तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

लमजुङ। चक्रीय अन्नपूर्ण पदमार्ग छेवैमा सङ्लो पानी झर्झर् झर्दै झरिरहेको छहरा । साठी मिटर माथिबाट झरेको पानी बज्रिन्छ छहराको फेँदीको सुन्दर पोखरीमा । छहरामा लहराउँदै झरेको पानीमा सूर्यको किरणसँगै देखिने इन्द्रेणीले झनै यहाँ सुन्दरता थपिदिन्छ । मस्र्याङ्दी गाउँपालिका–८ भुलभुलेमा रहेको त्यही सुन्दर आकाशे छहरा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।

बर्खायाममा बोलमा झरनाको पानी पदमार्गसम्मै आइपुग्छ । पदमार्ग छेवैमा पर्ने भएकाले पदमार्गमा आउने अधिकांश पर्यटक एकछिन रोकिएरै झरनाको मज्जा लिने गरेका छन् । कोही यही झरनासँगै सेल्फी खिच्ने गर्दछन् । पदमार्गमा आउने विभिन्न देशका पर्यटकदेखि विभिन्न जिल्लाबाट आएका आन्तरिक पर्यटक मात्र नभई यही पालिकाका विभिन्न ठाउँका स्थानीयवासीसमेत यस झरनासम्म आउने गरेको स्थानीयवासीको भनाइ छ । झरनाको प्राकृतिक सुन्दरता नियाल्न तथा झरनासँग रमाउनका लागि दैनिक २०० जनाको हाराहारीमा पर्यटक आगमन भइरहेको छ । चाडपर्व र बिदाको समयमा यसको सङ्ख्या दोब्बरजस्तै हुने गरेको मस्र्याङ्दी गाउँपालिका उपाध्यक्ष होमबहादुर विकले बताउनभयो ।

अझै यस झरनाको प्रचारप्रसार गर्न सकेमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने र यहाँका स्थानीयवासीको आयआर्जनमा समेत वृद्धि हुने यस गाउँपालिकाका स्थानीयवासी सरोज गुरुङले बताउनुभयो । जति यस झरनाको बारेमा सुनेको थिएँ, प्रत्यक्ष आफैँ यहाँ आइपुग्दा त्यो भन्दा बढी राम्रो रहेछ । यस झरनामा आइपुग्दा आनन्द र मन फुरुङ्ग भएको आन्तरिक पर्यटक अमृता तामाङले बताउनुभयो । यस्तै अर्का आन्तरिक पर्यटक सन्देश यादवले भन्नुभयो, “स्वर्ग हेर्न अन्त जानु नपर्ने रहेछ, यस्तै झरनामा आइपुग्दा र हेर्दा स्वर्ग पुगेझैँ भएको छ ।” यहाँ आइपुगेपछि फर्किनै मन नलागेको र झरनासँगै रमाइराख्ने चाहना भएको उहाँको भनाइ छ । यहाँ उहाँहरुजस्ता संयौँ युवायुवतीको भीड लाग्ने गर्दछ । झरना हेर्नका लागि पदमार्गमा आउने पर्यटकबाहेक पनि कोही मोटरसाइकलमा त कोही जीप तथा बस रिजर्भ गरेरै पनि आउने गरेका छन् ।

कोरोनाले सुनसान बनाएको लामो समयपछि असोज महिनाबाट दैनिक पर्यटक आगमन वृद्धि भइरहँदा यहाँका होटलमा आम्दानीसमेत वृद्धि भइरहेको छ । झरनामा आउने पर्यटक र यस पदमार्गमा आउने पर्यटकलाई लक्षित गरी उक्त क्षेत्र आसपास दर्जनाँै होटल तथा रेष्टुरेण्ट सञ्चालनमा छन् ।

दुई वर्षअघि गाउँपालिकाले पर्यटकलाई मध्यनजर गर्दै करिब रु १० लाख लागतमा सो झरनासम्म जाने सिँढी र फलामे पुललगायतका पूर्वाधार निर्माण गरेको थियो । यस झरनामा पछिल्लो समयमा बाह्य तथा आन्तरिक पर्यटकको चाप बढ्दै गएपछि थप पूर्वाधार निर्माण गर्ने योजनामा गाउँपालिका रहेको उपाध्यक्ष विकले जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाले पनि पर्यटनलाई आफ्नो प्राथमिकतामा राखेकाले यस झरनासहित पालिकामा रहेकै अन्य झरनादेखि पर्यटकीयस्थल तथा पर्यटन क्षेत्रका विकासमा लगानी गर्नेछ ।” पर्यटन क्षेत्रबाटै देश आर्थिक समृद्धितर्फ उन्मुख हुनेसमेत उहाँको भनाइ छ ।रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …