तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मान्म । फुकोट कर्णाली जलविद्युत् आयोजनामा प्रभावित क्षेत्रका स्थानीयवासीले मुआब्जा निर्धारणमा असन्तुष्टि जनाएका छन् । जिल्लाको दरभन्दा प्रभावित क्षेत्रका जग्गा धनीहरुले मुआब्जा कम भएको भन्दै असन्तुष्टि जनाएका हुन् । जिल्ला दररेट निर्धारण समितिले हचुवाका भरमा निर्णय गरेको रास्कोट–८ का अनन्त बरालले बताउनुभयो । “ग्रामीण सडक आसपासका जग्गा प्रतिवर्गमिटर रु तीन हजार ६०० देखि पाँच हजार ७०० कायम गरिएको छ”, उहाँले भन्नुभयो, “कर्णाली करिडोर आसपास प्रतिवर्गमिटर रु एक हजार ५० तोकिएको छ ।”

मुआब्जा निर्धारण गर्दा ग्रामीण सडक र कर्णाली करिडोर क्षेत्रको जग्गा कसरी फरक मूल्य निर्धारण गरियो यसमा सच्याउने आशा गरेको बरालको भनाइ थियो । “पुनः मूल्याङ्कन गर्नका लागि हामीले जिल्ला दररेट निर्धारण समितिलाई आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो, “यो पूर्णरूपमा सच्चिने आशा गरेका छौँ ।”

कर्णाली नदीको पानीलाई टनेलमार्फत सान्नीत्रिवेणी–३ सिस्नेगडामा बाँध बनाएर सुरुङमार्फत भौरेकुनामा झार्ने आयोजनाको योजना छ । आयोजनाले रास्कोट, सान्नीत्रिवेणी र पचालझरनाको एक हजार २९४ कित्ता जग्गा अधिग्रहण गर्न लागेको हो ।

जिल्ला दररेट समितिले निर्धारण गरेको मुआब्जाका दिन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा स्थानीयवासी र सरोकारवाला निकायको समन्वयमा जग्गाको मुआब्जा निर्धारण गरिएको आयोजना प्रमुख हीरामान वाइवाले बताउनुभयो । “प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जग्गाको मूल्य निर्धारण गरिएको हो”, उहाँले भन्नुभयो, “यसमा कसैलाई अन्याय गरिएको छैन ।”

जग्गाको मुआब्जाका लागि यस वर्ष रु ३६ करोड बजेट छुट्याइएको र नपुग बजेट पुनः माग गरी वितरण गरिने आयोजना प्रमुख वाइवाले बताउनुभयो । झण्डै रु एक खर्ब लागत अनुमान गरिएको आयोजनाले साढे एक किमी लामो र ११ मिटर व्यासको डाइभर्सन टनेलमार्फत कर्णाली नदीको पानी फर्काएर मुख्य बाँध निर्माण गर्नेछ । त्यसका लागि रास्कोटको शान्तिघाट, नडी, भात्तडी, पचाल झरनाको भुराबगर, घाटज्युला, शान्नित्रिवेणीको कोट, रेगिङ्ल र जाइकोटको जग्गा अधिग्रहण गरिनेछ आयोजना जनाएको छ ।

स्वदेशी लगानीमा निर्माण हुने आयोजनाका लागि ४९ प्रतिशत स्थानीय जनताको र ५१ प्रतिशत नेपाल सरकारको लगानी रहने आयोजना प्रमुख वाइवाले जानकारी दिनुभयो । त्यसमध्ये आयोजना क्षेत्रका बासिन्दालाई १० प्रतिशत शेयर दिने र प्रभावित क्षेत्रका बासिन्दालाई रोजगारी दिने आयोजनाको उद्देश्य रहेको उहाँको भनाइ छ ।

जिल्लामा बन्न लागेको आयोजनाका विषयमा कसैले विवाद गर्न आवश्यक नरहेको भन्दै जिल्ला मालपोत कार्यालय कालिकोटका प्रमुख नेत्रबहादुर शाहीले खेती उत्पादन हुने जग्गा, बाँझो जग्गा, पाखो जग्गा गरेर मुआब्जाको मूल्य निर्धारण गरिएको बताउनुभयो । “जिल्लामा बन्न लागेको आयोजनाको कसैले विवाद गर्न जरुरी छैन”, उहाँले भन्नुभयो, “जिल्लाको दररेट जग्गाको मूल्याङ्कन गरेर नै मुआब्जाका लागि जग्गाको मूल्य तोकिएको हो ।”

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …