तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट तीन समूहमा विभाजित कम्युनिस्ट पार्टीलाई एक ठाउँमा ल्याउने प्रयास सुरु भएको छ । नेपालका कम्युनिस्ट पार्टी विभाजित हुँदा गैरकम्युनिस्टहरू हावी भएकाले कम्युनिस्ट पार्टीहरू एक हुनुको विकल्पन नभएको निष्कर्ष नेताहरूको छ ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकीकरण भएर नेकपा गठन भएको थियो । तर, नेकपा विघटन भई एमाले र माओवादी केन्द्र पुनस्र्थापित भयो । एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएको छ ।

एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच वाम गठनबन्धन वा पार्टी एकीकरण गर्ने विषयमा तीनै पार्टीका नेताबीच छलफल सुरु भएको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले र एकीकृत समाजवादीले राम्रो नजिता नल्याएको निष्कर्ष निकालिसकेका छन् ।

माओवादी केन्द्रले गत स्थानीय तहको निर्वाचनभन्दा पछिल्लो निर्वाचनमा पालिका बढी विजयी भए पनि लोकप्रिय मत घटेको छ । कम्युनिस्टहरू विभाजित हुँदा गैरकम्युनिस्टहरू हावी भएको निष्कर्षसहित तीनै पार्टीबीच पुनः वाम गठबन्धन वा पार्टी एकता हुनुपर्ने विषयमा नेताहरू छलफल थालेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच भेटघाट भएको छ । अध्यक्ष ओलीलाई भेट्न माओवादी केन्द्रका नेता श्रेष्ठ आइतबार बालकोट पुगेका थिए । सो भेट पुष्टि गर्दै नेता श्रेष्ठले पछिल्लो राजनीतिक विषयमा छलफल भएको बताए ।

आइतबार एमाले अध्यक्ष ओलीलाई भेटेका माओवादी केन्द्रका नेता श्रेष्ठले सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अनुमति लिएर श्रेष्ठले भेटघाट गरेको स्रोतको दाबी छ ।

‘पछिल्लो राजनीतिक अवस्था छलफल भएको छ । नेपालको राजनीतिकसहित भूराजनीति समेत छलफल भएको छ,’ माओवादी केन्द्रका वरिष्ठ नेता श्रेष्ठले राजधानीसँग भने, ‘कम्युनिस्ट पार्टीबीच गठबन्धन वा एकता पनि सामान्य छलफल भएको छ ।’ एमसीसी सम्झौता संसद्बाट पारित भएपछि पछिल्लो समय नेपालमा बढेको अमेरिकी प्रभाव समेत नेताहरू चिन्तत छन् ।

नेपालका कम्युनिस्टहरू विभाजित हुँदा गैरकम्युनिस्टहरूको प्रभाव बढेकोमा उनीहरू कमजोरी सच्याउँदै आपसी असमझदारी हटाएर अगाडि बढनुपर्ने निष्कर्षमा पुगेका छन् । तर, ठोस प्रगति भने केही भएको छैन । एमाले अध्यक्ष ओली र माओवादी नेता श्रेष्ठबीच भेटघाट अघि जेठको दोस्रो साता श्रेष्ठ र ओलीनिकट एमाले नेता गोकुल बाँस्कोटाका बीचमा भेटघाट भएको थियो ।

श्रेष्ठ र बाँस्कोटाबीच चुनावी समीक्षासहित वामगठबन्धन छलफल भएको थियो । सत्तारूढ पाँच दलीय गठबन्धनका कारण स्थानीय निर्वाचनमा पराजय बेहोरेको एमालेले सो गठबन्धन भत्काउन खोजेको छ । एमालेले भित्रभित्र कम्युनिस्ट पार्टीबीच चुनावी गठबन्धन बनाउन खोजेको छ ।

त्यसका लागि एमालेले चरणबद्ध छलफल थालेको हो । एमाले स्रोतका अनुसार २८ जेठमा एमाले सचिव प्रदीप ज्ञवाली र माओवादी केन्द्रका नेता वर्षमान पुनबीच करिब २ घण्टा छलफल भएको थियो । सो भेटमा समेत यही विषयमा छलफल भएको थियो । ज्ञवालीले समान्य छलफल र भेटघाट मात्रै भएको बताए । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले दोस्रो पार्टी बनेको छ । तर, २०७४ को स्थानीय निर्वाचनमा एमाले पहिलो पार्टी बनेको थियो ।

पाँच दलीय गठबन्धनबाट माओवादी र एकीकृत समाजवादी असन्तुष्ट छन् । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सार्वजनिक कार्यक्रममै पाँच दलीय गठबन्धनको आलोचना गर्दै कांग्रेसले सहयोग लिने काम मात्रै गरेको बताउँदै आएका छन् ।

कांग्रेसले सहयोग नगरेको भन्दै खनाल वामगठबन्धन गर्नुपर्ने पक्षमा उभिँदै आएका छन् । आगामी कातिक वा मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने चर्चा भइरहेकै बीचमा तीन कम्युनिस्ट पार्टीबीच गठबन्धन गर्ने गृहकार्य सुरु भएको हो । सत्तारूढ पाँच दलीय गठबन्धनमा रहेका नेताहरूले आगामी निर्वाचनसम्म पाँच दलीय गठबन्धन रहने बताए पनि भित्रभित्र वामगठबन्धन छलफल भइरहेको छ ।

एकीकृत समाजवादी उपमहासचिव जगन्नाथ खतिवडाले कांग्रेसले देशमा अब प्रतिगमनको खतरा समाप्त भएको ठानेको अवस्थामा वामगठबन्धन हुन सक्ने बताए । ‘इमानदारितापूर्वक पाँच दलीय गठबन्धन बन्ने हो भने पहिलो प्राथमिकता पाँच दलीय गठबन्धनकै हो, एकीकृत समाजवादी त्यसका लागि तयार छ,’ खतिवडाले भने, ‘तर नेपालका कम्युनिस्टहरू एकआपसमा लड्दा त्यसको फाइदा गैरकम्युनिस्टले लिइरहेका छन् ।’

कांग्रेससँग बार्गेनिङ गर्न वाम गठबन्धनको हल्ला : ज्ञवाली

नेकपा एमालेले आगामी चुनावमा वामगठबन्धन हुने सम्भावना नरहेको बताएको छ । उसले काग्रेससँग सत्ता सहकार्य गरिरहेकाहरूले बार्गेनिङका लागि वामगठबन्धनको कृत्रिम हल्ला फिँजाएको आरोप लगाए । सोमबार बसेको सचिवालय बैठकका निर्णय  जानकारी दिँदै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले एमाले र माओवादीका नेताबीच भएका भेटघाट वाम गठबन्धनभन्दा पनि अन्य राष्ट्रिय विषयमा केन्द्रित रहेको स्पष्ट पारे ।

माओवादी र नेकपा समाजवादीले कांग्रेसलाई शिरमा राखेर हिँडेको भन्दै त्यस्ता दक्षिणपन्थीसँग वाम गठबन्धनको सम्भावना नरहेको ज्ञवालीको भनाइ छ । ‘कांग्रेससँग बार्गेनिङका लागि एमाले देखाएर वाम गठबन्धनको हल्ला चलाएको हुन सक्छ, ५० प्रतिशत सिट नदिए एमालेले प्रधानमन्त्री नै बनाउने प्रस्ताव गरेको छ भनेर कांग्रेससँग बार्गेनिङ गर्ने कुरासँग एमालेको सम्बन्ध छैन,’ ज्ञवालीको भनाइ छ । त्यस्तै, उनले एमालेले कसैलाई प्रधानमन्त्रीको प्रस्तावसमेत नगरेको दाबी गरे । राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …