• सोमबार, साउन-३०,२०७९ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

अनुसा थापा

नेकपा एमालेका कार्यकर्ताहरु पार्टीका अध्यक्ष केपी शर्मा ओलीकै विरोधमा लागेको बुझिएको छ । ओलीको कारणले स्थानीय चुनावमा पार्टीले हार व्यहोरेको उनीहरुको आरोप छ । बजारमा ओलीको राजीनामा नै माग भएको छ । आफ्नो निजी कम्पनी चलाएजसरी पार्टी चलाएको कार्यकर्ताहरुले ठहर गरेका छन् ।

दुईचोटि सांसद विघटन गरेको कारण जनताले स्थानीय चुनावमा त्यसको प्रतिफल दिएका हुन् । २०७५ सालको चुनावमा पहिलो पार्टी बनेको एमाले योचोटि तहसनहस बनेको छ । आफ्नै गृहजिल्लामा समेत ओलीलाई कसैले नपत्याएका हुन् । अहिले चियागफ, सार्वजनिक स्थल सबैतिर एउटै चर्चा चुलिएको छ ।

पार्टीमै चौतर्फी बेहोर्दा पनि राजीनामा नदिने हो भने आउदो मंसिरमा हुन लागेको संसदीय चुनावमा १० सिट पनि एमालेले नपाउने आकलन गर्न थालिएको छ । पार्टीको अध्यक्षबाट ओलीलाई निष्कासित गर्नुपर्छ भनेर पार्टी भित्रबाटै आवाज उठेको सुनिएको छ । यता, तलका कार्यकर्ताहरु ओलीको उखानटुक्का चल्दैन्, बजारमा बिक्दैन भनेर बहस गर्न थालिसकेका छन् ।

२०७१ सालमा ओली पार्टीको अध्यक्ष हुनेबित्तिकै आफ्नो आफन्तलाई पार्टीको टिकट दिने काम गरे । आफुलाई मनपरेको व्यक्तिलाई राजदूत बनाउने, ठेक्कापट्टा पनि उसैलाई पार्ने लगायतका क्रियाकलाप उनीद्धारा भयो । उनको यस्तो प्रवृत्तिका कारण जनताबाट चुनिएर आएको सांसद्ले न मन्त्री पायो ।

बरु, २०७० सालमा चुनाव हारेको महेश बस्नेतलाई मन्त्री बनाइदिए । एउटा सामान्य कर्मचारी युवराज खतिवडालाई अर्थमन्त्री घोषित गराइदिए । जनताले तिरेको कर खाने व्यक्तिलाई अमेरिकाको राजदूत बनाइयो । अघिल्लो दिनसम्म राप्रपाको गुनगान गाउने कोमल वलीलाई भोलिपल्ट एमालेको मनोनित सांसद् बनाइदिए ।

माधव नेपाल पक्षलाई चुनाव लड्न टिकट नदिने । वडाध्यक्ष होस् कि मेयर नेपाल पक्षकाले कहिल्यै टिकट पाएनन् । टिकट पाएर जनताबाट चुनिएपनि नेपाल पक्षलाई मन्त्री नदिने । झलनाथ खनाललाई राष्ट्रपति बनाउछु भनेर पार्टीको अध्यक्ष जिते । खनाल राष्ट्रपति न बनेनन् तर विद्यादेवी भण्डारीले दुईचोटि एउटै पद खाइन् ।

माधव नेपालभन्दा २५ भोट बढी ल्याएर ओलीले अध्यक्ष जितेको हुन् । आफ्नो पार्टीको कार्यकाल सकिने बेलामा नेकपा माओवादीसंग गएर एकीकरण गरे । अध्यक्ष पद लम्बाउनका लागि उनले बनाएको यो योजनाले निकै प्रभावकारी बन्यो । नाटकीय रुपमा माओवादीसंग हात मिलाउने काम भयो ।

ओलीको जाली कुरा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बुझ्न सकेनन् । दाहालले पनि आफ्नो फाइदा हेरेको बुझिन्छ । ओली बिरामी छन् भोलि एमाले र देश चलाउने मै हु भन्ने प्रलोभन दाहालमा देखियो । एउटा जहाजमा दुईवटा पाइलट भनेर भाषण ठोके । ३० महिना एउटाले पार्टीको अध्यक्ष र अर्को ३० महिना प्रधानमन्त्री चलाउने भनेर सम्झौता गरे ।

त्यतिखेर दाहाल दोबाटोमा उभिएका थिए । बिच बाटोमा उभिएको जोसंग गएर पनि टासिन सक्थे । नेपाली कांग्रेससंग मिल्छ भनेर रातारात दाहाललाई फकाउने काम पनि नभएको होइन् । दाहाललाई आफ्नो पार्टीमा ल्याए र बहुमत ल्याएर प्रधानमन्त्रीको सत्ता ग्रहण गरे । दाहालले पनि आफुले गरेको त्यत्रो जनयुद्ध ठ्याक्कै बिर्सिए ।

२०४२–६३ सालसम्मको जनयुद्धमा कमाण्डरको भूमिका निभाएका दाहाल कसैको अगाडि झुक्लान् भन्ने कुरा कल्पनाबाहिर थियो । उनले त्यत्रो नेपाली सडकमा उतारे र सधैंको लागि राजतन्त्र विस्थापन गरेरै छाडे । त्यत्रो मुलुक हाँकेको व्यक्तिले आँखा चिम्लेर ओलीमाथि विश्वास गर्दा उनले धोका खाए ।

केपी ओली फट्टाहा छन् भन्ने कुरा उनले निकै पछि मात्र थाहा पाए । कि प्रधानमन्त्री छोडनुस् कि पार्टीको अध्यक्ष त्याग्नुस भनेर दाहालले ओलीलाई दबाब पनि दिएका हुन् । तर, भ्रमको भुमरीमा टिकेर ओलीको घमण्ड ह्वात्तै बढेको थियो । दाहाल मेरो शरणमा आइसके, माओवादीका कार्यकर्ता सबै मेरा पार्टीमा आइसकेका छन् भन्ने मनोबल ओलीमा बढेको थियो ।  

त्यतिखेर ओलीले माओवादीका केन्द्रीय नेताहरु आफ्नो नजिक पारिसकेका थिए । माओवादी छोड्न लगाउन उनी तम्तयार भइसकेका थिए । कतिपय माओवादीका केन्द्रीय नेताहरु एमाले पसे । जनयुद्धको बेलामा भुमिगत गएका नेताहरु एमाले छिरे । आफ्नो राजनीतिलाई समाप्ति दिन उनीहरु एमालेमा भित्रिए ।

ओलीबाट धोका पाएपछि दाहालले वामदेव गौतम र माधव नेपाललाई हाता लिए । उनलाई प्रधानमन्त्री पदबाट हटाउनका निम्ति दाहाल अग्रसर भए । २०७५ सालमा चुनाव हारेर गौतम रन्थनिएर बसेका थिए । दाहालले अबको प्रधानमन्त्री तपाई भनेर के मात्र भनिदिएका थिए, गौतमले सपना देख्न थालिहाले ।

उनको दिनैपिच्छे वालुवाटार जाने क्रम सुरु भयो । आफ्नो प्रधानमन्त्री पद जोगाउनका निम्ति ओली गौतमको घर ढक्ढकाउन समेत पुगेका थिए । माधव नेपाललाई उचालेर एमाले टुक्राटुक्रा पार्न सफल भए, दाहाल । नेपाल र गौतमको हरिबिजोग बनाउन सफल भए, उनी ।

अहिले गौतम कहाँ छन् ? जनतालाई अत्तोपत्तो छैन् । स्थानीय चुनावमा सबैले झुक्याएपछि नेपाललाई ‘मर्नु न मोटाउनु’ भएको छ । एमालेमा हुँदा पार्टीको अध्यक्ष र प्रधानमन्त्री दुवै नपाएपछि चक्नाचुर बनाइदिए । झलनाथ खनाल अहिले रोएर हिड्न बाध्य छन् । एमालेलाई सिद्धयाएर दाहाल पछि माओवादी मै फर्किए ।

जसोतसो मिलेर बसेको पार्टीलाई लुछाचुँडी गर्ने बनाउन उनी सफल भए । अब उनको निशानामा कांग्रेस परेको छ । कांग्रेसको त झनै कन्ताबिजोग हुने देखिन्छ । मधेशी दललाई पनि उचाल्ने र थचार्ने गरेर फुटाइदिइ हाले । पछिल्लो घडीमा दाहाल अर्काको पार्टी फुटाउनमै व्यस्त छन् ।

कहिले कुनमा गएर टाँसिने कहिले कतातिर पुगेर लहसिने यो क्रम ह्वात्तै बढेको छ । उनले ठ्याक्कै व्यापारीको सिको गरेका छन् । यदि पुष्पकमल दाहालले राजनीति नभई व्यापार गरेको भए उनी विनोद चौधरीभन्दा पनि धनी हुन्थे । आफुलाई फाइदा हुने देखेपछि दाहाल यताउता गर्न हिचकिचाउदैनन् ।

जनताबाट नङगिए भने उनी राजासंग गएर मिल्न पनि बेर लगाउदैनन् । कांग्रेसले पनि योबाट पाठ सिक्न जरुरी देखिएको छ । कांग्रेसका नेताहरु आफ्नो पार्टी बचाउन लाग्नुपर्ने बेला त भएको होइन् ? प्रधानमन्त्री खानका लागि दाहालले सत्तारुढ गठबन्धन त्यागेर एमालेमै लाग्ने कुरापनि चर्चामा आएको छ ।

ओलीले गठबन्धन छोडेर दाहाललाई प्रधानमन्त्री खान सुझाएको कुराहरु पनि बाहिर छ । अब जति नौटंकी गरेपनि पार्टीलाई पत्याउदैनन् भनेर यिनीहरुले सोचेका छैनन् । राजनीतिक पार्टीबाट आजित भएर जनता स्वतन्त्रको खोजीमा निस्किएका छन् । आगामी चुनावमा माओवादीलाई पाँच क्षेत्रबाट जित्न पनि महाभारत छ ।

गठबन्धन नगरी एक्लै चुनावमा गएको भए कांग्रेसको योभन्दा बढी जित हुने विषयहरु पनि छरपस्ट भएका छन् । फेरिपनि नेपाल, ओली र दाहाल एकैतिर गाभिन्छन् भनेर अनुमान लगाउन थालिसकेको छ । दाहालले ओली झुक्याउछन् कि ओलीले यो निकै रोचक हुनेछ । जनताले नपत्याएपछि नेपाल पनि एमालेतिरै नफर्किएलान भन्न सकिन्न ।

गोकुल बाँस्कोटा र महेश बस्नेतलाई पार्टीको जिम्मेवार दिएर उभो लागिदैन् भनेर पुष्टि भइसकेको छ । उनीहरुले आफ्नै क्षेत्रबाट मत नपाउने निश्चित छ । हिजोको दिनमा गाँउने र नाच्ने कलाकारलाई राजनीतिमा ल्याएर पार्टी बिक्ने हैन् । आफुलाई जनताले विश्वास नगरेको स्वीकार गर्दै ओलीले राजीनामा दिने ढिला त भइसकेको छैन् ?

अब आउने चुनावमा जिम्मेवारी व्यक्तिलाई अध्यक्ष पद सुम्पिने हो कि, ओली ज्यु । नैतिकताको आधारमा पनि ओलीले यो काम गर्न जरुरी छ । पार्टीलाई सही दिशामा दोहोप्याउने व्यक्तित्व चुन्ने हो भने अर्को २० वर्षमा त जनताले पत्याउलान् । के थाहा, एमाले पहिलो पार्टी बन्छ कि ?

अध्यक्षको कुर्सीमा अझै पनि टासिरहने हो भने अबको चुनावमा एमाले तेस्रो पार्टी बन्छ । ओलीको घमण्ड जनताले तोडेका छन् । उनको फेरि प्रधानमन्त्री हुने सपना टुक्राटुक्रा भइसकेको छ । ज्येष्ठ नागरिकलाई भत्ता हामीले दिएको भनेर भोट माग्ने दिनको अन्त्य भएको छ । जनताले तिरेको करबाट भत्ता दिएको हो । त्यसमा ओलीको एक रुपैंया पनि व्यक्तिगत सम्पत्ति गएको छैन् ।

 

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

वालिङमा विपि कोइरालाको साहित्य र बिचार वारे गोष्ठी !

वालिङमा विपि कोइरालाको साहित्य र बिचार वारे गोष्ठी !
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …