• आईतबार, माघ-९,२०७८ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

पुसको चिसो मौसम तुसारो परिरहेको थियो । दिनको कोलाहल पूर्ण वातावरण छिचोल्दै अन्धकार रातमा मानिसहरू मस्त निन्द्रामा घुरिरहेका थिए । सपनामा कसैले चन्द्रमामा सुन्दर वस्ती बसाउने सुर कस्दै थिए भने कसै-कसैले यहि लोकमा आलिसान विल्डिङ बनाएर परिवारलाई सुखसयलसँग राख्ने र आराम- चयनको जीवन जिउने । मानिस कतै खान नपाएर सडक पेटिमा लडिरहेका छन् त कतै चिसोका कारण कठाङ्ग्रिएर जीवन उत्सर्ग गर्नुपर्ने अवस्था । यही परिस्थिति , परिवेश र चुनौतीपूर्ण ढंगबाट मानिसले सांसारिक जीवन यात्रा तय गरिरहेका छन् ।

हुनत मानिसको भाग्य जन्मिएको छैठौं दिन नै भाविले लेखे अनुसार मात्रै पाइन्छ , देखेर पाइन्न भन्ने परम्परागत विश्वास छ हाम्रो । हो यस्तै सन्देश आयो २०७८ पुस १३ गते विहान २:१८ मिनेटमा । जन्तेढुङ्गा पालिकाका सभापति वाजेन्द्र विष्टले लेख्नुभएको रहेछ – “खोटाङ काङ्ग्रेसका खम्बा रामकुमार श्रेष्ठ चिसापानी स्थित निवासमा मध्यरात १२.०५ बजे हामी वीच रहनु भएन ” ।

कस्तो निष्ठुरी रहेछ ,भावी आफुले चाहेको कुरा गर्न नदिने । मनमा गुथेका सपनालाई पूरा गर्न नदिने । न बालक भन्छ न मस्त जवान , कालले केवल लिँदो रहेछ प्राण । खोटाङको दक्षिणी भेगमा राम दाइलाइ धुलिखेले भनेर धेरैले चिन्छन् समकालीन साथीहरूले प्रेम पुर्वक बोलाउने नाम हो ” रामु ” । करिब ६ महिना अगाडि गम्भीर रुपमा अस्वस्थ भए पछि चिसापानीबाट काठमाडौ हेलिकप्टर द्वारा आपतकालीन अवस्थामा लगिएको थियो। मुटुको भल्भ बन्द भएको हुँदा गंगालाल अस्पताल बासबारीमा अप्रेसन सफल भएपछि काठमाडौंको माकलबारीस्थित छोराको घरमा आराम गरिरहनु भएको थियो ।

चौधौं महाधिवेशनको चटारोमा थियौ हामी । वडा तहदेखि केन्द्रीय महाधिवेशन सम्पन्न गरि पार्टीको बैधानिकता जोगाउने धौधौमा थिए केन्द्रीय र वडा तहका नेता । निर्वाचन आयोगको ताकेता , कार्यकर्ताको चर्को दबाब र मिडियाको खबरदारीबाट रनभुल्ल परेका थिए केन्द्रीय नेता । पार्टीको यहि तहगत अधिवेशन सम्पन्न गर्दै केन्द्रीय महाधिवेशनमा भाग लिन काठमाडौं गएका थियौं हामी पनि । बेलाबेला फोन गरेर गरिरहनुहुन्थ्यो मलाई । पछिल्लो समय धेरै फोन सम्पर्कमा रहेर मनका कथा, व्यथा र सुखदुःखका कुरा सुनाउने मध्येको एक पात्र म पनि थिएँ उहाँको रोजाइमा ।

मैले केन्द्रीय महाधिवेशन सम्पन्न भए लगत्तै फोन गरें एकदिन । लामो कुराकानी भयो । उहाँको एउटै चिन्ता थियो जनताको काम गर्न पाइन भन्ने । जनताको अगाध आस्था , विश्वास र माया पाएर २०४९ सालमा गाविस अध्यक्ष र २०७४ मा वडा अध्यक्ष भए । जनताको सपना र आशालाई मैले सम्बोधन गर्न सकिन । म मान्छे । विरामी छु भन्दैमा आफ्नो कर्तब्यबाट च्युत हुने छुट छैन मलाई भनिरहनु हुन्थ्यो । २०७८ साल मंसिर १७ गते दाइलाई मध्याह्न फोन गरें मैले ।


खोटाङ जिल्लाका पार्टी सभापति विष्णु कुमार राई लगायत नेताको पनि उहाँलाई भेट्न जाने कुरा सुनाएँ । मेरो टाढा छ बसाइ , आउनु पर्दैन भन्नुभयो । विष्णु दाइ , इच्छु राना , धर्म पोखरेल , ईन्द्र घिमिरे , उपेन्द्र पोखरेल लगायतसँग फोन संवाद गरें तर संयुक्त रुपमा जाने अनुकुल वातावरण मिलेन । सोही दिन राम दाइले अन्दाजी ४ बजे फोन गर्नुभयो – के आज आउने सल्लाह भयो भन्दै । सबैको अनुकुलता वातावरण नमिलेको सुनाएँ । मलाई भने भेट्ने तिब्र ईच्छा थियो । एक त राम दाइ विरामी पनि । अर्को पार्टी भित्र उहाँले रूचाएको मानिस मध्येको म प्रिय पात्र । घर, परिवार सबैले आफ्नो परिवारको सदस्य मान्नुहुन्थ्यो ।

जगजाहेर छ पार्टीका सबै साथीहरूलाई । विरामी भएको कारण कुनै तहको अधिवेशनमा भाग लिन पाउनु भएन ।वडा, पालिका र क्षेत्रको विषयमा सामान्य बाहेक कुनै सल्लाह भएन मेरो । तर जिल्ला सभापतिको हकमा दुई वर्षदेखि नै मेरो पक्षमा खुल्नु भएको थियो उहाँ । दक्षिणी भेगमा केही साथीहरूले कहिलेदेखि तीर्थको प्रवक्ता भईस् भने गरेको कुरा गर्नहुन्थ्यो बेलाबेला । तर उहाँमा म प्रतिको माया, प्रेम र सद्भावमा कहिल्यै कमी आएन । मेरो अग्रज नेता भएकोले न म नै उहाँलाई आदर गर्नबाट चुकेँ ।

सावाकटहरेमा भद्रकाली पोखरेल हुनुहुन्थ्यो त्यो जमानामा । जल्दो बल्दो युवा , समाजले रुचाएको र हिम्मतिलो पाइन्दार नेता । राणा शासन अन्त्यका लागि २००७ सालको क्रान्ति सफल पार्न वीपीले पत्र लेख्नुभएको दस्तावेज पनि सार्वजनिक भयो उनको बारेमा । त्यो भेगमा विद्यालय स्थापना गरि शिक्षाको ज्योति फैलाउने र विकास निर्माणमा योगदान दिने अग्रदुत । तीनै महारथीका नाति , काङ्ग्रेसका नेता भरत पोखरेलका छोरा उपेन्द्रलाई फोन गरि तत्कालै सोधे राम दाइलाई भेट्न जाने अनुकुलताको बारेमा । मेरो बुवाको साथी भेट्न लालायित छु लौन पुर्‍याउनु प-यो भन्दै म सँगै पो उल्टो अनुनय विनय उहाँको महाराजगन्जमा भेट भएर हिड्यौँ । साँझ ६.३० मा पुगेर १ घण्टा भलाकुसारी गरेर हिड्यौ हामी । भेटमा उहाले पटकपटक खोटाङ फर्किएर जनताको काम पूरा गर्ने दृढता प्रकट गर्नुभयो ।

हामीले यो अवस्थामा नजान पटकपटक सुझायौँ तर हाम्रो आग्रहलाई गैह्र जिम्मेवार कुरा भनेर रिसाउनु भएको थियो । भाउजू , बुहारी अन्जली , उपेन्द्रजी र म ४ जना थियौं । जनप्रतिनिधिको भुमिका , कर्तव्य र जिम्मेवारीको बारेमा धेरै कुरा भन्नू भएको थियोे उहाँले । विरामी भएको कारण जनताको सेवा गर्नबाट चुकेको भन्दै आत्माग्लानी महशुस थियो उहाँमा । त्याग, समर्पण , निष्ठा र आफ्नो कर्तव्यबोध कहाँ छ र जनप्रतिनिधिहरुमा । न जनताको सेवा गर्ने भन्दै छिचिमिरा झैँ खुलेका राजनीतिक दलका नेतामा ।

जो जस्को जे कर्तव्य छ पूरा गर्ने मानिस कहाँ पाईन्छ र अहिले । आफ्नो कर्तव्य र दायित्वबाट च्युत नभएकै कारण त छुट्टै पहिचान र सम्मान थियो राम दाइ प्रति । पार्टी भित्र मात्र होइन सबैले आदर गर्थे उहाँलाई । धुलिखेले बा को मृत्युले समाज विकासमा अपुरणीय क्षति पुगेको छ । काङ्ग्रेसलाई भएको क्षतिको त हिसाबकिताब हुनै सक्दैन । एक युगमा एक जना मात्रै जन्मन्छन् त्यस्ता कर्तव्यनिष्ठ , निस्वार्थी , निश्पक्ष न्याय , निष्कलंकित , विकासप्रेमी समाज सुधारक व्यक्ति । अन्यायमा परेकालाई न्याय दिन उहाँले पार्टी , जाती साथी कहिल्यै हेर्नू भएन । हेर्नू भयो केवल अन्याय, अत्याचार र रुग्णतामा डगमगाइ रहेको चिन्तन । हो त्यसैले सर्व प्रिय र इमानदार सम्मानित नेताको छाप छोडेर जानुभयो ।

आफू सरक्कै यो लोक छोडेर परमधाम जानू भयो तर धेरैलाई रुवाउनु भयो । माया, प्रेम र सद्भाव छोडेर अस्ताउनु भयो । उहाँको निधनबाट नेपाली काङ्ग्रेस केन्द्र , प्रदेश , जिल्ला लगायत सबै तह भावविह्वल भयो । पार्थिव शरीरमा चारतारे झण्डा ओढाएर सम्मान गर्न पार्टीका जिल्ला सभापति विष्णुकुमार राई रातारात चिसापानी पुग्नुभयो । टाढाटढाबाट रामुको अन्तिम दर्शन गर्न शुभचिन्तकको घुइँचो लाग्यो । यस्ता असल मानिसको मृत्युमा नरुने को हुन्थ्यो र ! पार्टीले दिएको जिम्मेवारी सधैं इमानदार सिपाहिको रुपमा पूरा गर्नुभयो ।

मैले मेरो दुर्भाग्य मान्छु न मलामी जाने अवसर मिल्यो न नेपाली काङ्ग्रेस प्रदेश क्षेत्रीय समितिले क्षेत्र नं. ” ख ” ले चिसापानीमा २५ , पुसमा आयोजनामा गरेको शोकसभामा । मैले यसलाई पनि छैठौं दिन भावीले लेखेको कर्मसँग जोडेको छु । यस्ता महत्त्वपूर्ण कर्म सबैलाई कहाँ जुर्छ र ? भाग्यमानीले मात्रै न पाउने हो पुण्य काममा सहभागी हुन । कोही सहभागी हुन पायो पाएन यो एउटा व्यक्तिको लागि महत्त्व राख्ला तर संस्थागत ढंगले आबद्ध पार्टी, संघ, संस्थाले के कस्तो जिम्मेवारी निर्वाह ग-यो त्यो महत्त्वपूर्ण पाटो हो ।

म आभार व्यक्त गर्दछु रामदाइ जस्तो असल मानिसको मलामीदेखी १३औ दिनको शोक सभाको आयोजक, व्यवस्थापक र सहभागी सबै शुभचिन्तकलाई । दूर्भाग्य छ जो सहभागी हुनै पर्ने कर्तव्यच्युत भएका हामी शुभचिन्तकलाई । उत्कट ईच्छा र चाहना हुँदाहुँदै पनि सबैको आ- आफ्नो वाद्यता र परिस्थितिले हो उक्त पूण्यकर्ममा सहभागी हुन नपाउनु । तर जो जहाँजहाँ भए पनि उहाँको सामाजिक , सामुदायिक , शैक्षिक , राजनीतिक तथा विकास निर्माणमा पु-याउनु भएको योगदान र भूमिकाको प्रशंसा मुक्त कण्ठले भयो , गरियो र भइरहने छ । हामी शुभेच्छुक टाढा थियौं तर पवित्र आत्माले
मनमा संगाली रहेको चोखो फूल पार्थिव शरिरमा अर्पण गर्दै आत्माको चीर शान्तिको कामना ग-यौँ – गरिरहने छौँ।

हामीलाई थहा छ जतिबेला नाङ्गो आङ्ग भएकाले
पुरै शरीर ढाक्न पाउँछन् , भोको पेट भएकाले अघाउँजी खान पाउँछन् , विकास निर्माणबाट पछाडि परेका जनताले सहज विकासको अनुभुती गर्न पाउँछन् त्यतिबेला मात्रै राम दाइको आत्माले चीर शान्ति पाउँछ र सच्चा श्रद्धाञ्जली हुनेछ ।


हो हामी दृढ निश्चयी छौँ कि तपाईंका ती सपनालाई साकार पार्दै तपाईंको आत्मामा शान्ति दिलाउन । धन्य हुनुहुन्छ वुवा मानबहादुर र आमा निरकुमारीे जस्ले रामकुमार जस्तो लगनशील , मेहनती ,कर्तब्यनिष्ट छोरा जन्माउनु भयो । सलोट छ । श्रीमती निरकुमारी श्रेष्ठलाई परिवारको लालनपालन र घर व्यवहार चलाउँदै घरमा आएका पार्टीका नेता कार्यकर्तालाई सधैँ सम्मान र स्वागत गर्नुभयो जस्को कारण सबैको मनमुटुमा अटाउने एक लोकप्रिय समाजसेवी नेता बनाउन सफल हुनुभयो । भाग्यमानी हुनुहुन्छ छोरा, बुहारी स्व. राजेन्द्र , नवराज – अञ्जली , देवराज – लक्ष्मी र खेमराज र नातिनातिना अनमोल र आर्यलाई जस्ले पिताजीको पदचापलाई पछ्याउँदै सबैको माया , प्रेम र आशिर्वाद पाउनु भएको छ ।

अन्त्यमा , नेपालको लोकतान्त्रिक आन्दोलनमा सकृय सहभागी भएर शैक्षिक , सामाजिक , राजनीतिक , सांस्कृतिक तथा समाज विकासका लागि पुर्‍याउनु भएको महत्त्वपूर्ण योगदानको उच्च सम्मान गर्दै उहाँ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै यो जीवन मर्ने जीवन हो तर हजारौंको सद्भाव र शुभेच्छा पाएर विदा हुने कमै भाग्यमानी मध्येका रामकुमार श्रेष्ठको आत्माको चीर शान्तिको कामना गर्दछु । उहाँको सपनालाई पूरा गर्न सक्यौं भने मात्रै सच्चा श्रद्धाञ्जली हुनेछ । तपाईं यश लोकमा नभए पनि सधैं अमर रहिरहनु हुनेछ । अलविदा राम दाइ , जय नेपाल ।

(लेखक तीर्थराज भट्टराई उपसभापति नेपाली कांग्रेस खोटाङ)

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता
पत्रपत्रिका

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …

मुद्दा सुनुवाइ नगरेको भन्दै पीडितद्वारा सर्बोच्च अगाडि नाराबाजी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबारबाट सबै प्रकृतिका मुद्दाको सुनुवाइका लागि पेसी तोकेका छन् । प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आएका न्यायाधीशहरूलाई इजलास फर्काउनका लागि …