तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमप्रति चर्काे आलोचना गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा सुरु भएको छलफलमा भाग लिने क्रममा बिहीबार ३ घण्टा बोलेका ओलीले नीति तथा कार्यक्रमको चर्काे विरोध मात्र गरेनन्, सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसको पनि चर्काे विरोध गरे ।

नीति तथा कार्यक्रममा प्रशस्त त्रुटि औंल्याएका ओलीले यसलाई तेलमा तारेको, चास्नीमा नडुबाएको जेरीजस्तो भएको टिप्पणी पनि गरे । ‘तेलमा मात्र तारेको चास्नीमा नडुबाएको जेरीजस्तो, खल्लो, गुजुल्टिएको, कुनै गन्तव्य नभएको कस्तो नीति हो ?’ उनले प्रश्न गरे ।

नीति तथा कार्यक्रमका बुँदा नम्बर ११०, १३१, १३२, १६१ यसका नमुना रहेको उनले बताए । उनले नीति तथा कार्यक्रममा व्याकरणसमेत नमिलेको आरोप लगाए । ओलीले भने, ‘६५ पृष्ठमा १४५ वटा बुँदा राखेर ल्याइएको छ । यसमा रहेका भनाइका अर्थ र अन्तरवस्तुतर्फ ध्यान नदिई वर्णमालाका अक्षरभित्र रहेर हेर्दा व्याकरणीय अशुद्धता, संगति नमिल्नु, अर्थ निस्किँदै ननिस्कने आधा वाक्य छन् ।’ नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई म्यादी सरकार भएको आरोप पनि लगाए ।

भन्छन्– तेलमा तारेको, चास्नीमा नडुबाएको जेरीजस्तो

अहिलेको सरकार अस्थायी र म्यादी भएकाले परराष्ट्र नीतिमा दीर्घकालीन असर पर्ने काम गर्न नहुने ओलीको भनाइ थियो । उनले आफूले हुम्लाको लिमी जाँदा इजाजत लिएको उल्लेख गर्दै अमेरिकी उपविदेशमन्त्री उज्रा जियालाई शरणार्थी शिविरमा जान इजाजत दिनुपर्ने हो कि होइन ? इजाजत दिएको भने किन दिएको भन्ने प्रश्न गरे ।

उपविदेशमन्त्री जिया गत शनिबार जावलाखेलस्थित तिब्बती शरणार्थी शिविरमा पुगेकी थिइन् । एमाले अध्यक्ष ओलीले स्थानीय तहको चुनावमा सरकारले व्यापक धाँधली गरेको आरोपसमेत लगाए । ‘नीति तथा कार्यक्रमको पहिलो बुँदामै चुनाव निष्पक्ष र धाँधलीरहित तरिकाले भएको भनिएको छ,’ ओलीले भने, ‘स्वच्छ तरिकाले चुनाव भएको भए आज १४ दिनसम्म किन परिणाम आएको छैन ?’

सत्ता गठबन्धनले घोषित रूपमै एमालेलाई धुलो चटाउने र पत्तासाप गर्ने नीति लिएकाले चुनाव पनि त्यहीअनुसार भएको उनले बताए । ‘एमालेलाई सिध्याइदिने नीति लिएर गरिएको चुनाव हो,’ उनले भने, ‘नेताहरूले भाषण नै गर्नुभएको छ । जसरी पनि जित्नुपर्छ भनेर त गीतै बनाएर गाउनुभएको छ ।’

ओलीले संसद्मा सम्बोधन गर्दै आफ्नो पार्टी फुटाउन सभामुख अग्निप्रसाद सापकोटाले पदीय मर्यादा बिर्सेको आरोप लगाए । ‘साउन २५ गते हामीले निष्कासन गरेको सांसदको भदौ १ गते सम्माननीय सभामुख कहाँ हामीले प्रस्तुत गरिसकेको कुरालाई १० दिन पर्खिएर ‘अरूको चाहिँ ढोकाबाटै लिएर सूचना जारी गर्नुपर्ने ।

एमाले फुटाउन पदीय मर्यादा सबै बिर्सिएर एमाले फुटाउन जे पनि गर्न हुने ? कुनै मर्यादा राख्न नपर्ने ?’ उनले प्रश्न गरे । ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता ल्याउन सरकारले पहल नगरेको आरोपसमेत लगाए । ‘शरम लाग्छ, योभन्दा कायरता के हुन्छ ? लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालको हो कि होइन ? सरकार नेपालको हो भन्न सक्छ कि सक्दैन ? यो जमिन फिर्ता ल्याउँछु भन्न सक्छ कि सक्दैन ।

९१ बुँदामा संशोधन प्रस्ताव

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही जेठ १० गते प्रतिनिधिसभाको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि बिहीबारदेखि दुवै सदनमा छलफल प्रारम्भ भएको छ । छलफल दुई दिनसम्म जारी रहनेछ ।

कुल ६५ पृष्ठमा १४५ बुँदामा आएको नीति तथा कार्यक्रममा तीनै तहका सरकारको समन्वय र सहकार्यमा आर्थिक विकासलाई प्राथमिकतामा राखिएको छ भने वित्त र मौद्रिक नीतिको संयोजनबाट आर्थिक वृद्धि र स्थायित्व हासिल गरिने तथा कृषि, यातायात, ऊर्जा, पर्यटन र सूचना प्रविधिलाई आर्थिक वृद्धिको संवाहकका रूपमा अघि बढाइ आर्थिक पुनरुत्थानका विशेष कार्यक्रममार्फत उत्थानसशील अर्थतन्त्र निर्माण गरिने कुरा समावेश गरिएको छ ।

सो नीति तथा कार्यक्रममाथि विभिन्न दलका दुवै सदनका सांसदले सदनमा संशोधन प्रस्ताव पेस गरेका छन् । प्रतिनिधि सभामा विभिन्न राजनीतिक दलका ६ सांसदले ८१ बुँदामा र राष्ट्रिय सभाका पाँच सांसदले १० बुँदामा संशोधन प्रस्तावको सूचना पेस गरेका छन् ।

प्रतिनिधि सभामा संशोधन प्रस्ताव पेस गर्ने संशोधनकर्ता सांसदमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का हृदयेश त्रिपाठी, शेरबहादुर तामाङ, भीमबहादुर रावल र खगराज अधिकारी तथा सत्ता गठबन्धन दल राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल छन् ।राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …