तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । जनार्दन शर्मा अर्थमन्त्री भएर फेरि मन्त्रालय फर्किएसँगै अहिले नयाँ अर्थ सचिवको खोजी सुरु भएको छ । केही अनुभवी र सिनियर सचिव भने अर्थमन्त्री शर्मासँग काम गर्न अनिच्छुक देखिएकाले त्यसका लागि खासै दौडधुप गरेका छैनन् । निजामती क्षेत्रमा अर्थसचिव सबैभन्दा आकर्षकमध्येको पद हो ।

अर्थमन्त्री शर्माले बजेटमा करको दर हेरफेर गर्न गैरकानुनी व्यक्तिलाई संलग्न गराएको आरोप लागेसँगै अर्थ सचिव मधुकुमार मरासिनीले अर्थमन्त्री शर्माले पदबाट राजीनामा नदिएसम्म आफू मन्त्रालय नफर्किने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएर बिदामा बसेका थिए । अर्थसचिव मरासिनी अर्थमन्त्री शर्मासँग काम गर्न अनिच्छुक देखिएपछि सरकारले नयाँ अर्थ सचिवको खोजी गरेको हो ।

नयाँ अर्थ सचिव खोजिदै

अर्थमन्त्री शर्मामाथि ११ सदस्यीय संसदीय विशेष छानबिन समिति नै बनाएर छानबिन प्रतिवेदन तयार गर्दा अर्थ मन्त्रालयको सीसीटिभी फुटेमा बजेट सार्वजनिक हुने अघिल्लो दिन गत १४ जेठको राति अन्य व्यक्ति प्रवेश गराइएको नदेखिएपछि शर्माले बहुमतबाट सफाइ पाएका थिए तर सो समितिमा रहेका एमालेका सांसदले भने असहमति जनाउँदै फरक मत राखेका थिए ।

शर्मा पुनः अर्थमन्त्री भएर मन्त्रालय आएपछि अर्थसचिव मधुकुमार मरासिनी अर्थ मन्त्रालयमा नआएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

मन्त्री शर्मासँग काम गर्न सचिव मरासिनी अनिच्छुक देखिएपछि नयाँ सचिवको खोजी थालिएको हो । अर्थसचिवमा आउने व्यक्ति प्रधानमन्त्री शेरबहादुर देउवा र उनीनिकटका उच्च राजनीतिक नेतृत्वले रुचाएको व्यक्ति हुने स्रोतको दाबी छ ।

अब नयाँ अर्थ सचिवका रूपमा डा. वैकुण्ठ अर्याल, केवल भण्डारी र हाल अर्थ मन्त्रालयमै रहेका राजस्व सचिव कृष्णहरि पुष्कर तथा उद्योग सचिव अर्जुनप्रसाद पोखरेलको नाम चर्चामा छ । तर, अहिलेको अवस्थामा अर्थमन्त्री शर्माले भने आफ्नो पहिलो रोजाइमा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्याललाई राखेको शर्मा निकट स्रोतले जानकारी दिएको छ ।

यसरी चर्चामा रहेका मध्ये अर्थमन्त्री शर्माले अर्याललाई अर्थ सचिवमा ल्याउने तयारी गरेको अर्थ मन्त्रालय स्रोतले बताएको छ । तत्कालीन समयमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको जोडबलमा मरासिनी अर्थसचिव भएका थिए ।

गत आइतबार मन्त्रालयमा फर्किएका अर्थमन्त्री शर्मालाई राजस्व सचिव पुष्करलगायतका सबै कर्मचारीले स्वागत गरेका थिए । तर, त्यसदिन पनि अर्थसचिव मरासिनी भने शर्माको स्वागतमा उपस्थित थिएनन् ।

चालू आर्थिक वर्ष २०७९÷८० को बजेट सार्वजनिक हुने अघिल्लो दिन गत १४ जेठको राति अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय छिराएर करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले गत २२ असारमा अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले गत शुक्रबार बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको भन्दै अपूर्ण प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा उनको कुनै दोष नरहेको भनेर योजनाबद्ध रूपमा चोख्याइएको थियो । राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …