तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

तनहुँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले तनहुँ जलविद्युत् आयोजना निर्माणमा ढिलाइ नगर्न निर्देशन दिनुभएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको आयोजनाको आज निरीक्षणपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री भुसालले समयमै आयोजना निर्माण सम्पन्न गर्नेतर्फ कटिबद्ध भएर लाग्न निर्देशन दिनुभयो । 

“प्रशासनिक जटिलताका कारण आयोजनाको काममा समस्या हुँदैन, त्यसका लागि सहजीकरण गर्न म सदैव तयार छु”, उहाँले भन्नुभयो, “आयोजनास्थलमा दत्तचित्त भएर लाग्नुहोला ।” मन्त्री भुसालले आयोजनाको काममा कुनै समस्या आए राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवालाले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले तनहुँ जलविद्युत् आयोजना राष्ट्रको समृद्धिको परियोजना भएकाले स्रोतसाधनमा कमी नहुने विश्वास व्यक्त गर्नुभयो । “रणनीतिक हिसाबले जलाशययुक्त यो योजना निकै महत्वपूर्ण छ, स्रोतसाधनको कमी हुँदैन”, उहाँले भन्नुभयो । मन्त्री भुुसालले आयोजनाले तनहुँका जनताको जीवनस्तर उकास्न सहयोग पु¥याउने बताउनुभयो । 

सो क्रममा मन्त्री भुसालले आयोजनाको बाँधस्थल र विद्युतगृहको निरीक्षण गर्नुभएको थियो । मन्त्री भुसाललाई तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरण श्रेष्ठ र आयोजना प्रमुख अच्युत घिमिरेले आयोजनाको निर्माण कार्यको बारेमा जानकारी गराउनुभएको थियो । 

निरीक्षणपश्चात् कार्यालयमा आयोजित ‘ब्रिफिङ’ कार्यक्रममा प्रबन्ध सञ्चालक श्रेष्ठले आयोजनाअन्तर्गतका तीन वटै प्याकेजको कामले गति लिएको जानकारी गराउनुभयो । आयोजना प्रमुख घिमिरेले आयोजनाको वर्तमान अवस्थाको बारेमा जानकारी गराउँदै समस्याका बारेमा मन्त्री भुसालको ध्यानाकर्षण गराउनुभयो । 

आयोजनाको सबैभन्दा ढिलाइ भएको प्याकेज एक अन्तर्गतको कामका लागि गत भदौ १५ देखि निर्माण कम्पनी परिचालन भइसकेको छ । प्याकेज एक अन्तर्गत नदी फर्काउने, बाँध निर्माणलगायत काम हुनेछ । उक्त कामका लागि आयोजनाले सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीसँग सम्झौता गरेको थियो ।  

आयोजनाको प्याकेज १ (हेडवक्र्स) निर्माण कार्यका लागि निर्माण कम्पनी सिएमसी डि राभेना, इटालीसँग विसं २०७५ असोज १५ मा सम्पन्न खरिद सम्झौता रद्द भएपश्चात् कम्पनीले विसं २०७६ वैशाख १२ गते पुनः बोलपत्र आह्वान गरेको थियो । कम्पनीले उक्त बोलपत्र प्रक्रियामा प्राप्त कुनै पनि प्राविधिक बोलपत्रहरु सारभूत रूपमा प्रभावग्राही हुन नसकेकाले सबै बोलपत्रहरु अस्वीकृत गरी एसियाली विकास बैङ्कको खरिद निर्देशिकाअनुरूप विसं २०७६ फागुन १६ गते दोस्रो पटक पुनः बोलपत्र आह्वान गरेको थियो ।

प्याकेज २ अन्तर्गत सिनो हाइड्रोले भूमिगत काम गरिरहेको छ । उक्त प्याकेजअन्तर्गत पावरहाउस, वर्क टनेल, सर्च ट्याङ्कलगायत काम भइरहेको छ । प्याकेज ३ अन्तर्गतको प्रसारण लाइन निर्माणको कामले पनि तीव्रता पाएको छ । 

कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …