तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश संरचनाको नेतृत्व चयनका लागि अधिवेशन सुरु भएको छ । कांग्रेसले देशको संविधानअनुसार पहिलोपटक सातै प्रदेशको नेतृत्व चयन गर्न लागेको हो ।

कांग्रेस प्रदेश अधिवेशनमा केन्द्रीय महाधिवेशनमा जस्तै पार्टीभित्रको गुटअनुसार नै नेतृत्व हात पार्न प्रतिस्पर्धा हुने देखिएको छ । जसअनुसार कांग्रेसको संस्थापन पक्ष, संस्थापन इतर पक्ष र तेस्रो धारका बीच प्रतिस्पर्धा हुने देखिएको हो । प्रदेश नेतृत्व चयनका लागि आज शुक्रबनर सातमध्ये ६ प्रदेशमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ । प्रदेश २ मा भने अधिवेशन पछि हुनेछ ।

प्रदेश १ मा देउवा–सिटौला सहकार्य

कांग्रेस प्रदेश अधिवेशनमा प्रदेश १ मा देउवाले नेतृत्व गरेको संस्थापन समूह र तेस्रो धारको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौला नेतृत्वको समूहबीच सहकार्य हुने सम्भावना बढेको छ । सो प्रदशेमा सिटौला समूहले उद्धव थापालाई उम्मेदवार बनाएको छ ।

यसैगरी, प्रदेश १ मा संस्थापन इतर समूहले गुरुराज घिमिरेलाई उम्मेदवार बनाएको छ । घिमिरे हाल कांग्रेस केन्द्रीय सदस्य छन् ।

कांग्रेस पहिलोपटक प्रदेश संरचनामा

प्रदेश २ मा निधीको हात

प्रदेश २ को अधिवेशनमा सभापतिका लागि रामसरोज यादव, महेन्द्रराय यादव र कृष्ण यादव गरी अहिलेसम्म तीन जना आकांक्षी देखिएका छन् । तीन जना आकांक्षीमध्ये रामसरोज र कृष्ण कांग्रेस उपसभापति विमेलेन्द्र निधीनिकट हुन् । महेन्द्र राय यादव भने देउवानिकट मानिन्छन् । प्रदेश २ मा निधीकै प्रभाव बढी छ ।

प्रदेश २ मा संस्थापन इतर समूहले कसलाई उम्मेदवार बनाउने भन्ने तय भएको छैन । पर्सा जिल्लाका पूर्वसभापति राजेन्द्र अमात्यले संख्यात्मक हिसाबले कमजोरसमेत भएकाले उम्मेदवार’bout तय नभएको बताए ।

प्रदेश २ का जिल्लाहरूमा क्षेत्रीय अधिवेशन नै बाँकी रहेकाले शुक्रबारसम्म क्षेत्रीय अधिवेशन सक्ने तयारी भइरहेको र आइतबार अधिवेशन गरिने प्रदेश २ का लागि संयोजक तोकिएका नेता रमेश रिजालले जानकारी दिए ।

बाग्मतीमा त्रिपक्षीय भिडन्त हुँदै

बाग्मती प्रदेशमा संस्थापन पक्षबाट इन्द्र बानियाँले उम्मेदवारी घोषणा गरेका छन् । यसैगरी, संस्थापन इतरतर्फबाट जगदीशनरसिंह केसी उम्मेदवार तय भइसकेका छन् भने सिटौला समूहबाट काठमाडौं कांग्रेसका पूर्वसभापति एवं पूर्व रक्षामन्त्री भीमसेनदास प्रधान अघि बढेका छन् । यसरी हेर्दा बाग्मतीमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।

गण्डकीमा आकांक्षी धेरै

गण्डकी प्रदेशको प्रदेश नेतृत्व लिन संस्थापन समूहबाट केन्द्रीय सदस्य अर्जुन जोशी अघि बढेका छन् । यसैगरी, कास्की कांग्रेसका सभापतिको अनुभव लिइसकेका देवराज चालिसे, पूर्वमन्त्री यज्ञबहादुर थापा, कास्कीका पूर्वसभापति शुक्रराज शर्मा, तनहुँ कांग्रेसका पूर्वसभापति रघुनाथ पौडेल संस्थापन इतर समूहबाट आकांक्षी छन् ।

लुम्बिनीमा तोकिए

लुम्बिनी प्रदेश समितिको नेतृत्वका लागि पार्टीभित्रका दुईवटा पक्षले छुट्टाछुट्टै उम्मेदवारी घोषणा गरेका छन् । संस्थापन पक्षबाट रूपन्देहीका संघीय सांसद एवं सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाह र संस्थापन इतर पक्षबाट रोल्पाका नेता अमर पुनले उम्मेदवारी घोषणा गरेका हुन् ।

कर्णालीमा शाह र शाही

कर्णाली प्रदेश सभापतिमा संस्थापन समूहले राजीवविक्रम शाहलाई सभापतिको उम्मेदवार बनाउने भएको छ । यस्तै संस्थापनइतर समूहबाट भूपेन्द्रजंग शाही उम्मेदवार हुने तय भइसकेको छ । शाही तरुण दलका महामन्त्री हुन् । यो प्रदेशमा संस्थापन पक्ष बलियो छ ।

सुदूरपश्चिममा संस्थापनकै भिडन्त

सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा संस्थापन समूहबीच नै प्रतिस्पर्धा हुने भएको छ । सो प्रदेशमा संस्थापन पक्षका नेताहरू रमेश लेखक र एनपी साउदबीच नै प्रदेश अधिवेशनमा पनि प्रतिस्पर्धा हुने भएको हो ।

कांग्रेस कैलालीका सभापति नरनारायण शाह, पूर्वराज्यमन्त्री अर्जुनजंगबहादुर सिंह, पूर्वराज्यमन्त्री गोविन्दबहादुर शाह, पुष्प शाही र गोविन्द बोहराले संस्थापन समूहबाट प्रदेश सभापतिमा आकांक्षा देखाएका छन् ।

तर संस्थापन इतर पक्षले भने यो मौकामा आफ्ना उम्मेदवारलाई सर्वसम्मत गराउने प्रयास पनि थालेको छ । इतर समूहबाट सो प्रदेशमा पूर्वमन्त्री वीरबहादुर बलायर सभापतिका आकांक्षी छन् । यो समूहले संस्थापनको कुनै एक पक्षलाई हात लिने अवस्था पनि सो प्रदेशमा बन्न सक्छ ।

कुन प्रदेशमा कति मतदाता ?

शुक्रबार ६ वटा प्रदेशमा प्रदेश अधिवेशनका लागि उम्मेदवारको मनोनयन दर्ता हुनेछ । ६ वटा प्रदेशमा गरी कुल ८ हजार ४ सय ६७ प्रतिनिधिहरूले महाधिवेशनमा भाग लिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस विधानअनुसार पार्टीको प्रदेश महाधिवेशन प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूले प्रदेश महाधिवेशनमा भाग लिन पाउने व्यवस्था छ ।

निर्वाचन समितिका अनुसार प्रदेश १ मा १ हजार ७ सय ७० जनाले मतदानमा सहभागी हुन पाउनेछन् । सो प्रदेशमा १ हजार १४ प्रदेश महाधिवेशन प्रतिनिधि तथा ७ सय ५६ केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू मतदाता हुनेछन् ।

बाग्मती प्रदेशमा २ हजार १ सय ३७ जनाले मतदाता हुनेछन् । जसमा १ हजार २ सय ४५ प्रदेश महाधिवेशन प्रतिनिधि र ८ सय ९२ केन्द्रीय महाधिवेशन प्रतिनिधि छन् । गण्डकी प्रदेशमा १ हजार १ सय ५३ छन् । गण्डकीमा ६ सय ६० प्रदेश महाधिवेशन प्रतिनिधि र ४ सय ९३ केन्द्रीय महाधिवेशन प्रतिनिधि मतदाता रहनेछन् ।

यसैगरी, लुम्बिनीमा १ हजार ६ सय ४२ जना प्रदेश अधिवेशनका मतदाता छन् । सो प्रदेशमा ९ सय ४९ जना प्रदेश प्रतिनिधि र ६ सय ९३ केन्द्रीय महाधिवेशन प्रतिनिधिको मतदाता छन् ।

यस्तै, कर्णालीमा ७ सय ४९ मतदाता छन् । जसमा ४ सय ३३ जना प्रदेश प्रतिनिधि र ३ सय १६ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि मतदानमा सहभागी हुने निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशमा १ हजार १६ जना प्रतिनिधि अधिवेशनमा मतदाता हुनेछन् । सो संख्यामा ५ सय ८९ प्रदेश प्रतिनिधि र ४ सय २७ केन्द्रीय महाधिवेशन प्रतिनिधि पर्छन् । राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …