत युवा नेता रोजिरहेको श्रेष्ठले बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा उपनिर्वाचनमा ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको स्वीकार गरेका छन् । सोमबार संसद् भवनमा बसेको संसदीय दलको बैठकमा सभापति देउवाले उपनिर्वाचनमा ठूला पार्टीप्रति जनतामा त्यति चासो नभएको देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता औंल्याएका छन् ।

केन्द्रदेखि प्रदेश, जिल्ला, पालिकासम्म पार्टी संगठन र नेताहरूको कार्यशैलीमा व्यापक परिवर्तनको आवश्यकता रहेको बुझाइ नेताहरूको समेत रहेको छ । यही शैलीमा अगाडि बढे आफूहरू आउने दिनमा बढारिने निश्चित रहेको बुझाइ उनीहरूको छ ।राजधानि दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …