तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

मधुसूदन आचार्य, क्यानडा

केहि बर्षदेखी विभिन्न थर वा समुदायका ब्यक्तीहरु मिलेर आफ्नो थर वा समुदायको एक आपसमा सहयोग्, हित र बिबिध चाडपर्व, देवाली आदी मनाउन र समाज सेवा गर्ने उद्देश्यले हरेकका आआफ्ना बन्धु समाज खोलेका छन ।

यि बन्धु सामजहरुले आफ्ना आफ्नो समाजको लागी राम्रै काम गरेपनी दश पुस्ते मद्धे कसैको मृत्यु भएमा १३ दिन पछी आफ्ना छोरा बुहारी नाती नातीनी बाहेक बन्धु समाजका सबैले एक बर्ष सम्म दशैको टिका लगाउनु हुन्न, तर  बिहे बारि, ब्रतबन्ध्, पूजा, खानपिन चाहि गर्नहुन्छ भन्ने गरेका छन । यस्तो परापूर्व कालमा नभएको र पूर्खाका पालामा पनि नभएको  चलन शुरु गरी दशै मास्न लागेकाले दशै बचाउन जनचेतनाका लागि यो लेख लेख्न कोशीश गरिएको हो ।  

हजारौं बर्ष अघि अधिकांश मानिसहरुको मुख्य पेशा खेती थियो, मानिसहरु ठूलो परिवारमा बस्थे, आफन्त नातेदारहरु पनि बरपर गाउं मै बस्थे, सोहि बेला लेखिएको धर्मसिन्धु र निर्णर्य सिन्धुलाई पनि वर्तमान अबस्थामा समय सापेक्ष पुःन लेख्नुपर्ने वा सच्याउने पर्ने बेला आएको छ । 

आफ्नो आमाबुबाको मृत्युपश्चात गरिने काजक्रियालाई १२ दिन, १३ दिनबाट झारेर ५ दिनमा ल्याउने तर्क नेपालकै केहि विद्धानहरुले गरिरहेका छन् फाट्ट फु्ट्ट केहिले त्यसलाई अपनाउने पनि गरिरहेको बेला छ । समय परिस्थिति अनुसार बार्नेकुरालाई तथा कतिपय संस्कारलाई पनि सहज गर्नुपर्ने हाम्रो दायित्व पनि हो जसले गर्द सो परम्परा संस्कृति आगामि दिनमा हाम्रा सन्ततीहरुले पनि पालन गर्न सकुन ।

हाम्रो प्राचिन चलन अनुसार काजक्रिया सकिएपछि वा अझ झन् भनौ ४५ दिन सकिएपछि पनि उक्त बर्ष टिका लाउन मिल्दैन भनी  (कुनै समाजमा मान्ने चलन भए अलग कुरा तर)  मेरा पिता वा पूर्खाले टिका रोक्नु भएको कहिलै मलाई हेक्का भएन । तर अहिले भने यि बन्धु समाजहरुले बार्ने नाममा कुतर्क गरी हाम्रो महान चाड दशै मास्न खोज्दै छन ।

हाम्रो प्राचिन चलन अनुसार आफ्ना १० पुस्ते (वा भनौ ७ पुस्ते) सम्मका नातेदारको जुठो बार्नुपर्ने, अर्थात १० दिन सम्म नुन खानु भएन, १२ दिन सम्म कुनै शुभकार्य पूजा पाठ, ब्रत अनुष्ठान, बिवाह, ब्रतबन्ध, पुराण आदि केहि गर्नु भएन, त्यस पछि चाहि दिवंगत भएका व्यक्तिका छोरा र उनका परिवारले एक बर्षसम्म बार्नु पर्ने र अन्य नातेदारलाई भने सो लागु नहुने भन्ने मेरो बुझाई हो । 

यहां अहिलेको वर्तमान अबस्थामा १० दिन नुन बार्नेमा सन्दर्भमा पनि बिरलै ले याथार्थमा १० दिन सम्म नुन नखाएको अबस्था छ, ३ दिन पछि वा कसैले ५ दिन पछि सिधेनून खान हुन्छ भन्छन र चलाएका छन् । केहिदिनपछि सिधेनुन वा नुन भान्सामा खाएपनि बाहिरी रुपमा ढाकछोप गर्न कहां नुन खानु भनी आडम्बरी बार्ने हामीहरु मध्ये अधिकांश छौ । 

प्राचिन समयमा मान्छेहरु शुद्ध अर्गानिक खाना खान्थे, शुद्ध पानि पिउथे, खेतिपाती गर्थे, हिंडथे नियमित शारिरीक व्यायाम हुन्थ्यो, हृष्ट पुष्ट हुन्थे १० दिन नुन नखादा कुनै गाह्रो हुंदैनथ्यो । अहिलेको वर्तमान अबस्थामा सबै मिसाबट र रसायनिक मल हालेका खानेकुरा खाएका हामीहरु ३५, ४० बर्ष नकाटदै दिनहुं औषधि सेवन गर्नु पर्ने स्थित छ, त्यस्तै कार्यलयमा काम गर्नुपर्ने बाध्यता, नियमित शारीरिक व्यायाम नहुंदा शरिर कमजोर छ जसले गर्दा ३ दिन वा ५ दिन नुन नखांदा लल्याक लुलुक हुनथाल्छन त्यसैले स्वास्थ्यको ख्यालराखी मानिसहरु केहिदिन बारे पछि सिधेनुन वा नुन खान्छन र वाहिरी ढाकछोप गर्दछन् । बास्तवमा भन्नुपर्दा हाम्रा पूर्वजहरु निकै विद्धान थिए ।

कुनै गाउंका आत्मिय व्यक्तिको निधन हुंदा त्यो व्यक्तिसंगको सम्बन्ध, गाउंमा सधै भेटघटा हुने, हरेककुरा थाहा हुने, व्यक्तिका स्वभाव, सतकर्म, विगतमा संगै गरेका कार्य, विगतमा संगै बिताएका समयले गर्दा सम्बन्ध प्रगाढ, आत्मियता भएकाकारण पुरै गाउंनै शोक संन्तप्त हुन्थे, चिन्तित हुन्थे, स्ट्रेसमा पर्दथे जसले गर्दा उनीहरुको रक्तचाप बढन सक्थ्यो, त्यसैले नुन नखानु भने र चलन चलाए । आधुनिक विज्ञानले नुनमा सोडियम हुनेभएकाले र अत्याधिक सोडियमखादा रक्तचाप बढने प्रमाण गरिसकेको अबस्था छ । नजिकका शोकाकुल आफन्तले नुन खाएनन भने रक्तचाप नियन्त्रण भई कुनै अनिष्ट हुनबाट जोगाउन पुर्वजहरुले यो चलन चलाएको हुनुपर्दछ ।

अहिलेको बर्तमान समयमा त, स्वदेश र विदेश सबैतिर नुन त बार्नु ठिकै छ केहि दिन तर जुठो परुन्जेल कम्तिमा शाकाहार र (माछा मासु नखानु) र मदिरा सेवन नगर्नु भनी बच्चाहरुलाई भन्नु परेको अबस्था छ ।

तपाईको को संगको सम्बन्ध कस्तो छ, त्यसले पनि बार्न आत्मा देखि नै आउंद छ । जस्तो उदाहरणको लागि तपाईको छिमेकिको निधन भयो भने तपाई स्वभाविक रुपमा उसप्रति आदर भाव जगाउंदै बार्नु हुन्छ, वा लगत्तै घरमा कुनै तामझाम भोजभतेर गर्नुहुन्न । त्यस्तै सधै उठबसगर्ने आफन्त वा साथीभाई संगको सामिप्यताले गर्दा उक्त व्यक्तिको निधनले तपाईको नाता नपरेपनि नाता भन्दा गहिरो चोट पर्दछ । बार्नु भनेको कसैलाई आदर पनि गर्नु हो । बानुपर्ने नियमबाहेक कसलाई कसरी बार्नुपर्ने भन्ने त्यो नितान्त व्यक्तिगत पारिवारिक सोच र संस्कारको बिषय हो ।

मेरी आमा पनि आमा, ठूलीआमा पनि आमा, सानीआमा पनि आमा, छिमेकीकी आमा पनि मेरी आमा, मेरो साथीको आमा पनि आमा, टोल, छिमेक, गाउ शहरकि सबै आमा मेरी आमा, यो देशकि सबै आमा मेरी आमा, अनि यो पृथ्वीमा भएकि सबै मेरी आमा । हो, तपाई जति माथि उठनु हुन्छ त्यती बढी सबै एउटै देख्नु हुन्छ । हो, तर्कगर्दा केहि हदसम्म यो ठिक छ । अझ झन, पृथ्वीका सबै मानव उही परमेश्वरका आत्मा, जिबजन्तु सबै उही परमेश्वरका सृष्टि । यो ब्रम्हाण्डमा हामीकहां एउटा पृथ्वीमा सयौं देशहरु छन् । सांच्चै भन्नेहो भने पृथ्वी भने एउटा, देश भने किन यति धेरै ? त्यस्तै एक ठाउंबाट अर्को ठाउमा जान किन बन्देज, परमेश्वरले बनाएकाहामी पृथ्वीको जुनसुकै पनि ठाउंजानबाट किन रोक ? मानिसहरुले पृथ्वाीमा राजनैतिक सिमांकन तोके बन्देज लगाए, यो मेरो र यो तेरो भनेर, र त्यो भित्र बस्ने मानिसकालागि आआफ्ना नियम कानून बनाए, त्यो सिमांकनभित्र रहनेहरुको विकास र उत्थानका लागि भनेर । 

त्यस्तै गाउं शहर, टोल छिमेक हुदै परिवार र घर बन्यो किनभने सबै एउटै भन्दै बसो भने दैनिक जिवन पालन गर्न नसकिने भएकोले गर्दा । सानो सानो क्षेत्रमा विकास गर्न सजिलो हुन्छ र बिबिध कारणले देशहरुबने र दैनिक रुपमा गुजारा गर्न सजिलो हुन्छ भनेर परिवार वन्यो त्यसमा पनि अहिलेको जमानामा त ठूलो परिवारको सट्टा सानो सानो बन्दै गयो, श्रीमान श्रीमती र उनीहरुका बच्चा बुच्ची, हदै भएमा कुनै भाईसंग आमाबुबा । ठूलाी आमा वा सानीआमालाई आमाको दर्जा दिनु अति उत्तम, सेवा गर्नुस, सकेको आदर गर्नुस, सम्मान गर्नुस । तर जुठो बार्ने सम्बन्धमा ठूली आमा र सानीआमा सरह आफ्नी आमालाई दांजेर एउटै तराजुमा जोख्नु भयो भने तपाईले आफ्नाी आमालाई अपमान गरेको ठान्दछु । हुनत तपाई स्वतन्त्रहुनुहुन्छ ३६५ नै जुठो वार्न, किनभने कोहि न कोहि त दिवंगत त भै रहेकै हुन्छन् तर तपाइले आफ्नो वार्नेकुरा संस्थागत तवरले अरुलाई लाद्न पाउनुहुन्न । एक बर्ष बार्ने वा महिना महिना गर्ने श्राद्धहरुलाई त फुकाउने र मासिक खिच्ने गरी समय सापेक्ष सहजिकरण गरिएको अबस्थामा यसरी सबैलाई बर्षदिन भरी बार भन्ने उर्दी असोभनिय, रत्तिभर पनि तर्क संगत, नियम संगत, धर्म संगत छैन ।

कता कता यो दशै नमान्नेमा निम्न कुराहरुले भूमिका खेलेको हो कि जस्तो लाग्दछ :

(१) आफन्तहरु धेरै भए, खर्च धेरैहुने भएकोले

(२) अरु संमाजले गरो हामीपनि के कम, बार्दिउ

यदि खर्चको कुरो भए किन धेरै खर्च गरी दशैं किन मनाउनु ?, जमरा र आर्शिवाद दिनु, सकिन्छ भनै एकरुपैया दिनु र भन्नु नानी वावु हो जमरा र आर्शिवाद दिएका छौ, राम्रो मेहनतगरी कर्मगर, उन्नतीगर र असल मानिस बन भन्नु  ।

यदि अरु समाजले गरो भन्दैमा के नक्कल गर्नु पर्दछ ? त्यो समाजमा कुनै दुष्टकारीबाट प्रभावित त भएको छैन, विचार गर्नु पर्दछ । आफुले राम्रो काम गर्ने हो अरुको नक्कल गर्ने हैन । एक मात्र होइन  धेरै थरका समाजहरुमा पनि यस्तै बार्ने निंहुमा दशै बहिस्कार गर्ने गरेका छन् । कृपया सचेत होऔ, अरुको जालमा न थाहापाईकन न फसौ र संस्कृति लोप हुन बाट बचाऊ |

हाम्रो संस्कार अनुसार जसले नियम अनुसार बार्नुपर्ने हो उसले बारेन भने जुठोले पोल्छ वा सताउंछ भन्ने छ, जो कुरा सबैलाई थाहा भएको कुरा हो । त्यसकारण यहां यि बन्धु समाजका पदाधिकारीहरुले अरुलाई बाध्यपारि कुनै कुरा बार्ने लगाउन उर्दी को कुनै तुक छैन, यसले पदाधिकारीलाई धर्म हुंदैन । हो, यदि कसैलाई जुठो सुतकको बारेमा जानकारी छैन भने त्यो व्यक्तिले सल्लाह माग्न आएमा सल्लाह सुझाव दिनु अलग कुराहो तर पहिले नचलेको चलन चलाएर, नयां बार्न लगाएर दशैको महत्वलाई उपेक्षागरी यसले समाजलाई उधोंरित झार्दछ ।

यहां के भै रहेको छ भने, जसको छोरा छोरीहरु बिदेशमा छन् भने एउटा व्याख्या, घरमा छन भने अर्को ब्याख्या गर्ने देखिएको छ, त्यो पारिवारिक रुपमा ठिकै होला अरे तर त्यसले अरुलाई असर गर्नु भएन, जुठो को स्वाङ्ग.गरी चाडवाड मान्नबाट अरुलाई बन्चित गर्नु भएन, बर्षदिन बार्ने बहानामा कसैसंग टिका नलगाउने, तर कसैलाई लगाईदिने गरी विभेद गर्नु भएन ।

बिवाह गर्नु हुन्छ, ब्रतबन्ध गर्न हुन्छ, पुराण भन्नु हुन्छ, मन्दिर जान हुन्छ, मन्दिरमा भगवानको प्रसाद लगाउनु हुन्छ तर तर दशैंको टिका चाहिं लगाउनु हुन्न । हरे परमेश्वर, तपाईहरु जानी नजानी दशैं बहिष्कार गर्ने समुहमा पर्नु भएको छ स्वदेश मै । दया लागेर आउंछ तपाईहरुको सोच देखी । भावनात्मक मात्र भएर वा अरु थरीका समाजले गरे भनेर लहड लहडमा लागेर भएन । के थाहा अर्को समाजमा कहिं दशैं बहिष्कार गर्नेको प्रभाव छ कि वा कुनै अरु धर्माबम्बीहरुको पैसा खाएर पो हो कि ? ति अरु समाजले टिका नलगाएका । त्यसैले अरुले जे गरो त्यहि गर्नु पर्दैन, जे गर्दा पनि तर्क संयुक्त, विवेक प्रयोग गरी, आउदो पुस्तामा पर्न सक्ने असर आदिको ख्याल गर्नु पर्दछ ।

उदाहरणका लागि, एउटा बच्चा ५ बर्षको छ, हरेक बर्ष यसरी नै बार्दै दशैको टिका लगाउन छा्ड्यौ भनै लामो लहरो भएको हाम्रो बन्धुहरुको हरेक बर्ष कोहि न कोहि बित्न सक्नुहुन्छ, हुन सक्छ पांचबर्ष सम्म यस्तै चल्यो भने त त्यो बच्चाले १० बर्षको हुन्जेल टिका लगाउन पाएन, अनी त्यसमा दशैंको महत्व कसरी पर्न सक्छ । यो विचारणि संवेदनशिल बिषय हो ।

तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु, म नास्तिक हैन, म आस्तिक नै हु, अझ आस्तिक मात्र नभएर विपश्यना १० दिने ध्यान गरी सकेको छु, हिन्दू र बुद्ध धर्मको सस्कृती जोगाउन आफुले सक्दो प्रायस गरिरहेको छु आफुले भ्याए सम्म ।  नेपाल लगायत भारतका केहि शक्ति पिठहरु धार्मिक स्थल केदारनाथ देखि रामेश्वरमसम्म दर्शनगर्ने अवसर भाग्य  बस प्राप्त गरेको छु । हाम्रा प्राचिन धर्मगन्थ कर्मकाण्डका केहि कितावहरुको को संग्रह छ, त्यो सन्कलन क्रम जारी | म कुनै मार्गमा अन्धो भएर लाग्दिन तर ज्ञान भने सबैको लिने र बुझ्ने प्रयास मा छु । यि माथीका लाईन अलि बढी मपाइ भई लेखे, यो खाली आफ्नो बारे छोटो परिचय दिएको हु ।

बन्धु समाजको गठन पश्चात धेरै ले गर्ने गरेको मुख्य कार्यक्रहरु मध्ये  वंशावली तयारी, अग्रजहरुको सम्मान, सामुहिक गोठकोधुप वा देवाली, (कसैले प्रतिमा स्थापना गर्ने ) आदि निकै नै प्रसंशनीय कार्यहरुहुन, यस्ता कार्यहरु गर्नेहरु प्रति नतमस्तक छु । समाजको गठन भै सकेपछि अलि माथि उठेर आफ्ना आर्थिक हैसियत हेरी सम्भव भएसम्मका सामाजिक कार्यमा हात हाल्दा समाजको उत्थानमा जोड देला । यस्ता राम्रा कार्यहरुलाई निरन्तरता दिंदै समाजको उत्थान र समाजका गरिब असहायलाई सहयोग गरी सामाजिक कार्य गर्दैजानुहोस, सबैको सहयोग भई हाम्रो समाजको पनि बिकास होला ।

लेख्दा लेख्दै लामो भयो तर मनमा लागेको अझ पूर्णरुपमा पुरै भनीसकेजस्तो अझै लाग्दैन तर म यहिं नै विंटमार्न चाहन्छु । यहा लेखिएका यि सबै मेरा निजी बिचारहुन, सबै कुरामा सबैको सहमति हुनु पर्दैन, सबैको आ आफ्नै बुझ्ने मनन गर्ने विचार र सिद्धान्त हुन्छन् । यि मेरा बिचारहरु कुनै एक व्यक्तिलाई न भै सबै समाजमा आफ्ना विचार राख्ने उद्देश्यले लेखिएको हो । यसले कसैमा चोट पर्न गएमा क्षमा गर्नु होला । यदी तपाइको बिचार फरक भए कृपया  कमन्ट गर्नु होला ! धन्यबाद !  

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …