तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

दमक। पछिल्लो समय झापा जिल्ला लागुऔषध तस्करीको ट्रान्जिट बन्दै गएको छ ।

खुला सिमाका कारण पछिल्लो समय झापा लागुऔषध प्रयोगकर्ता तथा कारोवार गर्नेहरुको अखडा बन्दै सप्लाई गर्ने ट्रान्जिट बन्दै गएको हो । जिल्लाका मुख्य सहरी क्षेत्रमा दिनहुँजसो लागुऔषध ओसारपसार तथा प्रयोगकर्ता नियन्त्रण हुने क्रम बढ्दै गएपछि लागुऔषधको त्यस्तो अवस्था बाहिर आएको हो ।

सरकारको ऐन तथा नीतिलाई लत्याउँदै कतिपय औषधि पसलमा समेत त्यस्ता प्रतिबन्धित लागुऔषध बिक्री वितरण भइरहेको बताइएको छ । सरकारले तोकेका मापदण्डविपरीत औषधि व्यवसायीले खुलेआम लागुपदार्थ बिक्री वितरण गरिरहेका कारण पनि समस्या बन्दैगएको पाइएको छ ।

लागुऔषधको दुरुपयोगको समस्या दिनानुदिन बढिरहेकाले झापा प्रहरी आक्रमक शैलीमा लागुऔषध कारोबारी पक्राउ गर्न थालेको प्रहरीले जनाएको छ । लागुऔषध ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी हुने गरेको तथ्याङ्कले देखाएको छ । विश्वव्यापी समस्याका रुपमा रहेको लागुऔषध प्रयोग र कारोबार झापामा पनि जटिल बन्दै गएको प्रहरी अधिकारीको दाबी छ । लागुऔषध प्रयोग गरेका कारण पनि जिल्लाको शान्ति सुरक्षामा समेत नकारात्मक असर परिरहेको प्रहरीले जनाएको छ । बाहिरी देशमा सङ्गठित र सक्रिय गिरोहको सञ्जालले गर्दा पनि नियन्त्रण कार्य चुनौतीपूर्ण रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पूर्वी काँकडभिट्टा र दक्षिणी गौरीगञ्ज भारतीय नाकाबाट बढीजसो लागुऔषध जिल्लामा भित्रिने गरेको छ । त्यो नाकाहुँदै कारोवारीले जिल्लाको सहरी क्षेत्र धुलाबारी, चारआली, बिर्तामोड, भद्रपुर, दमकलगायतका क्षेत्रमा पु¥याउने गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईका अनुसार खुला सीमाका कारण नेपाल र भारतको स्थलमार्ग हुँदै ठूलो परिणाममा लागुऔषध ओसारपसार हुने गरेको छ । भारतबाट ब्राउन सुगर, हेरोइन, कोकिनलगायत लागुऔषध नेपाल आउने गरेको पाइएको छ । नेपालबाट गाँजा, चरेस र अफिम ठूलो परिणाममा भारततर्फ तस्करी हुनेगर्छ ।

सङ्गठित रुपमा हुने लागुऔषध तस्करी रोक्न प्रहरीले प्रयास गर्दै आए पनि सफल हुनसकेको छैन । तस्कर समूहले विभिन्न उपाय लगाएर लागूऔषधको कारोबार गरिरहेको र त्यसलाई नियन्त्रण गर्न प्रहरी परिचालित भइरहेको उहाँको भनाइ छ । झापा जिल्लामा गत आर्थिक वर्ष २०७६÷७७ को तुलनामा चालू आर्थिक वर्ष २०७७÷७८ को मङ्सिरसम्म लागुऔषधका मुद्दा ६५ दशमलव ७ प्रतिशतले वृद्घि भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७ देखि २०७८ मङ्सिरसम्म ७९० लागुऔषध कारोबारी पक्राउ परेका छन् । गत आर्थिक वर्षमा लागुऔषधसम्बन्धी कसुरमा प्रहरीले १८२ जनालाई पक्राउ गरेको थियो । अघिल्लो आर्थिक वर्षमा लागुऔषध सम्बन्धीका ११८ मुद्दा दर्ता भएका थिए । तर चालू आर्थिक वर्षको यो अवधिमा लागुऔषध प्रयोग तथा ओसारपसारमा संलग्न हुनेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा बढेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा अधिकांश १४ देखि ४० वर्ष उमेरसम्मका छन् । उनीहरूले शरीरका विभिन्न भागमा लागुऔषध लुकाएर ल्याएका थिए । पक्राउ पर्नेहरूमध्ये अधिकांशले आफू भरिया भएको बताउँछन् । लागुऔषध सीमा कटाएबापत रु एक हजारदेखि १० हजारसम्म ज्याला पाउने उनीहरू बताउँछन् ।

लागुऔषध प्रयोगकर्ताहरूका अनुसार नेपाल–भारत चल्ने बस, सहज रूपमा सीमावारपार गर्ने रिक्सा, मोटरसाइकल, मालवाहक ट्रक र बाह्रैमास किनमेलका लागि काँकडभिट्टा र गौरीगञ्ज बजार जाने नेपालीको भीडबाट प्रहरीको आँखा छल्न सहज हुने लागूऔषध मुद्दामा जेलजीवन काटिरहेका एक युवा बताउँछन् । जहिल्यै भीडभाड हुने मुख्य नाका र त्यसवरपर नेपाल प्रहरीको निगरानी कम पुग्दा लागुऔषध तस्करले खेतबाट रातसाँझको समयमा समेत लागुऔषध नेपाल भित्रियाउने उहाँले बताउनुभयो । काँकडभिट्टा र गौरीगञ्जमा रु डेढ सयदेखि दुई सय पर्ने लागुऔषध काठमाडौं, चितवन र पोखरा पु¥याउँदा रु एक हजारदेखि तीन हजारसम्म प्रतिडोज मूल्य पर्ने भएकाले तस्करहरू यस नाकातर्फ पल्किएको ती युवाको भनाइ छ ।

लागुओसारपसारका घटनामा कानुन कठोर भए पनि नियन्त्रणका उपाय भने प्रभावकारी देखिएका छैनन् । प्रहरीले ओसारपसारमा संलग्न साना भरिया समाते पनि मुख्य नाइके तथा कारोबारी पक्राउ परेका घटना भेटिँदैनन् ।

विदेशी नागरिकले लागुऔषध नेपालको सीमानासम्म ल्याइदिने र त्यहाँबाट भने नेपालीले लागुऔषध स्थानीयस्तरमा पु¥याउने गरेको पाइएको छ । जसकाकारण मुख्य कारोबारी पक्राउ गर्न हम्मेहम्मे पर्ने गरेको प्रहरीको भनाइ छ । त्यसो त नेपालमा प्रतिबन्धित लागुऔषध भारतीय बजारमा सहजै खरिद गर्न पाउने भएकाले पनि नेपाली प्रयोगकर्ताका लागि भारतीय बजार रोजाइँमा पर्ने गरेका प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो ।

लागुऔषधको कारोबार तथा प्रयोगकर्ता घटाउन सरकारी तथा गैरसरकारी सङ्घ संस्थाले काम गरिआएपनि झापामा भने खासै प्रभावकारी बन्न नसकेको सरोकारवालाले बताउँछन् । झापामा एक दर्जन बढी गैरसरकारी संस्थाले जिल्लाभरि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिआएका छन् । त्यतिकै सङ्ख्यामा लागुऔषध प्रयोगकर्ताका लागि सुधार केन्द्र सञ्चालनमा छन् ।

सरकारी तथ्याङ्कका अनुसार अहिले देशभर लागुऔषध प्रयोगकर्ताको सङ्ख्या दुई लाखभन्दा बढी रहेको छ । पुरुषको सङ्ख्या बढी भए पनि महिला पनि लागुऔषध कारोबारमा सक्रिय रहेको बताइएको छ । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …