तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । मनसुन सकिएपछि आएको भारी वर्षाका कारण बाढीपहिरोमा परी बुधबार थप ७२ सहित मृत्यु हुनेको संख्या ८८ पुगेको छ । सुदूरपश्चिमबाट सुरु भएको अविरल वर्षा मंगलबारदेखि पूर्वतर्फ सर्दा पूर्वी पहाडी जिल्लामा जनधनको क्षति बढी भएको छ ।

बुधबार पाँचथरमा २७, इलाममा १३, धनकुटामा ७, उदयपुरमा २ र मोरङमा १ जनाको मृत्यु भएको छ । त्यसैगरी पश्चिमका बझाङ र हुम्लामा ६/६, डोटीमा ५, कपिलवस्तु, प्यूठान, डडेलधुरा, बैतडी र कैलालीमा १/१ जनाको ज्यान गएको हो ।

पाँचथरको मिक्लाजुङ गाउँपालिकामा मात्रै २१ जनाको मृत्यु भएको र ३ जना बेपत्ता रहेको पालिका अध्यक्ष अमर माखिमले बताए । मंगलबार राति पहिरोमा पर्दा पाँचथरको फिदिम–४ मा २, फाल्गुनन्दमा ३ र कुम्मायकमा १ जनाको मृत्यु भएको छ । पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले दर्जनौं घर/परिवार विस्थापित भए पनि टेलिफोन र मोबाइल सेवा अवरुद्ध भएका कारण क्षतिको पूर्ण विवरण संकलन हुन नसकेको बताए ।

इलामको फाकफोकथुम गाउँपालिकामा पुरिएर एकै परिवारका ४ सहित ६ जनाको ज्यान गएको छ । घरमाथिको ढिस्को खस्दा ८६ वर्षीय नैनसिंह कटुवाल, ७५ वर्षीया रनदत्ता थापा, १५ वर्षीया निशाना कटुवाल र १३ वर्षीय निश्चित कटुवालको मृत्यु भएको हो । माथिल्लो तलामा सुतेका समीक्षा र गोमा कटुवाल बच्न सफल भएका छन् ।

पहिरोले घरलाई धक्का दिँदा माथिल्लो तलामा सुतेका दुई जनालाई उछिट्याएर बाहिर फाल्दा बाँच्न सफल भएका हुन्,’ स्थानीय उद्धव लामिछानेले भने । धनकुटाको चौबीसे गाउँपालिका–१ गडेरेमा पहिरोले घर भत्काउँदा ७ जनाको मृत्यु भएको छ, पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा ११ वर्षीय सञ्जाल श्रेष्ठ, ६० वर्षीय भीमबहादुर श्रेष्ठ, उनका नाति ९ वर्षीय विनोद, ५ वर्षीया नातिनी निर्जला र झापा दमक– ११ घर भएका पाहुना ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र ७ वर्षीया दिप्सन श्रेष्ठ छन् ।

नेपाल विद्युत् प्राधिकरणको दुहबी ग्रिडको सेक्सनमा पानी जमेपछि मंगलबार रातिदेखि प्रदेश १ विद्युत्विहीन छ । पानी निकाल्ने काम भइरहेको र क्षतिको अध्ययन गरेर मात्र मर्मतपछि विद्युत् आउने प्राधिकरणको प्रदेश १ कार्यालयले जनाएको छ ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० धर्मपुर गाउँनजिक रहेको घोरही नालाले बुधबार दिउँसो दुई महिलालाई बगाएकामा एक जनाको शव फेला परेको छ । नाला छेउछाउ तरकारी टिपेर घर ढढिहवा गाउँ फर्कने क्रममा उनीहरूलाई बगाएको हो । ३२ वर्षीया सीता थारूको शव सय मिटर तल रूखमा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । १४ वर्षीया सिर्जना थारू भने बेपत्ता छिन् ।

पहिरोले घर भत्किँदा हुम्लाको खार्पुनाथ गाउँपालिका–५ खर्पेलमा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । मंगलबार राति स्थानीय धनवीरे शाहीको घर पहिरोले पुरिएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार ६५ वर्षीय शाही, उनकी छोरी ४० वर्षीया आशा, ज्वाइँ ५५ वर्षीय कलबहादुर शाही, नातिहरू १३ वर्षका अलिन्द, ५ वर्षीय हुमेस र ३ वर्षका जसबहादुर शाहीको मृत्यु भएको हो । एकान्तमा घर भएकाले छिमेकीले समेत बुधबार बिहान पहिरो गएको थाहा पाएका थिए । पहिरोका कारण बस्ती नै जोखिममा परेपछि स्थानीयलाई मंगलबार राति नै माडुस्थित सुरक्षित स्थानमा पठाइएको प्रदेश प्रहरी प्रमुख डीआईजी गणेशबहादुर ऐरले बताए ।

कर्णाली नदीमा आएको बाढी घरमा पसेर कैलालीको टीकापुर नगरपालिका–८ कर्मीडाँडाका ९४ वर्षीय करवीर ढोलीको बुधबार बिहान मृत्यु भएको छ । वडाध्यक्ष दीर्घ ठकुल्लाका अनुसार घरमा भएको सामान र मान्छे सुरक्षित ठाउँमा सार्दासार्दै बाढीमा डुबेर उनको मृत्यु भएको हो ।

बझाङको थलारा गाउँपालिका–४ को डिक्म्ला गाउँमा पहिरोमा पुरिएका २३ जनामध्ये २ जना बुधबार मृत फेला परेका छन् । सोमबारदेखि पहिरोमा परी सम्पर्कविहीन भएका उनीहरूको उद्धार र खोजीका लागि बुधबार बझाङ सदरमुकामबाट सेना, प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली घटनास्थल पुगेको छ । खप्तड छान्ना गाउँपालिकामा ४ जनाको पहिरोमा परेर मृत्यु भएको छ ।

विराटनगर विमानस्थल डुबानमा

मंगलबारदेखिको अविरल वर्षापछि आएको बाढीले विराटनगर विमानस्थल डुबानमा परेको छ । नजिकका वस्ता र केसलिया खोलाको बाढी विमानस्थल पसेको हो । बाढीले विराटनगर–४, ५, १२, १६ का दर्जनौं घर पनि डुबानमा परेका छन् ।

विमानस्थल प्रमुख उत्सवराज खरेलले धावनमार्गको एक किलोमिटर क्षेत्रमा तीन फिटसम्म पानी जमेपछि बुधबार सबै उडान ठप्प भएको बताए । खरेलका अनुसार विराटनगरबाट दिनमा २१ उडान हुँदै आएका छन् । मंगलबार साँझ पनि बुद्ध र श्री एयरको अन्तिम उडान हुन सकेको थिएन । खरेलका अनुसार पानी नघटेकाले उडान सुरु कहिलेदेखि हुने भन्ने निश्चित छैन ।

पूर्वी पहाडमा सडक अवरुद्ध

अविरल वर्षाले पहाडका अधिकांश जिल्लामा पहिरो जाँदा सडक अस्तव्यस्त बन्न पुगेको छ । मेची राजमार्गअन्तर्गत इलामको देउमाई नगरपालिका–१ स्थित देउमीखोपमा झरेको पहिरोका कारण यातायात ठप्प छ । बाढीले फाकफोकथुम र देउमाई नगरपालिकाबीचमा रहेको देउमाई खोलाको पुल पनि मंगलबार राति बगाएको छ । करिब ५० मिटर क्षेत्रमा झरेको पहिरोका कारण पाँचथर, ताप्लेजुङतर्फ जाने र त्यताबाट इलाम, झापातर्फ झर्ने सवारीसाधन रोकिएका हुन् । राजमार्ग खुलाउने प्रयास निरन्तर रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । वर्षाका कारण फिक्कल, इलाम नगरपालिकालगायत क्षेत्रमा झरेको पहिरो हटाइसकिएको छ । इलामबाट झापातर्फका सवारीसाधन दिउँसोदेखि सञ्चालन भएका छन् । इलाम बजारनजिक नारायणस्थानको पहिरो थप गहिरिएको छ ।

तीन दिनदेखिको निरन्तर वर्षाले ओखलढुंगामा पनि दर्जनौं स्थानमा पहिरो गई मुख्य राजमार्ग र ग्रामीण सडक अवरुद्ध छन् । सिद्धिचरण नगरपालिकामा पर्ने छरछरेको पहिरोले चिशंखुगढी गाउँपालिका जाने बाटो रोकेको छ । त्यसैगरी मोलुङ गापा जोड्ने रामपुर सडकको पहिरे खोला, सुनकोसी गापा र मानेभन्ज्याङ जोड्ने माझीगाउँलगायतका ठाउँमा बाटो भत्किएका छन् ।

मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको हैवारमा गएको पहिरोले दुई दिनदेखि यात्रु बाटोमै अलपत्र परेका छन् । उदयपुरको घुर्मी–कटारी सडकमा पनि पहिरोले बाटो बिग्रिएको छ । जसका कारण तराई जाने यात्रु समस्यामा परेका छन् । बाढीले सडक भत्काएपछि बन्द रहेको कोसी राजमार्गको धरान–धनकुटा सडक खण्ड २४ घण्टापछि दिउँसोदेखि एकतर्फी खुलेको छ ।

साँगुरीगढी–६ घण्टेमा लेउती खोलाको बाढीले करिब २ सय मिटर सडक बगाएपछि यातायात अवरुद्ध भएको थियो । धनकुटाको भेडेटार–राजारानी–६ नम्बर बुधबारे सडकसमेत क्षतिग्रस्त भएको छ । उक्त सडकमा यातायात ठप्प रहेको प्रहरीले जनाएको छ । पहिरो र बाढीले धरान–धनकुटा सडक खण्डमा क्षति पुगेको सडक डिभिजन धनकुटाका प्रमुख दानकुमार शाक्यले जानकारी दिए ।

सेतीमा फसेकाको उद्धार

बैतडीको सिगास गाउँपालिका–५ को ढुंगाडमा सेती नदीमा फसेकाहरूको उद्धार गरिएको छ । नदीको बहाव घटेपछि बुधबार प्रहरी र स्थानीयले उनीहरूलाई उद्धार गरेका हुन् । सोमबार राति ढुंगाड बस्तीमा सेती नदीको बाढी पसेर बनेको टापुमा ६० जना फसेका थिए ।

महाकालीमा जोखिम कायमै

महाकाली नदीमा बाढी घटे पनि जोखिम कम भएको छैन । बाढीले नदी किनारको पहुँच मार्ग भत्काइसकेका कारण बाढी बस्तीमा पस्ने जोखिम बढेको छ । जसका कारण विस्थापित हुनेको संख्या बढेको छ ।

बुधबार साँझको मापनअनुसार महाकाली नदीमा पानीको बहाव २ लाख २८ हजार क्युसेक पुगेको छ । नदीमा पानीको बहाव घटे पनि कटान झनै तीव्र पारेको छ । ‘जतिबेला पनि बाढी बस्तीमा पस्न सक्छ,’ स्थानीय नरेन्द्र रानाले भने, ‘बाढी घटेपछि कटान बढेको छ, पहुँचमार्ग बगाइसकेको छ ।’

सुदूरपश्चिमका सबै सडक अवरुद्ध

सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने धनगढी–डडेलधुरा राजमार्ग र अन्य सडकमा पहिरो खस्दा यातायात सेवा ठप्प भएको छ । सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी वामदेव गौतमका अनुसार धनगढी–डडेलधुरा राजमार्ग, बैतडीको खोडपेदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग, बैतडी दार्चुला जोड्ने महाकाली राजमार्ग तथा डडेलधुरा–डोटी, डोटी–अछाम र अछाम–बाजुराको मार्तडी राजमार्गको विभिन्न सडक खण्डका ठाउँठाउँमा सानाठूला पहिरो खसेर तीन दिनदेखि यातायात सेवा ठप्प भएको छ ।

६० परिवारको उद्धार

पानीको सतह बढेपछि कर्णाली र भेरी नदी किनारका ६० परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । भेरी र कर्णाली नदीको संगमस्थल चौकुने–९ घाटगाउँका राजी र माझीबस्ती डुबानमा परेका हुन् । कर्णालीमा आएको बाढीले नदीलाई करिब एक किलोमिटर माथितिर फर्काएर पुलसम्म पुर्‍याएको निरीक्षणमा गएकी कर्णाली प्रदेशसभाकी उपसभामुख पुष्पा घर्तीले बताइन् । उनका अनुसार बाढीकै कारण शिवालय मन्दिर र पार्कसमेत डुबानमा परेको छ । डुबानमा परेका ६० परिवारका २ सय ८० जनालाई स्थानीय सामुदायिक विद्यालयमा सारिएको छ ।

हजारभन्दा बढी परिवार विस्थापित

आइतबारदेखिको वर्षाले कैलालीको पूर्वी भेगका अधिकांश गाउँबस्ती डुबानमा परेका छन् । कर्णाली, कन्द्रा, मोहना र पथरैयालगायतका सानाठूला नदी खोलाको पानी बस्तीमा पसेको हो । बुधबार घाम लागे पनि कर्णाली नदीको पानी अझै बस्तीमा आइरहेको छ । टीकापुर नगरपालिका–१ शिवनगरका सयौं कच्ची घर भत्किएका छन् । बाढीमा परेर एक हजारभन्दा बढी परिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई सुरक्षित स्थानमा राखिएको टीकापुर नगरपालिकाका प्रवक्ता दीर्घ ठकुल्लाले बताएका छन् ।

टीकापुर र राजापुर जोड्ने हुलाकी सडक टीकापुर नगरपालिकाको सत्तीमा भत्किएर बाटो अवरुद्ध बनेको छ । टीकापुर बजार डुबानमा परेको छ । कर्णाली तटीय क्षेत्रमा सयौं बिघाको धानबाली नष्ट भएको छ ।कान्तिपुर दैनिकमा खबर छ ।

-लक्ष्मी गौतम (पाँचथर), रमेशचन्द्र अधिकारी (धनकुटा), विप्लव भट्टराई (इलाम), विनोद भण्डारी (विराटनगर), मनोज पौडेल (कपिलवस्तु), गणेश चौधरी (टीकापुर), चित्रांग थापा (धनगढी), मोहन शाही (डोटी), वसन्तप्रताप सिंह (बझाङ), भवानी भट्ट (कञ्चनपुर), तृप्ति शाही (बैतडी), हरिहरसिंह राठौर (सुर्खेत), कृष्णप्रसाद गौतम (सुर्खेत) र छपाल लामा (हुम्ला)

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …