तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । दैनिक उपभोग्य वस्तुमा सतप्रतिशत गरिएको मूल्यवृद्धिका कारण जनता आहत बनेका छन् । हरेक साताजस्तै बढिरहेको चर्को मूल्यवृद्धिको मारमा सर्वसाधारण परेका छन् ।

जनताको ढाड सेक्नेगरी सरकारले पछिल्लोपटक आइतबार राति १२ बजेदखि लागू हुनेगरी पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेको छ ।

मट्टितेल र डिजलको भाउ एकैपटक प्रतिलिटर २७ रुपैयाँले बढाएर १ सय ९२ पु¥याइएको छ । पेट्रोलको मूल्य प्रतिलिटर २१ बढाएर १ सय ९९ पु¥याइएको छ । एक महिनाको अवधिमा मात्र पेट्रोलियम पदार्थको भाउ ५९ रुपैयाँले बढाइएको छ ।

खाना पकाउने एलपी ग्यासको भाउ प्रतिसिलिन्डर ३ सयले बढाएर प्रतिसिलिन्डर १८ सय पु-याइएको छ । आमजनताको अपेक्षाविपरीत सरकारले २०६२÷६३ को जनआन्दोलनपछि प्राप्त गणतन्त्रअघि प्रतिलिटर ५१ रुपैयाँमा पाइने पेट्रोलको भाउ निरन्तर बढाएर अहिले प्रतिलिटर १ सय ९९ पु-याइएको छ ।

– एकै महिनामा पेट्रोलमा ५९ रुपैयाँ बढ्यो

– एलपी ग्यास प्रतिसिलिन्डर ३ सय वृद्धि

– गणतन्त्रअघि ५१ को पेट्रोल अहिले १९९ रुपैयाँ

– मूल्यवृद्धि नियन्त्रणमा सरकार निरीह

– सरकार संवेदनशील नबनेको उपभोक्ताको गुनासो

– गाडी र हवाई भाडासमेत

– पेट्रोलियममा १०४ प्रतिशतसम्म कर असुली

आमनागरिकको ढाड सेक्नेगरी बढाइएको चर्को मूल्यवृद्धि नियन्त्रणमा सरकार असफलजस्तै देखिएको आमउपभोक्ताको गुनासो छ ।

नेपाल आयल निगमले पेट्रोल तथा डिजेलको मूल्य भारी वृद्धि गरेसँगै सोमबारदेखि नै लागू हुनेगरी सार्वजनिक यातायातको भाडा, आन्तरिक हवाई भाडा पनि बढेको छ । सवारी साधनको भाडा, हवाई भाडादर मात्र नभएर अहिले हरेक वस्तुको ढुवानी समेत बढेको छ ।

ढुवानी भाडादरसँगै हाल दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि चरम रूपमा बढेकाले आमउपभोक्तालाई गम्भीर असर परेको उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाले बताएका छन् । उनीहरूले तत्काल सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गरेका छन्् ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले फितलो अनुगमन र सरकारी अकमर्यताले अस्वाभाविक रूपमा मूल्यवृद्धि भइरहेको बताउ“छन् । यस्तो अत्यधिक मूल्यवृद्धिले गरिखाने न्यून आय भएका मजदुरलाई एकदमै मर्का पारेको उनी सुनाउ“छन् ।

हाल, रसिया र युक्रेनबीचको आन्तरिक झगडालाई बहाना बनाएर निरन्तर बढेको पेट्रोलियम पदार्थको भाउ वृद्धि मात्र नभएर विगत डेढ वर्ष अघिदेखि नै खाने तेल, चिनी, गेडागुढी, दैनिक उपभोग्यवस्तुलगायत हरेक वस्तुको मूल्य बढाइँदा पनि सरकार मुकदर्शक मात्र भएकाले अहिले आमउपभोक्ताले यस्तो चरम मूल्यवृद्धिको मार खेप्न बाध्य हुनुपरेको बताए ।

अहिले सरकारमा रहेका राजनीतिक दलका नेता पनि समाजवादी अर्थतन्त्र अपनाएर समतामूलक मुलुक निर्माण गर्ने भन्दै आए पनि आफूलाई फाइदा हुने खालको पुँजिवादी अर्थतन्त्र अपनाउने गरेकाले आमउपभोक्तामाथि अहिले यो अवस्था आइलागेको उनको दाबी छ ।

आफूले विगत ४० वर्षदेखि उपभोक्ता अधिकारकै क्षेत्रमा निरन्तर काम गरेको जानकारी गराउँदै उनले पछिल्लो समयमा अस्वाभाविक रूपमा बढेको महँगी सबैभन्दा बढी भएको दाबी गरे ।

हाल विद्यार्थीले गर्दै आएको आन्दोलन पनि केवल राजनीतिक फाइदाका लागि मात्र भएको उनको टिप्पणी छ । यसअघि २०७६ सालमा विश्वभर नै पेट्रोलियम पदार्थको मूल्य धेरै नै घटेको स्मरण गर्दै उनले नेपालमा भने त्यतिबेला पनि मूल्य नघटाइएको बताए ।

उनले हाल अत्यधिक रूपमा बढाइएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि रसिया र युक्रेनबीचको द्वन्द्वका कारण नभई सरकारको असक्षमता नै भएको आरोप लगाए ।

सरकारको निकम्मापन र अदूरदर्शीता नीतिले गर्दा हाल पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको दाबी गर्दै उनले विश्वमै सबैभन्दा बढी पेट्रोलियम पदार्थमा कर र शुल्क लिने देश नेपाल भएको समेत जानकारी गराए ।

उनले १ लिटर पेट्रोलियम पदार्थमा १ सय ४ प्रतिशतसम्म कर असुल्दा पनि हाल कुनै राजनीतिक दल र कुनै पनि भ्रातृसंगठनले बोल्न नसक्नुमा आफूलाई अचम्म लागेको बताए ।

यातायात व्यवसायीले सोमबारदेखि नै भाडा बढाएर खुसी भएको भन्दै उनले जिविका गरेर खाने नागरिलाई मूल्यवृद्धिले समस्या सुरु भएको बताए । कमाइको आम्दानी नबढेको अवस्थामा यसरी मूल्य वृद्धि र सवारी साधनको भाडा बढेपछि सामान्य नागरिक समस्यामा परेको उनको चिन्ता छ । उनले पेट्रोलियम पदार्थको मूल्य बढेपछि सबै क्षेत्रमा असर पर्ने बताए । हाल दुई÷चार जना व्यापारिक घरानाले देशलाई नै आफ्नो हातमा लिएको टिप्पणी गर्दै उनले त्यस्ता व्यापारी तथा बिचौलिया पोसेकै कारण राजनीतिमा लामो त्याग र तपस्या गरेकालाई सम्मान नगरेर ठुला दलले अहिले पैसा हुनेलाई साथ दिएको र लाभको पदमा पु-याएकाले आमउपभोक्ता चौतर्फी मूल्यवृद्धिको मारमा परेको बताए । उनले पैसाकै कारण केही व्यापारी र बिचौलियाले सरकारको मुखमा बुझो लगाइदिएको दाबी गरे ।

छिमेकी देश भारतले आफ्ना नागरिकलाई आपूर्ति व्यवस्था सहज गर्न भन्सार महसुल मिनाहा गरेको स्मरण गराउँदै उनले नेपाल सरकारले भने अहिलेसम्म त्यसो गर्न नसकेकोमा आपत्ति जनाए । उनले सरकार व्यापारिक घरानाको पोल्टामा परेकाले जनता अत्यन्तै शोषित र पीडित हुनुपरेको बताए ।

हवाई भाडामा साढे ८ सय वृद्धि

नेपाल आयल निगमले पेट्रोल तथा डिजेलको मूल्य बढाएसँगै वायुसेवा कम्पनीले समेत हवाई भाडा बढाएका छन्् । वायुसेवा कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपालले सोमबार हवाई भाडादर बढाएको हो । यसअघि उडान हुने गन्तव्यमा १ सय ७० रुपैयाँदेखि ८ सय ४० रुपैयाँसम्म भाडादर बढेको छ । भाडा बढेसँगै अब काठमाडौं–धनगढीको भाडादर १६ हजार ८ सय ५ रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै भाडा नै सो रुटको हो । संघले बढेको नयाँ भाडादर बुधबारदेखि लागू हुने जनाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १९ रुपैयाँले बढाएको थियो । निगमले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडादर बढाएको हो ।

निर्माणका काम रोक्ने निर्माण व्यवसायीको चेतावनी

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए राष्ट्रिय गौरवका आयोजनासहित सबै निर्माणका काम रोक्ने निर्माण व्यवसायीको चेतावनी छ । नेपाल निर्माण व्यवसायी महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विकासलाई संकुचनमा ल्याउने खेल भएको भन्दै यस्तो चेतावनी दिएको हो ।

पेट्रोलियम पदार्थमा कर कटौती गर्नुको सट्टा अन्तर्राष्ट्रिय बजारलाई देखाएर मूल्य वृद्धि गरिनु भनेको उपभोक्ताको ढाड सेक्ने काम भएको महासंघले जनाएको छ । महासंघले पछिल्लोपटक पेट्रोलमा एकैपटक प्रतिलिटर २१ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँ मूल्य वृद्धिले अत्यन्त रुग्ण अवस्थामा रहेको निर्माण उद्योग थप आक्रान्त बनेको जनाएको छ ।

इन्धनमा सतप्रतिशत मूल्यवृद्धि भएका कारण मुलुकभर सञ्चालित राष्ट्रिय गौरवका आयोजना एवं अति जरुरीका निर्माण परियोजना पनि अब बन्द हुने स्थिति उत्पन्न भएको महासंघको ठहर छ । निरन्तर मूल्यवृद्धि भइरहे पनि सरकारले निर्माण व्यवसायीलाई कुनै राहत दिन नसकेको महासंघले जनाएको छ । राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …