तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

गेडागुडी, चामल, चिउरालगायतको भाउ पनि अत्यधिक

काठमाडौँ । दसैं–तिहार नजिकिँदै गर्दा अत्यावश्यक खाद्यवस्तुको मूल्य दिनहुँजसो उकालो लागिरहेको छ । चाडबाडमा माग बढ्ने भएपछि मौका छोपेर व्यवसायीले मूल्य वृद्धि गरेका छन् ।

खाने तेलको मूल्य एक वर्षमै प्रतिलिटर एक सय रुपैयाँसम्म बढेको खुद्रा व्यापार संघले बताएको छ । गेडागुडी, चामल, चिउरा लगायतको मूल्य पनि अचाक्ली छ । २०७७ असोजमा २७५ रुपैयाँ मूल्य रहेको भुटेको तोरीको तेलको अहिले लिटरमै ३४० देखि ३६० रुपैयाँ पुगेको छ । काँचो तोरीको तेल पनि प्रतिलिटर १८०–२८० बाट बढेर ३६० रुपैयाँसम्म पुगेको छ । भटमास तेलको मूल्य प्रतिलिटर १५५ बाट बढेर २४० पुगेको छ । सनफ्लावर तेल प्रतिलिटर १६५–१८० बाट बढेर २५० र डाल्डा घिउ १४५ बाट २३० रुपैयाँ पुगेको छ ।

‘पछिल्लो समय समग्र मूल्यवृद्धि ५ देखि १० प्रतिशत छ,’ संघका महासचिव अमुलकाजी तुलाधरले भने, ‘खाने तेलको मूल्य भने एक सय रुपैयाँ बढेको छ ।’ गेडागुडीमा पनि आयातकै भर पर्नुपरेको छ । ‘कृषिप्रधान मुलुक भनिए पनि सबै आयात हुन्छ, यहाँ ५/७ जनाको कार्टेलिङ चल्छ,’ उनले भने, ‘तर मूल्य बढ्नुको कारण सरकारले अझै पत्ता लगाउन सकेको छैन ।’

चामलमा पनि नयाँ धान नआउन्जेल मूल्य बढ्ने उनको भनाइ छ । संघको तथ्यांकलाई राष्ट्र बैंकको विवरणले पनि पुष्टि गर्छ । चालु आर्थिक वर्षको साउनमा तेल र घिउको मूल्य २९.०७ प्रतिशत बढेको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्ष तेल र घिउको मूल्यवृद्धि ६.४८ प्रतिशत मात्रै थियो । साउनमा मात्रै समग्र मूल्यवृद्धि ४.३५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको साउनमा यस्तो मूल्यवृद्धि ३.४९ प्रतिशत थियो ।

नेपाल वनस्पति घिउ–तेल उत्पादक संघका अध्यक्ष सन्दीपकुमार अग्रवालले भने पूर्णतः परनिर्भर हुनुपरेको र अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा यहाँ पनि त्यसको प्रभाव पर्ने गरेको प्रतिक्रिया दिए । अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्य दोब्बर पुगेकाले सोहीअनुसार यहाँ मूल्य बढेको उनको भनाइ छ । भाडा वृद्धि, तेलको सहायक कच्चा पदार्थ र प्याकिङ सामग्रीमा समेत मूल्यवृद्धि भएको उनले बताए ।

हाल घिउ–तेल उत्पादक संघमा २० उद्योग आबद्ध छन् । ती उद्योगलाई चाहिने कच्चा पदार्थ क्रुड सोयाबिन तेल, क्रुड सनफ्लावर तेल र तोरीका दाना ब्राजिल, अर्जेन्टिना, क्यानडा, अस्ट्रेलिया, युक्रेनलगायत मुलुकबाट आयात हुन्छ ।

संघको दाबीमा उपभोक्ता अधिकारकर्मी भने सहमत छैनन् । ‘कच्चा पदार्थको मूल्य बढेर तेलको मूल्य वृद्धि गर्‍यौं भन्नु बहाना मात्र हो, अन्तर्राष्ट्रिय बजारमा बढेको अनुपात र यहाँ भएको मूल्यवृद्धिको विश्लेषण भएको छैन,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘चाडबाडमा उपभोक्तालाई सहुलियत उपलब्ध गराउनुपर्नेमा मूल्य बढाएर ठगी गरिएको छ । यसलाई तत्काल नियन्त्रण गर्नुपर्छ ।’ मूल्य अकासिएकाले सरकारले तत्काल प्रभावकारी अनुगमन गर्नुपर्ने उनको सुझाव छ ।

चिनीको मूल्य पनि बढेर प्रतिकिलो ९५ रुपैयाँ पुगेको खुद्रा व्यापार संघको तथ्यांक छ । एक वर्षमा हरियो केराउमा प्रतिकिलो २० रुपैयाँ बढेर किलोको १४० पुगेको छ । सानो केराउ १६०, राजमा, रहर दाल, मुसुरो दाललगायतको मूल्य पनि किलोमै २० रुपैयाँसम्म वृद्धि भएको छ । पछिल्लो लकडाउन र अहिलेकै बजार तुलना गर्दा ५ देखि १० प्रतिशत मूल्यवृद्धि भएको उद्योग वाणिज्य महासंघ वाग्मती प्रदेश उपाध्यक्ष दुर्गाराज श्रेष्ठ बताउँछन् । चामलको मूल्य बोरामा ५०/६० रुपैयाँ बढेको छ । ‘चाडपर्व नजिकिएपछि माग बढ्दो छ तर सहज तरिकाले आपूर्ति गर्न सकिएको छैन, ढुवानीको समय नमिल्दा पनि महँगो भएको छ,’ नेपाल वितरक संघका निवर्तमान अध्यक्षसमेत रहेका श्रेष्ठले भने, ‘खाद्यान्न बोकेका सवारी बिहान ११ देखि दिउँसो ३ बजेसम्म मात्रै चल्न पाउँछन् । यसले गर्दा पनि ढुवानी भाडा पनि बढेको हो ।’

बजार सुधार्ने काममा आधा दर्जन नियामक छन् तर उपभोक्ताले सुधारको अनुभूति गर्न सकेका छैनन् । खाद्यवस्तुको गुणस्तरसम्बन्धी नियमन गर्ने दायित्व खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको हो । मूल्यसूची अनुगमन र म्याद नाघेको विषय हेर्ने काम वाणिज्य विभागले गर्छ । नापतौल तथा ढक तराजुको विषय गुणस्तर तथा नापतौल विभागले हेर्नुपर्छ । संघीय सरचनासँगै पालिकालाई बजार अनुगमनको अधिकार छ तर पालिकाहरूले प्रभावकारी अनुगमन गर्ने गरेका छैनन् । यी विविध कारणले पनि बजारमा सुधार नदेखिएको सरोकारवालाको भनाइ छ ।

व्यवसायीका अनुसार पछिल्लो समय ड्राइफुड, काजु, पेस्तालगायतको मूल्य दोब्बर पुगेको छ । सीमित आयातकर्ताले मौज्दात राख्दा एक वर्षअघिको तुलनामा मूल्य दोब्बर भएको हो । ‘ड्राइफुडको मूल्य दोब्बर पुगेको छ, करिब ५ सय आयातकर्ताले अफगानिस्तानबाट ड्राइफुड ल्याउँछन्,’ वितरक संघका निवर्तमान अध्यक्ष श्रेष्ठले भने, ‘मूल्य बढाउनकै लागि मौज्दात गर्ने गरिएको छ ।’ खुद्रा व्यापार संघका महासचिव तुलाधरले पनि आयातकर्ताको बदमासी/ सिन्डिकेटले काजु, किसमिसलगायतको मूल्य बढेको दाबी गरे ।

पछिल्लो १० दिनमा हरियो तरकारी र फलफूलको मूल्य छोइनसक्नुभएको छ । होलसेल बजारमा केही तरकारीको मूल्य शतप्रतिशत बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक छ । असोज १ मा होलसेल मूल्य प्रतिकिलो ५५ रुपैयाँ रहेको ठूलो गोलभेडा १० मा ६५, प्रतिकिलो २७ रहेको रातो आलु ३१ रुपैयाँ र ४० रहेको सुकेको प्याज ५४ रुपैयाँ पुगेको समितिले बताएको छ । तनेबोडी ७० रुपैयाँबाट १३०, घिरौंला ४५ बाट ७५ र भिन्डी प्रतिकिलो ५६ बाट ७५ रुपैयाँ पुगेको समितिको तथ्यांक छ । फलफूलको मूल्य २२ प्रतिशतसम्म बढेको छ । असोज १ मा प्रतिकिलो १९६ रहेको फुजी स्याउ २३५, ३२५ रहेको अनार ३७५, ४५ रहेको तरबुजा ५५, १२५ रहेको मौसम १३५ र ८६ रहेको मेवाको मूल्य ९५ रुपैयाँ पुगेको छ ।

सरकारले भने बजारमा भइरहेको मूल्यवृद्धिका विषयमा कार्ययोजना बनाएर अनुगमन गरिरहेको दाबी गरेको छ । कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई थप जनशक्ति पठाइएको र टोली बनाएर अनुगमन भइरहेको वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले बताए । बिक्रीका सन्दर्भमा बजारमा हुने विभिन्न तह घटाउन सके मूल्य नियन्त्रण सहज हुने विभागका महानिर्देशक प्रकाश पौडेलले जनाए । ‘बजारमा विभिन्न तह हँॅदा उपभोक्तासम्म आइपुग्दा मूल्य अत्यधिक बढेको हो, खाद्य संस्थानले कम्पनीबाट सिधै तेल किनेर सर्वसाधारणलाई बिक्री गर्दा बजारभाउभन्दा सस्तो देखिएको छ,’ उनले भने, ‘बजार नियन्त्रण गर्न तह घटाउनैपर्छ । कान्तिपुरदैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …