तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

अनुसा थापा

समाजको वातावरण खलल पार्न र जनसमुदायमा विकृति फैलाउने खालका क्रियाकलाप कुनै पनि नागरिकले गर्न पाउदैंन् । भड्किलो, उत्तेजना फैलाउने र अवाञ्छित गतिविधि गर्न कानूनले नै बन्देज लगाएको छ । तर, कानूनको धजिया उडाएर समुदायको ख्याल नै नगरीकन टिकटक बनाउने क्रम बढेको छ । समाजले पचाउन नसक्ने खालका टिकटक अहिले छ्याप्छ्याप्ती बजारमा आएको छ । अश्लिल भिडियो तथा शब्दहरुको प्रयोग गरेर टिकटक बनाउने, आफ्नो शारीरिक प्रर्दशन गर्नेजस्ता हर्कत टिकटकमा बढेको छ । विश्व प्रख्यात चिनियाँ एप टिकटकले नेपालमा बेतिथिको बाढी ल्याएको छ ।

सकारात्मकभन्दा नकारात्मक सामग्रीहरु बढी टिकटकमा पाइन्छ । टिकटक बनाउने क्रममा कतिपयको ज्यानसमेत गएको छ । घरपरिवारबीच दरार आएको छ । टिकटकमा जथाभावी भिडियो हाल्दा यसले गलत प्रचार गरिरहेको छ । यता, टिकटक नेपाली बनाउछन् तर फाइदा भने चीनले मात्र लिइरहेको छ । नेपालीहरु आफ्नो अमूल्य समय खेर फालेर टिकटक बनाउनेमै व्यस्त छन् । सिर्जनशील ठाँउमा दिमाग लगाउनुपर्ने युवाहरु टिकटकमै झुत्तिएका छन् । पछिल्लो समय भुरादेखि बुढासम्म सबै जना टिकटकमै व्यस्त देखिन्छन् । आफ्नो कामधन्दा छोडेर टिकटक बनाउने र समय खेर फाल्ने कामले हाम्रो समाजमा व्यापकता पाएको छ ।

पढाइतिर ध्यान हुनुपर्ने बालबालिका पनि अहिले टिकटकमै केन्द्रीत छन् । भोलिका भविष्यका कर्णधारहरु पढ्न छोडेर टिकटक बनाउन तिर लागेपछि मुलुकको रुप कसरी फेरिएला ? टिकटकले नेपाली जनतालाई बिगारेको छ । चीन र भारतले टिकटकमा प्रतिबन्ध लगाइसक्दा नेपाल सरकार भने यसलाई छाडा छोडेर तमासा हेरेर बसिरहेको छ । चीनले एप बनायो तर त्यो एपले हामीलाई बिगार्यो । टिकटकले यत्रो विकृति फैलाईरहँदा गृह मन्त्रालयको यसतर्फ ध्यान गएको छैन् । टिकटकले सम्बन्ध लथालुङ्ग पारेको, समाजमा विकृति ल्याएको देख्दा पनि सरकार मौन छ ।

समाजमा अश्लिलता फैलाउने व्यक्तिलाई कारबाही गर्नका निम्ति गृहमन्त्री बालकृष्ण खाँणले सम्बन्धित निकायलाई निर्देशन दिएको छैन् । हालमात्रै टिकटकमा ऋषि धमलाकी पत्नी एलिजा गौतमको ‘डगी डान्स’ अत्यन्तै भाइरल बन्यो । समाजले पचाउन सक्दैन् भन्ने थाहा हुँदाहुदै पनि तीजको समयमा एलिजाले रमिता देखाइन् । उनको सिको गर्दै राष्ट्रसेवक भनिने सरकारी कर्मचारीहरुले समेत कार्यालयको पोशाकमै उक्त नाँच देखाए । अहिले टिकटकभरि रातो सारी भिरेर कालो चश्मा लगाएका महिलाहरुले उक्त डान्स गरिरहेको देखिन्छ ।

आफ्नो मानमर्यादा र संस्कृति बिर्सेर यस्तो खालको क्रियाकलाप गर्नाले समाजलाई कतातिर लगिरहेको कसैले चासो छैन् । एकछिनको रमाइलोको लागि अरुलाई कति असर पारिरहेको भनेर कसैले सोचविचार गरेका छैनन् । धेरै लाइक र कमेण्टको चक्करमा जथाभावी भिडियो हाल्नेलाई सरकारले कारबाही गर्नुपर्छ । समाजको वातावरण खलल पार्ने हक कसैलाई पनि छैन् । टिकटकमा जथाभावी बोल्ने र नाँच्नेविरुद्ध साइबर ब्यूरो कानूनी उपचारमा जानुपर्छ । टिकटकमा भएको अश्लिलता हेर्न नसकेर टिकटक प्रतिबन्धको माग उठेको छ । टिकटक बन्द गर्नुपर्छ भन्दै युवाहरु सडकमा उत्रिसकेका छन् ।

टिकटकको विरोधमा यतिखेर चौतर्फी माग उठेपनि सरकारले किन सुनुवाई गर्दैन ? टिकटकले गर्दा यत्रो विकृति फैलिँदा पनि सरकार किन आँखा चिम्लिएर बसेको छ ? कि त सरकार नै नेपाल नै बदनाम गराउन जुटेको छ ? टिकटकमा नेपालीले हालेको अश्लिल भिडियो विश्वभर प्रर्दशन भइरहेको छ । उनीहरुले बोलेका शब्द सबैले सुनिरहेका छन् । उनीहरुको यस्तो हर्कतको मुलुकको शानमाथि गम्भीर दाग लागेको छ । नेपालीहरु नै नेपालको बेइज्जत गर्नमा तुलिएका छन् । बनाउन पायो भन्दैमा जे पनि बनाउन त मिल्दैन नि ।

आफ्नो घरपरिवार, सम्बन्ध, नातागोता र समाजको ख्याल नै नगरी टिकटक बनाउनुले ठूलो क्षति निम्त्याएको छ । जसले गर्दा कि टिकटक तत्कालै बन्द गर्नुपर्छ कि त कडा कानून बनाउनुपर्छ । कस्तो खालको भिडियो हाल्न मिल्ने–नमिल्ने सरकारले छुट्याउनुदिनुपर्छ । आफू चर्चामा आउनका लागि समाज बिर्सिन मिल्दैन् । समाजलाई सभ्य बनाउने हो भने पहिले टिकटकमा कडा कानुन लागू गर्नुपर्छ । टिकटकले ल्याएको अश्लिलता रोक्नुपर्छ । समाजमा उत्तेजना फैलाउने क्रियाकलाप गर्नलाई सरकारले छुट दिएको छ ? जे मनलाग्यो त्यही गर्नलाई कानूनले दिन्छ ?

यो त सानालाई ऐन र ठुलालाई चैनजस्तो भएन र ? आफ्नो घरपरिवारभित्र के भइरहेको घरका ठूलाबडाले हेर्नुपर्यो । उनीहरुलाई सही ट्रयाकमा ल्याउन घरको ठूलाले भूमिका निभाउनुपर्छ । घरका ठूलाले सक्दैनन् भने सरकार एक्सनमा आउनुपर्यो । पूराना ऐनकानूनमा कारबाही गर्नु विषय उल्लेख छैन् भने संशोधन गरेर नयाँ बनाऊ । तर, समाज भड्काउने काम बन्द गरौं । समाजले राम्रो होइन् नराम्रो कुरा मात्र सिकिरहेको छ । सभ्य बन्नुपर्ने जनता असभ्य बन्दै गइरहेका छन् । मुलुक उकालोतिर नभई ओरोलो लागिरहेको छ । टिकटकमा शारीरिक प्रर्दशन गरिरहँदा महिलाहरु थप असुरक्षित भइरहेका छन् ।

शरीर त प्रर्दशन गर्नका लागि होइन् । विकासमा लाग्नुपर्ने युवाहरु टिकटकमा झुत्तिँदा मुलुक कसरी उमो लाग्छ । पछिल्लो समय बलात्कारका घटना घट्नुमा टिकटकको ठूलो हात छ । हाम्रो समाज अझै पनि असुरक्षित छ भन्ने कुरा थाहा हुँदाहुदैं पनि अंग प्रर्दशन गरिन्छ । पहिलेपहिले नेपालमा बलात्कारका घटनाहरु सायदै सुनिन्थ्यो होला । तर, अहिले दिनहुजसो बलात्कारका घटनाहरु सार्वजनिक भइरहेका छन् । पछिल्लो समय आएका गति, भिडियो र सामाजिक सञ्जालले यस्ता क्रियाकलापलाई थप हावा दिइरहेको छ । भुसमा आगो फैलिएसरह नकारात्मक गतिविधि छिनमा फैलिइरहेको छ ।

यसमा नेपाली कलाकार र गायक–गायिकाको पनि ठूलो हात छ । कलाकारहरु केही सोचविचार नै नगरी फिल्म खेल्छन् । गायक–गायिकाहरु फोहोरी शब्दको प्रयोग नगरीकन गीत गाउनै सक्दैनन् । यसअघि कोमल वलीले ‘पोइला जान पाऊँ’ भन्दै गति गाइन् उनलाई नेकपा एमालेले सांसद् बनाइदियो । यस्तो गीत गाएर समाजमा विकृति फैलाउनेलाई कारबाही गर्नुपर्थ्यो तर सिधैं साँसद् बनाइयो । फोहोरी गीत गायो र अश्लिल भिडियो बनायो भने चर्चामा आइन्छ भन्ने मानसिकता भएको व्यक्तिहरु भएको समाज कसरी अघि बढ्छ ?

कलाकार ज्योति मगरलाई नचिन्ने सायदै कोही होलान् । उनलाई उनको कलाकारिताभन्दा पनि छोटो पहिरन र अश्लिल नाँचका कारण सबैले चिन्छन् । तर, खोइ त उनीहरुलाई कारबाही ? यस्ता कलाकारहरुलाई कतिञ्जेल छाडा छोड्ने ? कलाकारकै कारणले नेपालको बद्नाम भएको छ । मुलुकका गहना भनिनुपर्नेहरु कंलक साबित भएका छन् । जनतालाई स्वतन्त्रता दिने भन्दैमा जे गर्न पनि दिन मिल्दैन् । एउटालाई स्वतन्त्रता दिँदा अर्कोको हनन नहोस् । नेपाल संविधानले स्वतन्त्रता दिएको छ तर आफ्नो स्वतन्त्रता प्रयोग गर्दा अरुको हनन नहोस् भनेर स्पष्ट रुपमा लेखेको पनि छ ।

अभिभावकहरु पनि अहिलेदेखि नै जिम्मेवार बन्नुपर्छ । बाबुआमा आफैं त बिग्रिरहेका छन् भने छोराछोरीलाई पनि बिगारेका छन् । एकछिन रमाइलोले आफ्नो परिवारलाई असर पारेको त छैन् भने घरका जिम्मेवारहरुले सोच्नुपर्दैन् ? बाबुआमाले छोराछोरीलाई गलत पाठ सिकाइरहेका छन् । आफ्नो परिवारले आफै आगो सल्काउने काम भइरहेको छ । जसले घरपरिवार त सोच्दैन् उसले समाजको बारेमा के सोच्ला ? बालबालिकालाई पढाउन, लेखाउन छोडेर अभिभावक आफू त टिकटक बनाउछन्, छोराछोरीलाई पनि त्यही सिकाउछन् ।

पढेलेखेकैबाट कानून मिच्ने काम भएको छ । अशिक्षित जनताले त अवश्य पनि टिकटक चलाउन जान्दैनन् । शिक्षितहरु नै टिकटकतिर झुन्डिएपछि देश र समाजले के आशा गर्ने ? टिकटक बनाउनका लागि मात्र शिक्षाको उपयोग भएको छ । यत्रो लगानी गरेर राज्यले पढाएको टिकटक बनाउनका निमित्त अवश्य पनि होइन् होला । पढेलेखेका जनतालाई त कानूनको विषयमा अलिकति भएपनि जानकारी हुनुपर्ने हो ? समाजमा बसेपछि के गर्न हुने र गर्न नहुने छुट्याउन सक्नुपर्ने हो । तर, यति पनि छुट्याउन नसक्नेलाई कसरी शिक्षित भन्ने ?

पछिल्लो समय महिलाहरुले आफ्नो संस्कृति बिर्सिएका छन् । टिकटक चलाएर जनताले के सिके ? समाजलाई यसले के फाइदा पुर्यायो ? टिकटकमा राम्रोले होइन् नराम्रो सामग्रीले प्राथमिकता पायो । टिकटकमा भएको बेतिथि रोक्न सरकारको तत्कालै ध्यान जानुपर्छ । विकृति–विसङ्गतिलाई बढावा दिने काम कसैले पनि नगरौं । आजको रमाइलोले भोलि ठूलो दुर्घटना निम्त्याउन सक्छ । जनतालाई टिकटकको लत लागिसकेको छ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …