तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अब आजको १०८औं दिन ‘एकै दिन एकै चरण’मा गर्नेगरी ४ मंसिरका लागि मिति तोकेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले आगामी ४ मंसिरमा १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा चुनाव मिति तोकेको हो ।

निर्वाचन आयोगले भने २ मंसिरमा निर्वाचन गर्नेगरी सरकारसमक्ष मिति प्रस्ताव गरेको थियो । आयोगले प्रस्ताव गरेको २८औं दिन बिहीबार सरकारले मिति तोकेको हो । निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचनसम्बन्धी कानुनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन मिति आयोगको परामर्शमा नेपाल सरकारले तोक्ने व्यवस्था गरेको छ ।

– अबको १०८औं दिन मतदान

– आजबाट नयाँ नामावली दर्ता बन्द

यसअघि, बुधबार बसेको सत्तारूढ गठबन्धन बैठकले ४ मंसिरमा निर्वाचन गर्ने सहमति गरेको थियो । आयोगले निर्वाचन घोषणा भएपछि पत्रकार सम्मेलन गर्दै पर्याप्त समय रहेको बताएको छ । आयोगले यसअघि निर्वाचनका लागि तयारी गर्न १ सय २० दिनको समय आवश्यक पर्ने बताउँदै आएको थियो ।

पत्रकार सम्मेलनमार्फत आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले सरकारले तोकेको समय निर्वाचनका लागि पर्याप्त रहेको र त्यसदिन निर्वाचन गर्न आयोगसक्षम रहेको दाबीसमेत गरे । ‘आयोगले निर्वाचनका लागि १ सय २० दिनको समय आवश्यक पर्ने सुझाएको थियो, सरकारले तोकेको समय हेर्दा निर्वाचनका लागि पर्याप्त रहेको र सो दिनमा निर्वाचन गर्न आयोग सक्षम रहेको छ,’ आयोग प्रवक्ता पौडेलले भने ।

निर्वाचनका लागि १० अर्ब खर्च हुन सक्ने भन्दै आयोगले सरकारसमक्ष प्रारम्भिक खर्चको विवरणसमेत बुझाइसकेको छ । २०७४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा आयोग, जिल्ला निर्वाचन कार्यालय ७७ र निर्वाचन अधिकृत कार्यालय १ सय ६५ समेत गरी ७ अर्ब ८० करोड खर्च भएको थियो ।

आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार देशका ७७ जिल्लाका निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता भइरहेको छ भने निर्वाचन घोषणा भइसकेका कारण अब शुक्रबारबाट सो कार्य रोकिनेछ ।

पछिल्लोपटक स्थानीय तह निर्वाचनपछि १ असारबाट सुरु नामावली दर्ताक्रममा बिहीबार दिउँसोसम्म ४ लाख ४८ हजार ५ सय १६ नयाँ मतदाता थप भएका छन् । जसअनुसार बिहीबार दिउँसोसम्म प्रदेश १ मा ९० हजार २ सय ७५, मधेस प्रदेशमा ८३ हजार ३ सय ६, बाग्मती प्रदेशमा १ लाख ४ हजार ४ सय ७, गण्डकीमा ४५ हजार ३९, लुम्बिनीमा ७० हजार ६६, कर्णालीमा १८ हजार ६ सय ८६ र सुदूरपश्चिम प्रदेशमा ३६ हजार ७ सय ३७ नयाँ मतदाता थपिएका छन् ।

आयोगका अनुसार गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनअघि आयोगमा कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताको नाम दर्ता छ । जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० महिला र १ सय ८३ अन्य मतदाता छन् । राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …