तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। नयाँ संविधान जारी भएपछि प्रतिनिधि सभा र प्रदेश सभाको अवधिका लागि निर्वाचन प्रक्रिया आइतबार सुरु हुँदै छ । नयाँ जनप्रतिनिधि चयनका लागि राजनीतिक दलहरूले आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्दै छ ।  प्रतिनिधि चयनको तयारी निर्वाचन आयोगले दुई महिना अगाडिदेखि नै सुरु गरिसकेको छ तर बन्दसूची पेस गर्ने समयदेखि मतदानसम्म आइतबारदेखि ६३ दिन बाँकी छ । 

राजनीतिक दलहरूलाई समानुपातिकतर्फको बन्दसूचीमा नाम पेस गर्न असोज २ र ३ गते दुई दिनको समय दिइएको छ । आगामी चुनावबाट सङ्घीय संसद्मा समानुपातिक निर्वाचन प्रणालीबाट ११० र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ १६५ जना सदस्य निर्वाचित हुनेछन् । 

राजनीतिक दलहरूले बन्दसूचीमा उम्मेदवारको नाम राख्दा निर्वाचित हुने कुल सदस्य सङ्ख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनेगरी बन्दसूची तयार गर्नुपर्नेछ । जसमा ५० प्रतिशत अनिवार्य रूपमा महिला उम्मेदवार हुनुपर्छ । त्यसैगरी समावेशी सिद्धान्तबमोजिम उम्मेदवारको नाम पेस गर्नुपर्ने प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनमा व्यवस्था छ । 

राजनीतिक दलहरूलाई समानुपातिकतर्फको बन्दसूचीमा नाम पेस गर्न असोज २ र ३ गते दुई दिनको समय दिइएको छ ।  

समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची पेस गर्नेदेखि सबै प्रक्रिया निर्वाचन आयोगमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सम्पन्न हुनेछ । राजनीतिक दलले बन्दसूचीमा नाम पेस गरेको केही दिनभित्रै आयोगले निर्वाचन आचारसंहितासमेत लागू गर्ने तयारी गरेको छ ।  प्रत्यक्षतर्फको निर्वाचन प्रक्रिया सुरु गर्न आयोगले असोज ११ गते निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृत नियुक्त गर्नेछ । असोज २३ गतेदेखि प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम सुरु हुनेछ । उक्त दिन नै मनोनयन दर्ता सुरु गर्नका लागि असोज २१ गते प्रत्येक निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।  

उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरणपछि राजनीतिक दल तथा उम्मेदवारहरू निर्वाचन प्रचार प्रसारमा जुट्नेछन् । कात्तिक २५ गतेभित्र आयोगले अधिकांश मतपत्र छाप्ने कार्य टुङ्ग्याउने, मतदान सामग्री ढुवानी गर्ने, मतदान अधिकृत र कर्मचारी नियुक्त गर्नेगरी निर्वाचन तालिका छ । 

मङ्सिर ४ गते बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म हुने मतदानभन्दा ४८ घण्टाअगाडि मङ्सिर १ गते राति १२ बजेदेखि निर्वाचन प्रचार प्रसारमा रोक लगाइनेछ । आयोगले मतदान सकिएलगत्तै प्रक्रिया पूरा गरेर मङ्सिर ४ गतेदेखि नै मतगणना सुरु गर्ने जनाएको छ । 

निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएपछि आयोगले निर्वाचन परिणामसहितको प्रतिवेदन नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष पठाउनेछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन आह्वान गरेपछि प्रतिनिधि सभाको नयाँ कार्यकाल सुरु हुनेछ । गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …