तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कास्की । गण्डकी प्रदेश सरकारको लगानीमा निर्माणाधीन काठेखोला गाउँपालिका–७, रेश जोड्ने जिरेदीखोलामा निर्माणाधीन पुल अलपत्र छ ।  वन क्षेत्रमा परेको जनाउँदै मुद्दा पर्नु र ठेकेदारले समयमै काम नगरेकाले पुलको काम अगाडि बढ्न नसकेको बताइएको छ ।  

यो पुलको पिल्लर ठड्याउने स्थानमा सामुदायिक वनको जग्गा पर्छ । मुद्दा परेकै कारण ढुङ्गा पनि फोड्न नपाएर पुल निर्माण ढिलाइ भएको काठेखोला गाउँपालिका अध्यक्ष अमर थापाले जानकारी दिनुभयो । “वन ऐन बनेको पनि छैन, हामीले बनाएको ऐन पनि प्रदेश र सङ्घमा बाझिने डरले कार्यान्वयन भएको छैन,” उहाँले भन्नुभयोे, “विकासमै बाधा पर्ने गरी वनका क्रियाकलाप सञ्चालित छन् ।” 

कुँडुले फेदीदेखि कालीमाटी, धम्जा, बिहुँ हुँदै भैरवस्थान जाने सडक पनि ठेकेदारबाट काम अलपत्र छ । सत्ताइस करोड ६८ लाखको यो आयोजनाको ५० प्रतिशत मात्रै प्रगति भएको पूर्वाधार कार्यालयका निमित्त प्रमुख गणेश सुवेदीले जानकारी दिनुभयो । प्रदेश सरकारको बजेटमार्फत पूर्वाधार विकास कार्यालयले उक्त सडकको काम हेर्ने गर्छ । प्रदेश सरकारले कम्तीमा दुई पालिका जोड्ने अवस्था भएमा उक्त सडकलाई रणनीतिक सडक नामाकरण गरेको छ । यहाँ कतिपय स्थानमा दोहोरोपनसमेत भएको टिप्पणी सुरु भएको छ । बागलुङ नगरपालिकाले लगानी गरेर बनेको पैह्राबारी कालीमाटी सडकसमेत यही मार्गमा पर्छ । १४ किमी सडकमध्ये यो सडक आयोजनाले विभिन्न स्थानका ट्र्याक जोड्ने काम मात्रै भएको छ । ग्राभेल गर्नुपर्ने यो सडकमा अहिलेसम्म काम अलपत्र छ । 

गत वर्ष नै सकिने गरी तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा शिलान्यास गरिएको डुडिया खोलाको पुलपनि अलपत्र छ । ढलान गर्ने क्रम सुरु हुनै लाग्दा पुलको संरचनामै समस्या आएको जनाउँदै भत्काइएको छ । यो पुल पुनः टेन्डर प्रक्रियामा जाने तयारीमा छ । यो पुलको काममा ‘डिजाइन’ कमजोर भयो वा निर्माण त्यसको ठोस उत्तर कसैले दिएको छैन ।  समयमा नसकिएपछि फेरि टेन्डरमा जाने अवस्था आउनु दुःखद भएको स्थानीयवासी बताउँछन् । “यतिबेला पुल चलिसक्नुपर्ने हो, तर फेरि के भयो, बन्न लागेको पनि भत्काइयो केही खण्ड वर्षातले बगायो,” काठेखोला–३ का प्रकाश रानाले भन्नुभयो, “विकास निर्माणमा ठेकेदार प्रवृत्तिले पनि हैरान बनाएको छ ।” यो पुल बनेमा तङ्ग्राम र धम्जाका लागि सहज यात्रा हुने उहाँले जनाउनुभयो । 

जिल्लाकै कुश्मीसेरादेखि नाम्दुक जाने १० किमी सडक पनि ४८ प्रतिशत मात्रै प्रगति भएको छ । यहाँ ठेकेदारले काम पूरा गर्न नसकेका हुन् । “प्रभावकारी अनुगमन अभावमा धेरै ठूला आयोजनाहरु अलपत्र रहेछन्,” उहाँले भन्नुभयोे, “अब कडाइका साथ काम गर्ने वातावरण बनाउने र आलटाल रोक्ने संस्थागत उपस्थिति पनि चाहिएको छ ।” बर्सेनि काम अलपत्र पर्दा राज्यको लगानी खेर जाने, जनताले दुःख पाइरहने अवस्था आउने र जिल्लाभित्रका रणनीतिक नामाकरण गरिएका अन्य सडक पनि धेरै स्थानमा ठेकेदारको लापरबाहीले बन्न नसकेको उहाँले बताउनुभयो । 

गलकोटस्थित हटियादेखि ताराखोलाको हिल जोड्ने सडक, ढोरपाटन नगरपालिकाको गाडिखोलादेखि म्याग्दी जोड्ने सडक पनि अलपत्र छन् । ती सडकमा पनि मुस्किलले ५० प्रतिशत मात्रै प्रगति देखिएको उहाँले जानकारीदिनुभयो ।

बहुवर्षे आयोजनामा रुपान्तरण गरेर नियमित बजेट ल्याएपछि मात्रै ती योजना पूरा हुने अवस्था आएको बताइएको छ ।  ती अधिकांश सडकमा २७ करोड प्रदेश सरकारको लगानी छ । “प्रदेश सरकार भनेपछि अनुगमन कम हुने, जिल्लामा त्यसको जिम्मा पनि नदिने प्रवृत्ति बढी छ,” जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुङ्गानाले भन्नुभयोे, “अनुगमन गर्न ठेकेदार र इन्जिनियर गएपछि के परिणाम आउला ?” चुस्त अनुगमन संयन्त्र अभाव भएको उहाँले टिप्प्णी गर्नुभयो । रासस                                                                                                          

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …