तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

अनुसा थापा

अबको दुई दिनमा स्थानीय चुनाव छ । अहिले मुलुक नै चुनावमय भएको छ । भोट हाल्नका लागि आफ्नो जन्मथलो फर्किनेको ओइरो सुरु भएको छ । राजनीतिक दलहरुले पनि मत हाल्नकै निम्ति भनेर आफ्नो खर्चमा गाडीका गाडी मान्छेहरु फर्काइरहेका छन् । सित्तैमा घर जान र मासुभात खान पाउने भएपछि नेपालीहरु मख्ख परेका छन् । अनि, देशको विकास होला ?

एउटा गाडीको टिकट, मासुभात र दारुका लागि आफ्नो अमूल्य भोट असक्षम व्यक्तिलाई दिने हामी जनता नै हो । राम्रालाई होइन् खर्च गर्न सक्नेलाई चुन्ने हाम्रो प्रवृत्तिका कारण यस्तो भयो । प्रतिनिधिहरुले आज खर्च गर्छन्, भोलि साहुव्याज नै उठाउन खोज्छ । आफ्नो खर्च उठाउन उसले ठेक्कापट्टा गर्दा कमिशन खान्छ, कुर्सीमा बसुन्जेल सक्दो भ्रष्ट्राचार गर्छ । प्रतिनिधिहरुलाई भ्रष्ट्राचार गर्ने बाध्यता बनाउने जनताहरु नै हुन् । जसरी हुन्छ लगानी उठाउनुपप्यो ।

मताधिकार गर्न पाउनु हरेक जनताको हक हो । तर, पैसाको लोभमा हकअधिकार नै दुरुपयोग भएको छ । एकछिन लोभले पाँच वर्षको निम्ति सबैले दुःख पाउछन् । आज मत दिन्छन्, भोलि काम गरेन् भनेर सराप्छन् । आफुलाई ठिक लाग्ने, काम गर्न सक्छ भन्ने खालको प्रतिनिधिलाई मत दिनुपर्छ । ताकि भोलि देशको विकास होस् भ्रष्ट्राचार होइन् । अहिले कुनै पार्टीको कार्यकर्ता भएर भोट माग्दै हिडेका छन् ।

कुनै पैसाको लोभमा भोट दिन तयार भएका छन् । हाम्रो भोटबाट चुनिएका त्यस्ता प्रतिनिधिले देशको हालत कस्तो होला ? कति भ्रष्ट्राचार गर्ला ? सोचेका छैनौ । गणेशमान सिंहले सबै नेपाली भेडा हुन् । एउटा भेडा हाम्फाल्यो भन्यो सबै हाम्फाल्छ भनेर उनले नेपाली जनतालाई लिएर उदाहरण दिएका थिए । पछिल्लो समय साक्षरतादर बढ्दो छ । केही नभए पनि अक्षर चिन्न र सहीगलत छुट्याउन सक्ने भएका छन् ।

सञ्चारमाध्यमका कारण उनीहरुमा धेरै चेतना आइसकेको छ । उनीहरु कमाउन सक्ने पनि भएका छन् । तर, नेपाली जनताको व्यवहारमा किन परिवर्तन आएन् ? योभन्दा अघिको चुनावमा पनि मासुभात, दारु र गाडीभाडाका कारण देश नै सखापै बन्यो । तर, अझै पनि नेपालीको सोचाइमा परिवर्तन नआउनु लज्जास्पद कुरा हो । मँहगो लुगा लगाउछौ, घाँटीमा सुनको सिक्री लगाउछौ तर भोट हाल्नका लागि सित्तैको गाडीमा चढ्छौ ।

अनि देश बिगार्ने नेता कि जनता ? आफ्नै कर्तुतका कारण देश बिग्रिएको हो भनेर कुनै नेपालीले आफुमाथि प्रश्न उठाएका छन् ? अरुलाई दोष दिएर आफुलाई चोखो बनाउन खोज्छन्, नेपाली । चुनाव ढोकैमा आइसकेका छ । सरकारले पटकपटक आफ्नो अधिकारको प्रयोग सही ठाँउमा गर्न आग्रह गर्दै आएको छ । लहैलहैमा लागेर र चिप्लो कुराको पछि परेर देशको स्थिति थप जटिल नबनाऔ । हिजोको दिन मिठा कुराको पछि लाग्दा पाँच वर्षमा देश विकास होइन् विनाश भयो ।

२०७५ सालमा जनप्रतिनिधि भएर आएकामध्ये कसैले पनि केही काम गरेनन् । बल्लतल्ल तिनीहरुलाई हटाउने मौका हामीले पाएका छौ । फेरिपनि त्यस्तो पछुताउने दिन नआओस् । जनप्रतिनिधिहरु सक्षम नहुँदा जनताको ढाड सेकिएको छ । मँहगीले सीमा नाघेको छ भने बेरोजगारी दिनप्रतिदिन बढ्दै गएको छ । खोलानाला, गुठी र सरकारी जग्गा सबै व्यक्तिको नाममा गइसकेको छ ।

ठेक्कापट्टाको नाममा करोडौंको चलखेल जनप्रतिनिधिहरुले गरे । आफुलाई भोट दिएर जनप्रतिनिधिहरुले समेत जनतालाई गनेनन् । घरमै भएपनि नभएको बहाना बनाएर दुःख दिएको हामीले नबिसाऔं । वडाध्यक्ष र मेयरले छिनमा हुने कामका निम्ति महिनादिन अल्मल्याएको कुरा सबैलाई स्मरण नै होला । राज्यबाट सित्तैमा हुने कामका लागि पनि पैसा मागेको बिसर्न मिल्दैन् 

वडा, नगरपालिकामा काम लिएर पुग्दा भेट्न नदिने र फोन गर्दा पनि नउठाउने । काम गर्न छोडेर ठेक्कापट्टा र कमिशन खोज्दै हिड्ने । वडाध्यक्ष र मेयरले धेरै भ्रष्ट्राचार गरेका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेका घटनाहरु थुप्रै छन् । आफ्नो आफन्तलाई रोजगारी दिने र आफ्नैलाई ठेक्कापट्टा मिलाउने काम यिनीहरुद्धारा नभएको होइन् ।

यसअघिको चुनावमा जनप्रतिनिधिहरुले हामीलाई तलबभत्ता र सेवासुविधा केही चाहिदैन् भनेर भोट लिए । तर, उनीहरुले तलब पनि लिए, सरकारी गाडी पनि चढे । पार्टीले फेरिपनि उही कोमचोर जनप्रतिनिधिहरुलाई टिकट दिएको छ । चुनाव जितेपछि पाँच वर्षको अवधिमा एकचोटि पनि जनताको ढोकामा नपुगेका जनप्रतिनिधिहरु अहिले पुनः जनताको ढोका ढक्ढकाउन पुगेका छन् ।

घरदैलो कार्यक्रम भन्दै झुठा आश्वासन बाड्न व्यस्त छन्, नेताहरु । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पाँच दलको भविष्य वैशाख ३० गते देखिन्छ भनेका छन् । ज्योतिषले पाँच दलको भविष्य नराम्रो छ भनेको भनी उनी जनतालाई गुमाउने काम गर्न खोज्दै छन् । तर, ज्योतिषीले एमालेको भविष्यचाहि भनिदिएन् जस्तो छ । हिजो दुईचोटि संसद् विघटन गरेको कुरालाई ढाकछोप गर्न केपीले जनतालाई भ्रममा पार्न खोजेको बुझिएको छ ।

२०७५ सालको चुनावमा पहिलो पार्टी बनेको नेकपा एमाले नै छ । प्रायजसो वडा र नगरमै एमालेकै जनप्रतिनिधिहरु आए । तर, सबैभन्दा धेरै भष्ट्राचार गर्ने पार्टी पनि एमाले नै बन्यो । अनि यस्तो पार्टीलाई जनताले केलाई भोट दिने ? वैशाख ३० गते अरुचाहि होइन् एमालेचाहि दुर्घटनामा पर्ने देखिन्छ । पहिले जितेको ठाँउमा समेत एमाले हार्छ । एमालेले जित्ने सम्भावना निकै कम देखिएको छ ।

अब ठूला नेताहरुलाई जिताउने काम नगरौ । भन्नलाई ठूला तर सानो काम गर्न नसक्ने यी पार्टीहरु हुन् । देशको हालत तहसनहस पार्ने श्रेय शीर्ष पार्टीहरुलाई नै जान्छ । देश डुबाउने पनि यिनी कामचोर नेताहरु नै हुन् । व्यापारीहरुसंग पैसा लिएर चुनावमा खर्च गरिएको छ । चुनाव सकिनेबित्तिकै व्यापारीहरुले सामानको मूल्य बढाइहाल्छन् । चुनावपछि मँहगी झनै बढ्ने निश्चित छ ।

सबै राजनीतिक पार्टीले चुनाव लड्नका लागि पैसा लिएका छन् । चुनावभन्दा पछि देशको स्थिति कतातिर मोडिन्छ ? चर्चा सुरु भएको छ । चुनावपछि खाद्यान्नको मूल्य ह्वात्तै बढ्छ । इन्धनको भाउ बढाउन आयल निगम तयारी अवस्थामा बसेको छ । मुलुक आर्थिक संकटको दलदलमा फस्दै जान्छ । चुनाव खर्च भनेर राजनीतिक दलहरुले बैंकबाट २८ अर्ब रुपैंया निकालेका छन् ।

वित्तिय संस्थामा भएको यत्रो रकम राजनीतिक दलले निकाले । जनताले डिपोजिट लगेर राख्नेवाला छैनन् । अब वित्तिय संस्थाको अवस्था झनै नाजुक हुने देखिन्छ । बैंकफाइनेन्सलाई ठूलो धक्का पुगेको छ । बैंकफाइनेन्स नै रित्तिएपछि अब अर्थतन्त्र थप जटिल हुन्छ । जनताले तिरेको करबाट सरकारी खर्च धान्न सकिदैन् । विदेशी ऋण लिएर मुलुक कतिञ्जेल चल्छ ?

हरेक क्षेत्रमा मन्दी देखिन थालिसकेको छ । यो मन्दी निरन्तर रुपमा जाने हो भने श्रीलंकाभन्दा पनि ठूलो दुर्घटना नेपालमा हुन सक्छ । अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउनको निम्ति सक्षम नेताको आवश्यकता परेको छ । देश अर्थतन्त्र नै डामाडोल भएको बेलामा चुनाव गर्न लागिएको छ । अर्थतन्त्रलाई सुधार्ने हात जनताको हो । मँहगी नियन्त्रण गर्न र अर्थतन्त्रलाई पहिल्यैकैं गतिमा ल्याउन जनताले सही नेताको खोजी गर्नुपर्छ ।

बैंकबाट निकालेको २८ अर्ब रुपैंया मासुभात र दारुमै सकिएको छ । २८ अर्ब खर्च गरेबापत कति उठाउन खोज्ने हो ? यो अकल्पनीय कुरा हो । त्यत्रो पैसा सदुपयोग गर्नुको साटो फोगट्टे खर्च गरियो । अबको दुई दिनपछि जनताको भविष्य देखिन्छ । कि त यो अन्तिम स्थानीय चुनाव पनि हुन सक्छ । नेताहरुले जनताभन्दा ठूलो कोही हुदैनन् भनेर बिर्सिएका छन् । उनीहरुको यस्तो चालढालको नतिजा पनि छिट्टै नै देखिने छ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …