तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद चर्किंदै फुटको संघारमा पुगेको भए पनि संस्थापन पक्ष र असन्तुष्ट पक्ष दुवै संयमित हुन पुग्दा पार्टी एकजुट हुने संकेत देखिएको छ । पछिल्ला दिनमा दुवै पक्षका शीर्ष तथा दोस्रो तहका नेताबीच भइरहेको सघन छलफल र वार्ताले एमाले एकतालाई सशक्त बनाउँदै लगिरहेको नेताहरूले बताएका छन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र असन्तुष्ट माधवकुमार नेपाल गरी दुवै पक्ष पार्टीको २ जेठ २०७५ को अवस्थाको संरचनासहित स्थायी कमिटी बैठक बसाउन सहमत देखिएका छन् । स्थायी कमिटी हँुदै केन्द्रीय कमिटीमार्फत पार्टीमा देखिएको विवाद समाधान गर्दै एकता कायम गर्नुपर्नेमा दुवै पक्षका अधिकांश नेता सहमत भएकाले पार्टी अब एकजुट हुने दाबी युवा नेताहरूले गरेका छन् ।

२ जेठकै संरचनामा स्थायी कमिटी बैठक

दुवै पक्ष र अर्का नेता वामदेव गौतमलगायतको सहमतिमा छिट्टै स्थायी कमिटीको बैठक बोलाएर सहमतिको खाका कोर्ने तयारी गरिएको एमाले उच्च स्रोतले जानकारी दिएको छ । एमाले स्रोतका अनुसार २ जेठकै संरचनाअनुसार स्थायी कमिटीको बैठक बोलाउने र विवादित अन्य विषयमा बैठकबाटै समाधान खोज्ने सहमतिनजिक ओली, नेपाल र गौतम पुगेका छन् ।

तीनै समूह २ जेठमा फर्किन सहमत भएपछि बैठक मिति तोकेर बोलाउने विषयमा आन्तरिक गृहकार्य भइरहेको हो । पछिल्ला दिनमा दुवै पक्षका नेताहरू आपसी आरोप प्रत्यारोप र वादविवादमा उत्रिएका छैनन् । साथै प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा समेत दुवै पक्षका एमाले नेता एकजुट भई केन्द्रमा पार्टी मिलाउन दबाबसमेत दिएका छन् ।

प्रदेशको एकताले केन्द्रमा शीर्ष नेतृत्वलाई पार्टी एकजुट राख्न दबाब परेको छ । ‘सर्वोच्च अदालतको निर्णयले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि अध्यक्ष ओली २ जेठमा फर्किन तयार भएका थिए । त्यसो त अध्यक्ष ओलीले त्यसअघि नै आफूहरू २ जेठमा फर्कन तयार रहेको सन्देशसहित ६ बुँदे एकता प्रस्ताव अघि सारेका थिए ।

नेपाल समूहको मुख्य माग नै २ जेठमा फर्किने थियो अब सर्वोच्चले समेत बाटो खोलिदिएकाले विवाद गर्नुको अर्थ छैन्,’ एमालेका एक नेताले भने । ‘वामदेवजीले २ जेठकै स्थायी कमिटी बैठक बसेर समस्या समाधानका लागि अपिलसमेत गरेकाले तीनवटै समूह सहमतिनजिक पुगेका छन्,’ ती नेताले भने । महाधिवेशन आयोजक कमिटीका निर्णय खारेजसँगै पछिल्लो समय एमाले नेतृत्वको सरकार रहेको प्रदेशमा ओली र नेपाल समूह एकजुट हुनुले समेत शीर्ष नेतालाई मिल्न बाध्य बनाएको हो ।

प्रदेश १, बाग्मती प्रदेश, लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको प्रदेश सरकार छ । ती प्रदेशहरूमा ओली र नेपाल समूह एकजुट छन् । गण्डकी प्रदेशमा एमालेकै सरकार थियो । पछिल्लो समय कांग्रेस नेतृत्वमा गण्डकीमा सरकार बनेको छ । यहाँ एमालेको सरकार जोगाउन ओली र नेपाल समूह एकजुट नै थिए तर सरकार जोगाउन सकेनन् ।

कर्णालीका चार सांसदलाई एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको निर्णयका आधारमा कारबाही गरिएको थियो । तर, सो कारबाही सर्वोच्चले मान्यता नदिएपछि प्रदेशस्तरबाटै एमाले एकताका लागि दबाब सुरु भएको हो । शीर्ष नेताहरूले समेत अन्य विवादित विषय थाँती राख्दै बैठकबाटै समस्या समाधान गर्न सहमत भएका छन् । यसअघि प्रदेशमा नै असन्तुष्ट बनेका केन्द्रीय तहका नेताहरू भीम आचार्य, अष्टलक्ष्मी शाक्य लगायतसमेत पार्टी एकताको पक्षमा देखिएका छन् ।

प्रदेशमा पार्टीलाई एकजुट राख्न पछिल्लो समय नेतृ शाक्य र नेता आचार्यको महत्वपूर्ण भूमिका रहेको कार्यकर्ताको विश्लेषण छ । पछिल्लो समय एमाले विवाद मिलाउन एमालेका दर्जन बढी दोस्रो पुस्ताका नेता सक्रिय रहँदै आएका छन् । उनीहरूले समेत शीर्ष नेतालाई दबाब दिँदै मिल्न बाध्य बनाएका हुन् । २ जेठकै कमिटीको संरचनाअनुसार स्थायी कमिटीको बैठक बस्ने भएपछि नेपाल र गौतम समूहको माग पूरा हुने देखिन्छ ।

तर, माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेका नेताहरूको हकमा सोही बैठक वा दोस्रो बैठकबाट पार्टीमा जिम्मेवारी दिने विषयमा निर्णय गरी समेट्ने गरी अघि बढ्ने विषयमा नेताहरूबीच छलफल चलिरहेको छ । यसैबीच, एमाले उपमहासचिव विष्णु पौडेल सोमबार उपाध्यक्ष गौतमलाई भेट्न भैंसेपाटीस्थित निवासमा पुगेका छन् ।

करिब ४ घण्टा लामो समय छलफल गरेका गौतम र पौडेलबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले बताए । एमाले स्रोतका अनुसार आ–आफ्नो अडानमा रहेका नेताहरूको अहिलेको अवस्थामा स्थायी कमिटी बैठक कसरी बोलाउन सकिन्छ ? भन्ने विषयमा छलफल भएको छ । यसअघि पौडेलले वरिष्ठ नेता नेपालसँग समेत छलफल गरेका थिए ।

यसअघि ओली र नेपालले छुटाछुटै विभिन्न ६ बुँदे प्रस्ताव गर्दै एकताका लागि आह्वान गरेका थिए । तर, एकले अर्काको प्रस्ताव अस्वीकार गर्दै आएका थिए । विवादकैबीच ओलीलाई भेटेका गौतमले २ जेठको संरचनाअनुसारको स्थायी कमिटीको बैठक बोलाएर त्यहीँबाट समस्या समाधान गर्न अपिल गरेका थिए ।

देउवा संशकित 

एमाले वरिष्ठ नेता माधव नेपाल भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार नेपाल निवास कोटेश्वर पुगेका छन् । सोमबार साँझ उनीहरू नेपाल निवास पुगेर पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका हुन् । एमालेमा ओली र नेपाल मिल्ने संकेत पाएका देउवा प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार हुन् । नेपाल समूहका सांसदको समेत प्रस्तावमा प्रधानमन्त्रीका उम्मेदवार बनेका देउवा एमाले एकता भएपछि आफ्नो योजना विफल हुने देखेपछि नेपाललाई भेटन कोटेश्वर पुगेको स्रोतको दाबी छ ।

देउवाले नेता नेपाल समूहले पछिल्लो समय अख्तियार गरेको रणनीतिले गठबन्धन कमजोर हुन सक्ने भन्दै शंका व्यक्त गरेको बताइएको छ । देउवाले नेपालसँग उनको पछिल्लो पोजिसनबारे जिज्ञासा राखेको स्रोतको दाबी छ । एमाले एकजुट भएको खण्डमा आफू प्रधानमन्त्री बन्ने सम्भावना सकिने भन्दै देउवा सशंकित देखिएको स्रोतले जानकारी दियो । तर, नेपाल र देउवाबीच केके कुराकानी भयो खुलाइएको छैन ।

देउवालाई संविधानको धारा ७६(५) अनुसारको प्रधानमन्त्री बनाउन एमालेको नेपाल समूहले हस्ताक्षर गरेका थिए । गत शनिबार देउवा, नेपालसहित पाँच जना पूर्वप्रधानमन्त्रीले संयुक्त विज्ञप्ति जारी गरेका थिए ।

खनाल अस्पताल भर्ना 

यसैबीच एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका छन् । ज्वरो र रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएपछि उनी सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन् ।

यसअघि पनि कोरोना संक्रमित हुँदा उनी नर्भिक अस्पताल नै भर्ना भएका थिए । उपचारपछि कोरोनामुक्त भई उनी घर फर्किएका थिए । नेता खनालको स्वास्थ्य अवस्था समान्य रहेको र उपचार भइरहेको उनको सचिवालयले जनाएको छ ।राजधानी  दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …