तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

प्रेम खनाल

हामीले वर्षौ वर्षदेखि पूज्दै आएकी देवमाता श्री तुलसीजीका गुणहरुका विषयमा चिन्तन मनन गरौंभन्ने हेतुले तत्सम्बन्धमा जे जति आंफुले प्राप्त गर्न सकियो तीनै कुराहरु यहांहरु समक्ष विनम्रताका साथ राख्ने अनुमति चाहनछु। सर्वप्रथम देवमाता तुलसीजीको वन्दना-

“जगद्धात्रि नमस्तुभ्यं विष्णोश्च प्रिय वल्लभे।

यतो ब्रह्मादयो देवा:सृष्टिस्थित्यन्त कारिण:।।1

नमस्तुलसि कल्याणि नमो बिष्णुप्रिये शुभे।

मो मोक्षप्रदे देवि नम:सम्पत्प्रदायिके।। 2

तुलसी पातु मां नित्यं सर्वापद्भ्यो$पि सर्वदा।

कीर्तितापि स्मृता वापि पवित्रयति मानवम्।।3

नमामि शिरसा देवीं तुलसीं विलसत्तनुम्।

यां दृष्टा पापिनो मर्त्या मुच्यन्ते सर्वकिल्विषात्।।4

तुलस्या रक्षितं सर्वं जगदेतच्चराचरम्।

याविनिहन्ति पापानि दृष्ट्वा वा पापिभिर्नरै:।।5

नमस्तुलस्यतितरां यस्यै वद्ध्वाञ्जलिं कलौ।

कलयन्ति सुखं सर्वं स्त्रियो वैश्यास्तथा$परे।।6

तुलस्या नापरं किषंचिद्दैवतं जगतीतले।

यथा पवित्रितो लोको बिष्णुसंगेन वैष्णव:।।7

तुलस्या पल्लवं विष्णो:शिरस्यारोपितं कलौ।

आरोपयति सर्वाणि श्रेयांसि वरमस्तके।।8

तुलस्यां दकला देवा वसन्ति सततं यत:।

तस्तामर्चयल्लोके सर्वान्देवान् समर्चयन्।9

 नमस्तुलसि सर्वज्ञे पुरुषोत्तमवल्लभे।

पाहि मां सर्वपापेभ्य:सर्वसम्पत्प्रदायिके।। 10

इति स्तोत्रं पुरा गीतं पुण्डरीकेण धीमता।

विष्णुमर्चयतानित्यं शोभनै तुलसीदलै:।।11

तुलसी श्रीर्महालक्ष्मीविद्याविद्या यशस्विनी।

धर्म्या धर्मा नना देवी द्यौभूमिरचला चला।12

षोडशैतानि नामानि तुलस्या कीर्तयन्नर:।

लभते सुतरां भक्तिमन्ते विष्णुपदं लभेत्।।13

तुलसीभूर्महालक्ष्मी:पद्मिनी श्रीहरिप्रिया।14

तुलसी श्रीसखि शुभे पापहारिणि पुण्यदे।

नमस्ते नारदनुते नारायण मन:प्रिये।। 15

तुलसीको पौराणिक कथा-

प्राचीन कालमा जालन्धर नाम गरेको राक्षसले चारै  तर्फ ठूलो उत्पात मच्चाएको थियो। त्यो महावली र पराक्रमी थियो,उसको वीरताको रहस्य थियो उसकी पत्नी बृन्दाको पतिब्रता धर्म थियो। त्यसैको प्रभावले उ सर्व विजयी भएको थियो।

जालन्धरको उपद्रवले भयभीत भएका देवता तथा ऋषिगणहरु श्रीहरिका शरणमा पुगेर भगवान संग गुहार मागे। विष्णुभगवानले एक छिन विचार गरेर भन्नु भयो “हे देवगणहरुहो? जालन्धर यति शक्तिशाली हुनुको रहस्य उसकी पत्नी वृन्दाको पतिव्रता धर्महो ,उसको पतिव्रता धर्म नष्ट नभए सम्म उसको हारहुने छैन त्यसैले  म त्यहां गएर कुनै तरहले उसको पतिव्रता धर्म नष्ट गरेर आउनेछु तव तक तपाइहरु उसंग लड्दै रहनु।” भन्नु भयो र  आफ्नी योगमायाको वलले यौटा जालन्धरकै रुपको मृत शरीर उसको घरको आगनमा छाडिदिनु भयो।मायाको पर्दा परेको कारणले त्यो शव वृन्दालाइ आफ्नो पतिको जस्तो भान भयो र उ आफ्नो पतिको मृतशरीर देखेर भावविह्वल भएर त्यसै लाश माथी झम्टेर रुन लागिन्। ठिक त्यसै वेला यौटा योगीसाधु आउनु भयो भन्नु भयो- हे वालिके? यति धेरै विलाप नगर मैले तिम्रो पतिको यो मृत शरीरमा  प्राण भरी दिउंला उठ ” भन्नु भयो र साधुले त्यस मृतशरीरमा प्रण फुकी दिनु भयो।, भुइंमा लडेको लाश उठ्यो जालन्धरकै रुपको थियो ,वृन्दाले साधु प्रति कृतज्ञता प्रकट गरिन् सन्त आफ्नो वाटो लागे एता यी दुइ पति पत्नी  भावविह्वल भएर एक आपसमा अंगालोमारे यतिकैमा वृन्दाको पतिधर्म नष्ट हुन्पुग्यो।तुरुन्तै बृन्दालाइ आंफुमाथि छल भएको कुरा थाहा भयो। ,आफ्नो पतिको ठाउंमा भगवान विष्णुलाइ देखिन् ,उता देवताहरु संग लडेको जालन्धर पनि युद्धमा मारीयो।उसको लाश पनि त्यही आइ पुग्यो। यो देखेर सती बृन्दाले भगवानलाइ भनिन् “हे विष्णु?तपाइंले जसरी मलाइ छल गरेर मेरो पतिब्रता धर्म नष्टगरीदिनु भयो  र म आफ्नो पतिवाट विछोड हुन पर्यो त्यसरीनै तपाइले पनि अर्को जन्ममा अरु कसैले तपाइकी पत्नी हरण गर्नेछ र तपाइलाइ पनि पत्नी वियोगको पीडा सहन परोस भनि श्राप दिइन् र  उनले अर्को पनि श्राप दिइन् कि हे विष्णु? तपाइले पत्थर भै धेरै काल सम्म मर्त्यलोकमा वास गर्न परोस भनिन्  र पतिको मृतशरीर संगै सती गइन्।

एता विष्णु भगवानलाइ आंफुले छलगरी बृन्दाको पतिब्रता धर्म नष्टगरेकोमा धेरै पश्चाताप र लज्जा हुन्छ  सवै देवताहरुले भगवानलाइ संझाउछन्,यमुनाजीको किनारमा वसेको ब्रजभूमिमा (वृन्दावनमा )दुवैको शवदाहन भयो चित्ताको भष्म भगवानले तिलक लगाउनु हुन्छ। जालन्धरकोआत्मा भगवानमा लिन हुन पुग्छ,।उतावृन्दालाइ भगवानले भन्नु हुन्छ वृन्दे? तिमी यस मर्त्यलोको कल्याणको लागि तुलसी भएर घरघरमा रहौली,म कृष्णगण्डकीको किनारमा शालीग्राम भएर रहुँला जस्ले कार्तिक शुक्ल एकादशीको दिन मेरो साथमा तिम्रो विवाह गराइ देला उसलाइ सकल सुख शान्ति मिल्नेछ ।जव सम्म कुनै मानिसले तिम्रो मठमन्दिर वनाइ पूजागर्नेछन्,तिम्रो सेवा गर्नेछन  तव सम्म उनको कल्याण हुंदै जानेछ र अन्तमा मोक्ष पाउने छन् भन्नु भयो। पार्वतीजीले वृन्दाको चित्ताको भष्ममा तुलसी, अमला र  मधुमालती रोप्नु भयो र भन्नु भयो ।यी तिनवटै वनस्पतिहरु धर्तीका कल्पवृक्ष हुनेछन् जस्ले यिनको सेवा गर्ला उसलाइ जीवनका चारपुरुषार्थ धर्म अर्थ काम र मोक्ष मिल्नेछ भन्नुभयो। उनै सतीवृन्दा आज हाम्रा घर घरमा तुलसीकोरुपमा स्थापित पूजित भएर वसेकी छिन् । विष्णु भगवान हाम्रै पावनी कृष्णगंगा (कालीगण्डकी)का किनारामा शिलाको रुपमा हरदम निवास गर्नु हुन्छ, वहांकै प्रतिमूर्ति शालिग्राम घरमा ल्याएर सिधै पूजा गर्न सकिन्छ। शालिग्राम शिलाको प्राणप्रतिष्ठा पनि गर्न पर्दैन अरु माटा ढुंगाका मूर्तिहरुको प्राणप्रतिष्ठा नगरी पूजा हुंदैन।

तुलसीको महिमा-तथा धार्मिक पक्ष-

तुलसीको महिमा वताउंदै शिवजीले नारदजीलाइ भन्नु हुन्छ हे नारदजी?तुलसीका पात फूल,फल मूल,हांगा वोक्रा तथा माटो समेत सवै पवित्र हुन्छन्-

पत्रं पुष्पं फलं मूलं शाखा त्वक् स्कन्ध संज्ञितम्।

तुलसी सम्भवं सर्वं पावनं मृतिका दिकम्।।

तुलसीको महिमाको वर्णन गर्दै पद्मपुराणमा भनिएकोछ-

महा प्रसाद जननी सर्वसौभाग्य प्रबर्धिनी।

आधिव्यधि हरेर्नित्यं तुलस्यैत्व नमोस्तुते।।

हे  देवी? तिमी सकल सौभाग्यकी दातृहौ ,सवै आधिव्याधिलाइ हरण गर्छ्यौ,तुलसी रोपनाले पालनाले सिंचाई  गर्नाले दर्शनगर्नाले ,स्पर्श गर्नाले मनुष्यको मन वचन तथा शरीरमा संचित भएर वसेका सवै पापहरु दूर भएर जान्छन् ,प्रणाम गर्नाले रोग नष्ट भएर जान्छन्,सिंचाई गर्नाले अकाल मृत्यु हरण हुन्छ। तुलसीको विरुवा रोपनाले भगवानको सान्निध्यता प्राप्त हन्छ,तुलसीदल भगवानका चरणमा चढाउनाले मोक्ष प्राप्त हुन्छ।तुलसी दल ,अमलाको फल र मालतीको फूल शिरमा राख्नाले नर्कको द्वार वन्द हुन्छ। यसै गरी

तुलसीको महिमा वताउंदै ऋषिगण वताउनु हुन्छ- जुन घरमा तुलसीको वन वगैंचा हुन्छ त्यस ठाउंमा यमदूतहरु आउन सक्दैनन्।

अर्थात हे विष्णुप्रियातुलसीमाता? तिमि द्वारानै योसंसारको सृष्टि,”उत्पत्ति”स्थिति”पालन” र संहार हुन्छ।तिम्रै आश्रयमा ब्रह्मादि गरिएका देवताहरुले वास गर्दछन् तिमीलाइ नमस्कार गर्दछु।हे विष्णुप्रिया देवी? तिमीलेनै सवैको कल्याण गर्छ्यौ,ऐश्वर्य प्रदान गर्छ्यौ र अन्तमा मोक्ष पनि प्रदान गर्छ्यौ तिमीलाइ नमस्कार गर्दछु।

हे देवी?  तिम्रो कीर्तन  वा स्मरण गर्नाले मात्रै पनि सवै पापहरु हरण गर्छ्यौ र जुनसुकै आपद् विपद्वाट पार लगाउंछ्यौ मलाइ रक्षागर। तिमी द्वारानै योसारा संसारको रक्षा हुन्छ,सवैका दु:ख हरण हुन्छन् ,पाप नाश गर्छ्यौ ,तिमी वाहेक योसंसारमा यति कल्याणकारी कोहुन सक्छ? जो मनुष्यले तिम्रा पल्लवहरु भगवान विष्णुलाइ अर्पण गर्दछन् तीनलाइ प्रेय (भुक्ति) श्रेय (मुक्ति) दुवैको प्राप्ति हुन्छ। हे देवी ?तिम्रै आश्रयमा सवै देवताहरुको वास भएको हुनाले तिम्रो पूजा आराधना गर्दा स्वत देवताहरुको पनि पूजा  हुन्छ। त्यस कारण हे देवी? तिम्रै पूजा अर्चना गर्दछु, मेरा सवै पाप ,आधिव्याधी, दु:ख दारिद्र्य अकालमृत्युहरु हरण गर्नुहोस। यस प्रकार तुलसीको पूजा अर्चनाका साथै  तुलसीदलले श्रीविष्णु भगवानको नित्य पूजागरी तुलसीका यी सोह्र नामको संकीर्तन गर्छन्  तिनलाइ यसजन्ममा सुख शान्ति प्राप्तहुन्छ र अन्तमा विष्णुलोकको प्राप्ति हुन्छ।

तुलसीजीका पावन १६ नामहरु-जप्नु वा संकीर्तन गर्नु पर्छ

तुलसी श्रीर्महालक्ष्मीर्विद्याविद्या यशस्विनी।

धर्म्या धर्मानना देवी देवीदेवमन:प्रिया।।

लक्ष्मी प्रियसखी देवी द्यौभूमि रचलाचला।

षडशैतानि नामानि तुलस्या:कीर्तयन्नर:।।

      तुलसीलाइ प्रार्थना गर्ने मन्त्र-

महाप्रसाद जननी सर्वसौभाग्य प्रवर्धनी।

आधिव्याधिहरिर्नित्यं तुलसीत्व नमोस्तुते।।

 भगवानलाइ चढाउने महाप्रसादको रुपमा सर्व प्रथम तिमीलाइ चढाइन्छ ,तिमी विनाको प्रसाद भगवानलाइ प्रिय हुंदैन त्यसकारण तिमी महाप्रसादकी जननीहौ (बद्रीनारायणलाइ लगाउने  महाप्रसादमा तुलसी मन्जरी राख्नु पर्छ र गलामा लगाउने माला पनि तुलसीजीकै हुनु पर्छ) यस्तै जुन सुकै यज्ञ अनुष्ठान गर्दा भगवानलाइ चढाउने जुनसुकै प्रसादहरुमा तुलसीदल छोडेको हुनु पर्छ नत्र शुद्ध मानिदैन। यसकारण तुलसी सवै प्रसादहरुकी जननी भइन्, अनि सौभाग्यवढाउने ,सवै प्रकारका रोगहरुको हरण गर्ने तिमीलाइ नमस्कारछ भनि प्रार्थना गर्नु पर्छ।  प्रातकालमा उठेर नित्यकर्म गरी सर्वप्रथम तुलसीजी का यी आठ नाम (तुलसीनामाष्टकम्)पाठगर्नाले अश्वमेध यज्ञको फल मिल्छ भनिएकोछ ।

    ( तुलसी नामाष्टकम्)

वृन्दा बृन्दावनी विश्वपूजिता विश्वपावनी।

पुष्पसारा नन्दिनी च तुलसी कृष्ण पावनी।।

बृन्दा =-सवैवनस्पतिहरुकी आधिदेवी (जननी )

बृन्दावनी= जसको उत्पत्ति बृन्दावनमा भएको थियो।

विश्वपूजिता=समस्त जगतद्वारा पूजित भएकी।

विश्वपावनी= तिनै लोकलाइ पवित्र गर्ने वाली।

पुष्पसारा=सवै पुष्पहरुको साररुप।

नन्दिनी =आनन्द प्रदान गर्ने वाली।

कृष्णजीवनी=श्रीकृष्णजीकी प्राण प्रिया।

तुलसी== अद्वितिया

    (तुलसीजीलाइ प्रणाम)

बृन्दाश्री तुलसी देव्यै प्रियायै केशवस्य च।

विष्णु भक्ति प्रदेदेवी सत्यवत्यै नमो नम:।।

हे देवी ?तिम्रो भक्तिमलाइ प्रसप्तहोस ,समस्त जगतका प्राणीहरुमा आत्मभावले देख्न सकूं त्यस्तो भक्ति लागोस।

 मेरा समस्त पाप नष्ट होउन भनि प्रदक्षिणा गर्ने। 

       (तुलसी प्रदक्षिणा मन्त्र)

यानि कानि च पापानि जन्मान्तर कृतानि च।

तानि तानि प्रणस्यन्ति प्रदक्षिणा पदे पदे।।

 अव तुलसीपत्र वा मञ्जरी टिप्ने विधि-

तुलसीको महिमा वताउंदै शाश्त्रहरुले जुन घमा तुलसीछन्,त्योघरम महातीर्थ हुन्छ त्यहा सन्तहरुको आगमन हुन्छ भनेकाछन् यसै प्रसंगमासीताजीको खोजीमा लंकापुग्नुभएका श्रीहनुमानजी सारा लंकासहर चहार्दै हिड्नु भयो एक छिन विश्राम गर्ने स्थान कहीं पाउनु भएन अन्तमा यौटा सामान्य चटक्क परको सुघर सफा घरदेखियो जुनघरमा तुलसीको मठसिंगारिएको थियो तुलसीको सुगन्ध चारै तर्फ फैलिएको थियो त्यो देखेर हनुमानजी निकै हर्षित भएर विश्राम गर्न पुग्नु भयो जुनघर रामभक्त विभीषणको थियो। यो प्रसंग तुलसी रामायणमाछ जस्तै-

नानायुध अंकित गृहशोभा वरिन नजाइ।

नवतुलसीका वृन्द तहं देखि हरषि कपिराइ।।

तुलसी भएको घरमा यमदूतहरुले प्रवेश गर्न पाउदैनन् ,वस्तुदोष लाग्दैन भूतपिशाचको भयहुंदैन अखण्ड सौभाग्य मिल्छ  भनेको हुनाले तुलसीजीको विजारोपण,संवर्धन र प्रयोग पनि उचित ढंगवाट गर्नुपर्छ किनभने “योग्यं योग्येन युन्जेत) आफ्नो हितकारीको आंफुले आदर गर्नु हाम्रो धर्म हुन्छ।हामीले तुलसीजीको संरक्षण गर्यौ भने उनले हाम्रो रक्षा गर्छिन् ,हामीले उनको उपेक्षा गरे उनले पनि गर्छिन् त्यसैले शाश्त्रहरुले तुलसी दल वा मन्जरी तोड्ने केही नियमहरु वताइएकाछन् ती यस प्रकारछन्-

अभिन्न पत्रां हरितां ह्यद्यमञ्जरिसंयुताम्।

क्षीरोदार्णव सम्भूतां तुलसीं दार्पयेद्हरिम्।।। (ब्रह्मपुराण)

मन्त्रेणानेन य: कुर्यात् गृहीत्वा तुलसी दलम्।

पूजनं वासुदेवस्य लक्षपूजा फलं लभेत्।। (पद्मपुराण)

अर्थात् तुलसी पत्रतोड्दा भगवान शलिग्रमको पूजाको लागि डिप्छु भनेर हरिया पत्रसहितको मञ्जरी (अग्रभाग) वा पत्ता मात्र टिप्नु पर्छ वोटै मास्ने गरी टिप्नु हुंदैन।

   तुलसी दल टिप्ने मन्त्र-

तुलस्यमृतजन्मासि सदात्वं केशवप्रिया।

चिनोमि केशवस्यार्थे वरदाभव शोभने।।

त्वदङ्गसम्भवै:पत्रै:पूजयामि यथा हरिम्।

तथा कुरु पवित्राङ्गि? कलौ मल विनाशिनि।।

हे देवी?तिमी श्रीहरिकी प्रियछ्यौ,तिम्रो जन्मनै अमृतवाट भएकोहो ,तिमी पावनछौ,तिम्रा मंजरीहरु द्वारा भगवानको पूजा गर्दा भगवान प्रशन्न हुनु हुन्छ त्यसकारण मेरा सवै पापहरु नाशगरी तिमीजस्तै पवित्र वनाइ देउ। तुलसीदल टिप्न निषेध गरीएको समय-

वैधृतौ च व्यतीपाते भौम भार्गव भानुषु।

पर्व द्वये च संक्रान्तौ द्वादश्यां सूतके द्वयो।।( निर्णय सिन्धु)

संक्रान्तौकृष्णपक्षान्ते द्वादस्यां निशि सन्ध्ययो।

नच्छिद्यत्—                       ।।(विष्णुधर्मोतर)

निषिद्धे दिवसे प्राप्ते गृह्नीयात् गलितं दलम्।

तेनैव पूजां कुर्वीत न पूजां तुलसी विना ।।

(वराह पुराण)

शालाग्रामाशिलार्चार्थं प्रत्यहं तुलसीक्षितौ।

तुलसी ये विचिन्वन्ति धन्यास्तेकरपल्लवा:।।

संक्रान्त्याद्या निसिद्धे$पि तुलस्यावचय:स्मृत:।।(आह्निक सूत्रावली)

अस्नायित्वा तुलसीं छित्वासोपानस्कस्तथैव च।

स याति नरकं घोरं यावदाभूतसम्भवम्।। (पद्मपुराण)

अर्थात्  यी निषिद्ध समयमा तुलसी दल तोड्न हुंदैन –

 वैधृति योग तथा व्यतिपात योग(27नक्षत्रजस्तै 27यगहरु हुन्छन् तिनमा वैधृति र व्यतिपात योग अशुद्ध मानिन्छन्)यी दुइ योग, मंगल शुक्र र रवि यी तीन वार, द्वादशी अमावाश्या एवं पूर्णिमा यी तीन तिथि, संक्रान्ति,  जननाशौच मरणाशौच  (जूठो सुत्केरो) परेकोमा, ,रात्रीमा र दुवै संन्ध्याकालमा तुलसी दल तोड्न हुंदैन, तर तुलसीको विना भगवान विड्णुको पूजा पूर्ण नहुने भएकोले निसिद्ध समयमा भगवानको पूजा गर्न पर्दा  तुलसीको वोटवाट आंफै झरेका पत्र टिपेर चढाउनज पर्छ। (पहिलो दिन टिपेर शुद्ध स्थानमा राखिएको तुलसीदल छ भने पनि तीनैले पूजा गर्न सकिन्छ।) यदि पहिले टिपेका पत्रहरु पनि छैनन् शालिग्रामको पूजा पनि गर्न आवश्यक छ भने त्यस्तो अवस्थामा निसिद्ध समयमा पनि टिपेर शालिग्राममा चढाउन सकिन्छ।

तर प्रात:स्नान नगरिकन वा जुत्ता लगाएर तुलसी पत्र तोड्न हुंदैन यसो गरेमा घोर नर्कमा परिन्छ।

अव तुलसीमा पाइने औषधीय गुणहरु र यसवाट हुने फाइदाहरुका वारेमा अलिकति चर्चा गरौं-

तुलसीलाइ यतिमहत्व किन दिइएको रहेछत भनि हेर्दा यसको जति धार्मिक दृष्टिले महत्व देखिन्छ तेत्तीकै वैज्ञानि दृष्टिले मनि महत्वपूर्ण देखिन्छ। जस्तै आयुर्वेद विज्ञहरु वताउनु हुन्छ- यस पौधामा एन्टिवायोटिक, दर्दनिवारक, तथा रोगप्रतिरोधक क्षमता वढाउने गुणविद्यमान रहेको हुन्छ भन्नु हुन्छ।यस्तै तुलसीको माला(कण्ठी)लगाने प्रचलन छ। यसको धार्मिक महत्व योछ कि तुलसी बिष्णुभगवानकी अत्यन्त प्रिया भएको हुनाले उनको मालाधारण गर्नाले मन तथा आत्मा दुवैना शुद्धता आउने र मानिसको आध्यात्मिक उन्नति हुनेछ जसवाट उ स्वयंमा ईश्वरको अंशहूँ भन्ने अनुभूति गर्न थाल्दछ। उसमा सकारात्मक भावपैदा हुन्जान्छ। यसको वैज्ञानिक पक्षलाइ हेर्दा  तुलसीको माला लगाउनाले हाम्रो शरीरका कुनै महत्वपूर्ण (एक्यूप्रेसर)भागमा दवाव पर्न जान्छ जसवाट मानसिक तनाव दूरहुनजान्छ र शरीरमा विद्युत शक्ति संचाहुन थाल्दछ र रक्त संचार राम्रो संग हुन जान्छ।तुलसी पत्ताको अर्को महत्वपूर्ण पक्ष केछ भने तुलसी पत्ता वाट दूषित पानि सफा गर्न सकिन्छ किनभने यी त्ताहरुमा एन्टिवायर गुणभएकोले तामाको एक अंखरा पानीमा 1-2पत्ता तुलसी दल छाडेर केही समय राख्नाले त्यसमा भएका हानीकारक विषाणु किटाणुहरु मरेर जान्छन् भनिन्छ। यस्तै जहां तुलसीका घनाजंगलछ त्यस ठाउको वातावण एवं पर्यावरण  शुद्ध हुन्छ,त्यस वरिपरि मलेरिया ,डेंगु जस्ता घातक वैक्टेरिया संवाहक लामखुट्टै प्रवेश गर्दैनन् भन्ने भनाइ रहेको पाइन्छ।

 आयुर्वेदीय औषधिविद्  आदरणीय आचार्य श्रीवालकृष्णजीको लेखवाट-

  आचार्यजी भन्नु हुन्छ-“भारत तथा नेपालका अधिकांश घरमा तुलसीको पौधाको पूजावन्दना गरीन्छ। हाम्रा ऋषिहरुलाइ लाखौं वर्ष पूर्व तुलसीका पौधामा प्रचुरमात्रामा औषधीय गुण छ भन्ने कुराको ज्ञान थियो यस कारण यसको दैनिक जीवनमा प्रयोग गर्नको लागि यति प्राथमिकताका साथ स्थन दिइएको पाइन्छ। आयुर्वेदमा तुलसीवाट हुने फाइदाहरुका वारेमा विस्तृतरुपमा वर्णन गरिएकोछ।

 सर्वप्रथम तुलसी के हो?

 तुलसी एक औषधीय गुणले भरिएको एक पौधाहो। जसमा  (vitamin)  भिटामिन तथा खनिज प्रचुर मात्रामा पाइन्छ। यसमा सवै रोगहरु दूर गर्ने तथा शारीरिक शक्ति वढाउने गुणले भरपुर यस औषधीय विरुवालाइ प्रत्यक्ष देवी भनि नाम दिइएकोछ। किन कि यो भन्दा उपयोगी मनुष्य जातिको लागि अर्को कुनै छैन।  तुलसीको महत्वको कारण घर घरमा विरुवा लगान्छ।तुलसीला धेरै प्रजातिहरुछन् ती मध्ये श्वेत र  कृष्ण  तिनलाइ रामतुलसी र श्याम तुलसी भनिन्छ। चरक संहिता तथा सुश्रुत संहितामा तुलसीका गुणगरुको वारेमा विस्तृत रुपले वताइएकोछ।

      तुलसीको प्रयोग वाट हुने फाइदाहरु-

औषधीय उपयोगको दृष्टिले तुलसीका पत्ताहरु ज्यादै गुणकारी मानिन्छ। यसलाइ सीधै पौधावाट टिपेर  खान सकिन्छ। तुलसीका पात जस्तै तुलसीका वीजहरु वाट पनि अनेक फाइदाहरुछन्। हामी तुलसीका पत्ता तथा वीजका चूर्ण पनि वनाउन सक्छौं। यी पत्तिहरुमा कफदोषलाइ कम गर्न,पाचन शक्ति एवं भोक वढाउन तथा रक्त शुद्ध गर्न सक्ने गुणहरु विद्यमान हुन्छन्। यस अतिरिक्त तुलसीका पत्ताको फाइदा,ज्वरो,मुटुसम्वन्धी विमारी,पेटदुखाइ, मलेरिया,वैक्टरियल संक्रमण, आदिमा वहुत फाइदा हुन्छ। तुलसीका औषधीय गुणमा रामतुलसीको तुलनामा कृष्णा तुलसीलाइ प्रमुख मानिन्छ।

 आचार्यजी अगाडी वताउनु हुन्छ-

 दिमागको लागि फाइदा(benefits of brain) –

यसको दैनिक प्रयोग गर्नाले मस्तिष्कको कार्यक्षमता वढेर जान्छ तथा स्मरण शक्ति तेज भएर जान्छ।तुलसीका 4/5 पत्तिहरु पानीको साथमा निलेर खानु पर्छ।

शिरदर्दमा(benefits of headache) आराम मिल्छ-

यदि कसैलाइ हेडेक शिरदर्द सम्वन्धी रोगछ भने तुलसीको तेल एक दुइ वूंद नाकमा राख्नाले शिदर‌्दमा आराम मिल्छ।

 कपालमा पर्ने जुम्रालिखाहरु हटाउनको लागि-

तुलसीको पत्ताको तेलवनाएर कपालमा लगाउनाले जुम्रा लिखाहरु हटेर जान्छन्।

रतौंधीमा लाभकारी(benefits of night blindness)

यदि कोही रतौंधीले पीडित छभने त्यस्ता व्यक्तिले तुसीका पातहरुको रस 2-3 पटक आँखामा राख्नाक‌ले त्यो रोग निको भएर जान्छ।

पिनाशको रोग(benefits for sinusitis)

तुलसीको मन्जरी(पत्तिहरु) मिचेर सूंघ्नाले मात्रै पनि त्यो रोगमा आराम मिल्दछ।

कानको दर्द सूजनमा लाभदायक(benefits for ear pain)

कानको दुखाइ कम गर्न तुलसीरसलाइ मनतातो वनाइ 2-2बूंद कानमा राख्नाले  चाडै निको हुन्छ।

 दांतको दर्दमा तुलसी(benefits for toothache)

 दांतको दर्द वाट आराम पाउनको लागि मरीच तथा तुलसीका पत्ताहरुको गोली वनाएर दांतको तल्लो भागमा राख्नाले दांतको दुखाइ वाट आराम मिल्छ।

गलासीतसम्वन्धित समस्या(benefits for throat infection)

सर्दी रूघा जुखाम हुंदा वा मौसमको वदली हुंदा अधिकतर गलामा खटास वा गला अवरुद्ध हुने जस्तो समस्या आउन थाल्छ यस्तो अवस्थामा तुलसीको रसलाइ हल्का मनतातो पानीमा मिलाएर कुल्ला गर्ने ,त्यस वाहेक तुलसी मिश्रित जलमा थोरै वेसार र सिधे नून मिलाएर कुल्ला गर्नाल मुख,दांत वा गलाका सवै विकारहरु दूर भएर जान्छन्।

खोकीमा आराम (benefits for cough)  

तुलसीका पत्ताहरु वाट वनेकप  सर्वत आधि चम्चा देखि डेढ चम्चा सम्म वच्चाहरुलाइ र दुइ चम्चा सम्म वयस्क व्यक्तिले सेवन गरेमा कुकुर खांसी वा गलाको खस खसमा लाभ हुन्छ। यस सर्वतमा तातो पानी मिलाएर सेवन गर्नाले रूघा तथा दमको रोगमा लाभ हुन्छ। यो सर्वत वनाउनलाइ 50ग्राम जुलसी पत्ता(मन्जरी सहित) अदुवा 25ग्राम, तथा मरीच 15 ग्रामलाइ 500 मिलि लि पानीमा मिलाएर कांढा वनाउने त्यसको एक चौथाइ शेष रहेपछि छानेर 10ग्राम सानो इलाइंची मिलाएर 200ग्राम चिनी राखेर पकाउने र चास्नी भए पछि छानेर राख्ने र सेवन गर्नाले खांसीमा आराम मिल्छ।

सुख्खा खोकी र दममा लाभ(benefits for dry cough and asthma)

तुलसीका पत्ताहरु खोकी र आस्थमाका रोगीहरुको लागि वहुत गुणकारीछ। यसको लागि तुलसीको मन्जरी,सूठो ,प्याजको रस तथा महलाइ मिलाइ चाटेर खानाले दमवाट आराम मिल्दछ।

पखाला तथा पेटदुखेकोमा(benefits for diarrhea and stomach cramps)

गलत खनपान वा दूषित पानीको कारणवाट अक्सर मानिसहरु डायरीयाको चपेटामा परेका हुन्छन। खास गरेर वच्चाहरुलाइ यो समस्या वहुत हुन्छ। तुलसीका पत्ताहरु डायरीया वाट छुटकसरा दिलाउन वहुत उपयोगी सिद्ध भएकोछ। यसको लागि 10पत्ता तुलसी 1ग्राम जीरा दुइटै मिलाइ पिसेर महमा मिलाएर चाटनाले पखाला वा पेट दुखेको लाइ आराम गर्छ।

 अपच (benefits for indigestion)

अपच या अजीर्णको समस्या भएमा तुलसीका 2ग्राम मन्जरी पीसेर कालो नूनको साथमा मिलाएर खानाले आराम मिल्छ।

पिशाव पोल‌ने(benefits for urine irritation)

पिसाव पोल्ने समस्या भएमा तुलसीको वीज(seeds) तथा जीराको चूर्ण 1ग्राम लिएर त्यसमा 3ग्राम मिश्री मिलाएर विहान वेलुकी दूधको साथमा मिलाएर खानाले पिसाव पोल्ने र व्लेडर इनफेक्सनमा फाइदा पुग्छ।

 पिलीया जन्डिस(jaundice) मा हुने फाइदा-

जन्डीस यस्तो विमारीहो जसको समयमै उपचार हुन नसकेमा पछि गएर भयंकर रुप लिन सक्दछ।त्यसको लागि 1-2 ग्राम तुलसी पत्ताहरु पिसेर मोही (तक्र,छाछ)का साथमा मिलाएर पिउनाले जण्डीसमा लाभ हुन्छ। यस अतिरिक्त तुलसीका पत्ताहरुको कांढा वनाएर पीउनाले पनि जण्डीसमा आराम मिल‌छ।

 पत्थरी हटाउनमा फाइदा-

पत्थरीको समस्या भएमा तुलसीका एक दुइ ग्राम पत्तीहरुलाइ पिसेर महको साथमा खानाले पत्थर निस्केर जान सक्छ।तर पत्थरी ठूलो भएमा अप्रेसन गरेर फाल्न पर्ने हुनाले  डाक्टरको परामर्श लिनु पर्छ।

प्रशव पीडा (delivery pain)

प्रशव पछि महिलाहरुलाइ असह्य पीडा हुन्छ यस पीडा वाट छुटकारा पाउन तुलसीको रस र पुरानोगुड वा खुदो मिलाएर प्रसूति हुने वित्तिकै पिलाउनाले दर्द कम हुनेछ।

नपुंसकता(impotence) मा हुने फाइदा-

तुलसी वीज(seeds) चूर्ण वा अथवा तुलसीको जरा या फेदको चूर्णमा वरावरको मात्रामा गुँड वा खूदो मिलाएर 1-3ग्रामको मात्रामा गाइको दूधको साथमा लगातार 1 मैना देखि 6मैना सम्म सेवन गरेमा नपुंसकता दूर हुन्छ ।( गाइको दूध भन्नाले जर्सीको हुंदैन पहाडिया गाइको भन्ने वुझ्नु पर्छ।)

कुष्ट रोग वा छालासम्बन्धी अन्यरोग(benefits for skindisorder)

10-20 मिलि लि तुलसी रस विहान पिउनाले  त्वचा।सम्बन्धी रोग ठिक हुन्छ।

सफेददाग हटाउन उपयोगी(benefits for leacoderma)

तुलसी पत्ररस 1मात्रा,कसौदीपत्र स्वरस 1मात्रा निवू(कागती)रस 1 मात्रा, यी तिनै रस वरावर गरेर यौटा तांवाको भाडोमा राखेर24घंटा घाममा राख्ने गाढा भए पछि यसको लेपन गर्नाले सफेद दाग देखिने रोग निको हुन्छ।

रोगप्रतिरोधक क्षमता वढाउनमा मद्दत(improve immunity power) तुलसीका पत्ताले नियमित सेवन गर्नाले शरीरको रोगप्रतिरोधक क्षमता वढेर जान्छ। जस वाट कुनै पनि संक्रामक रोगको आक्रमण हुन  वाट जोगाउंछ। यसको लागि 20ग्राम तुलसी वीज चूर्ण 40ग्राम मिश्री मिलाएर पिसेर राख्ने र सर्दीमा यो मिश्रणको 1ग्राम मात्रा केही दिन सम्म लगातार सेवन गर्नाले शारीरिक कमजोरी दूरभएर जान्छ र शरीरको रोग प्रतिरोधीक्षमता वढेर जान्छ एवं वात तथा कफ संग जोडिएर आएका सारा रोगहरु दूरभएर जान्छन्। यसका अतिरिक्त5-10मिलि ग्राम कृष्णातुलसी पत्रको स्वरसमा दुइ गुना मात्रामा गाइको(पहाडियागाइ) मनतातो घ्यू मिलाएर सेवन गर‌नाले पनि वात र कफ संग सम्वन्धीत सवै रोगहरु दूर भएर जान्छन्।

मलेरियामा फाइदा-

तुलसीको पौधा मलेरिया प्रतिरोधीहो।तुलसीको पौधालाइ छोएर वगेको वायुमा कुनै यस्तो प्रभाव उत्पन्न हुन्छ जस्मा मलेरियाका किटाणुहरु वोकेका लामखुट्टेहरु टिक्न सक्दैनन् र त्यहां वाट भागेर जान्छन् त्यहां वरि परि रहन सक्दैनन्।तुलसी पत्रको कांढा वनाएर विहान दिउसो र वेलुका पिउनाले मलेरिया रोग लाग्दैन र लागेकोमा पनि आराम मिल्छ।

टइफाइड(Typhoid) मा फाइदा-

यस रोगवाट पीडित व्यक्तिले तुलसी मूल(फेदको डांठ)को क्वाथ दिनमा 15मि लि का दरले दिनमा दुइ पटक पीउनाले तुलसी अर्कको फाइदाले टाइफाइडको ज्वरो चाडै निको हुन्छ यति मात्र हैन 20तुलसी पत्ता तथा 10मरीचका दाना मिलाएर पिसेर  काँडा वनाएर राख्ने र कुनै किसिमको ज्वरो आएमा पनि यको सेवन गरेमा जुन सुकै ज्वरो पनि ठिक हुन्छ।

ज्वरोको लागि-

तुलसीको पौधावाट 7वटा तुलसीका पत्ताहरु तथा 5वटा ल्वाङ् लिएर एक ग्लास पानीमा पकाउने र आधा शेष रहे पछि थोरै शिधेनून राखेर तात तातो पीउने र यो कांढा पिइ सके पछि केही समय वाक्लो वश्त्र ओढेर वस्ने र पसीना निकाल्ने यस वाट ज्वरो उत्रेर जान्छ।यो संगै रुघा सर्दी पनि दूर हुन्छ। यो कांढा दिनमा दुइ तिन पटक सम्म लिन सकिन्छ।साना वच्चाहरुलाइ सर्दी जुखाम भएमा तुलसी रस 5-7वूँद, अदुवाको  रसमा मह मिलाएर चाटनाले सर्दी जुखाम ठिक हुनमछ। नवजात शिशुलाइ थोरै मात्रामा दिनु पर्छ।

 दाद खुजली-

यदि तुलसीको अर्कको सेवन गर्नेहो भने त्यस वाट रक्तशोधन(शुद्ध) गर्न मद्दत गर्छ ,रक्त शुद्ध भए पछि छाला सम्वन्धी रोगहरु निको हुन्छन्।

मासिक धर्मको अनियमितता-

शरीरमा  वातदोष वढेर जानाले मासिक धर्ममा अनियमितता आउंछ,तुलसीको वीजमा वात रोग(वायुको असन्तुलनलाइ) नियन्त्रण गर्न सक्ने गुण हुन्छ यस कारण यसको प्रयोग मासिक धर्मको अनियमिततामा गर्न सकिन्छ।तुलसीको वीज कमजोरीहरु दूर गर्न पनि सहायक हुन्छ जसको कारण वाट मासिक धर्म हुंदा  जुन कमजोरी हुन्छ त्यो कमजोरी दूर गर्न मद्दत गर्छ।

चोपटकलागेमा(beneficial to treatment injuries)

 पनि तुलसीको प्रयोग गर्न सकिन्छ किनकि यसमा रोपण तथा सूजन कम गर्ने गुण विद्यमान रहेको हुन्छ यस कारण चोटपटका घाउमा  यसको प्रयोग गर्न सकिन्छ।

स्वासको दुर्गन्ध मेटाउन(beneficial in bad breath) स्वासको दुर्गन्ध अधिकतर पाचन शक्ति कमजोर हुनालो कारणले तुलसीमा पाचन प्रणालीलाइ सक्षम वनाउने गुण भएको कारणले स्वास गह्नाउने समस्यालाइ दूर गर्न सहायक हुन्छ।यसको आफ्नो स्वभाविक सुगन्ध हुनाको कारणले पनि स्वासमा हुने दुर्गन्ध नाश गर्न सक्षम हुन्छ।

सर्पलेटोकेकोमातुलसीको प्रयोग(Tulsa plant help in treatment of snake bite)

5-10 मि लि तुलसी पत्र स्वरस पिलाउनाले तथा यसको मंजरी तथा जराहरुलाइ पिसेर सर्पले टोकेको ठाउंमा लगाउनाले यसको पीडामा लाभ हुन्छ।यदि रोग वेहोस भएकोछ भने यसको रसलाइ नाकमा चुहाइ रहन पर्छ।”

अव यसमा रहेको धार्मिक पक्ष र वैज्ञानिक पक्षलाइ केलाएर हेर्यौं भने दुवैको निचोड एकै हुन्छ लक्ष एकै हुन्छ।जस्तै अध्यात्म विज्ञानले यो योकाम गर्नु यस तिमीलाइ धर्म मिल्छ तिम्रो कल्याण हुन्छ,भुक्ति मुक्ति प्राप्त हुन्छ यो यो नगर यसवाट तिमीलाइ पाप हुन्छ कल्याण हुंदैन तिम्रो हानी हुन्छ भनेको देखिन्छ भने ऐले विज्ञानले ती ती विषयमा अनुसन्धान गरेर भन्यो कि यो चिजमा यो यो तत्वछ जसवाट तिमीलाइ हित हुन्छ र यो यो चिजमा यो यो खराविछ यसको सेवन गर्दा यति हानी हुन्छ भनेको देखिन्छ ।दुवैको लक्ष एकैहो आत्म कल्याण। जस्तो अध्यात्मले भन्यो वर,पीपल,शमी ,तुलसी ,अंवलालाइ देवस्वरुप मानेर पूजागर तिनको सेवन गर सम्पर्कमा वस तिम्रो कल्याण हुन्छ भने, ऐले विज्ञानले तिनै वस्तुमा मनुष्यको लागि यो यो लाभ हुन्छ तीनको सेवन गर भनेकोछ कुरा यौटै हो। यसमा श्रीमद्भागवतको यौटा दृष्टान्त यहां राख्न चाहन्छु।

 राजापरीक्षितले परमहंस श्रीसुकदेवस्वामी वाट श्रीमद्भागवत कथा श्रवणगर्दै जांदा दशमस्कन्धमा पु्ग्दा भगवान द्वारा कंसको वध हुन्छ र कंसले तत्कालै मोक्ष प्राप्त गर्यो भनेर श्री सुकदेवस्वामीले  भन्दा सुनेका परीक्षीितको मनमा यौटा प्रश्न खडा भयो  कि  त्यस्तो पापी कंस कसरी मुक्त भयो ? भनि परीक्षितजीले सुकदेवस्वामीसंग प्रश्न गर्नु हुन्छ भगवन्? मैले यो कुरा वुझ्न सकिन कि त्यसरी भगवान संग वैरभाव राख्ने कंस,पुतना  शिशुपाल तथा ती अनपढ वज्रका गोपिनीहरु जो कामासक्त भएर भगवानलाइ मयागर्थे तिनले कसरी गोलोक पाए? भनि प्रश्न गर्नु हुंदाश्री सुकदेवस्वामी भन्नु हुन्छ-

कामं क्रोधं भयं स्नेहमैक्यं सौहृद्यमे व च।

नित्यं हरौ विदधते यान्ति तन्मयतां हिते।।श्रीमद्भागवत 10/29/15

गोप्य कामाद्भयत्कंसो द्वेषाद्चाद्यादयोनृपा:। भागवत 7/1/30

राजन्? यसको सजिलो उत्तर ध्यनपूर्वक सुन्नुहोस मैले तपाइलाइ भक्तिका नौवटा मार्गहरु वता‌एं  यी मार्गहरु भगवान संग प्रत्यक्ष जोडिने मार्ग हुन् यस आलावा पनि परोक्षरुप वाट पनि भगवान संग (attachment) जोडिन पुगियोभने सकियो कामवन्यो। फेरि भन्नु हुन्छ राजन्? पारसमणिपत्थरको वारेमा तपाइंलाइ थहाहोला त्यो पारसमणिमा फलाम छोइयो भने फलाम सुन वन्छ जुनसुकै तरिकाले छोइयोस चाहे फलामलाइ सुन वनाउने उद्देश्यले छोइवोस त्योफलाम पारसमणि संग छइए पछि सुनवन्छ अर्को किसिमले पारसमणिमा झुक्किएर वा दुष्ममनि गरेर लोहाको रडले हिर्काइएको भए पनि त्यो फलामको रड पनि सुन वन्छ।यस्तै अमृत र विषको सम्बन्धमाछ यदि कसैले यो अमृतहो यसलाइ पिएर मैले आरोग्यता ,र अमरत्व

प्राप्त गर्छु भनेर अमृत पियो भने पनि उसले आरोग्यता र,अमरत्व पाउंछ र नजानिकनै अमृत पियो भने पनि उसले आरोग्यता प्राप्त गर्छ।यसै प्रकारले विष खाएर मर्छु भनेर खाए पनि मानिस मर्छ झुक्कीएर खाए पनि उ मर्छ। ठिक यसै प्रकारले भगवानक सम्बन्धमा सम्झनु पर्छ। राजन्?तपाइंले भनेको कुरा ठिकहो कंसले कृष्णसंग शत्रुता गर्थ्यो रात दिन कृषणकै वारेमा सोचिरहन्थ्यो यो शत्रुलाइ कसरी परास्त गरूँ यहि सोच्दा सोच्दै उ यस्तो हालमा पुग्यो कि सुत्दा उठ्दा दांया वाया जताततै कृष्णलाइनै देख्न थाल्यो ।एक दिन उसको नोकर कोठामा झाडु लगाउन आएको थियो उसलाइ कृष्णकै रुपमा देखेर भयले चिच्यायो लौ मलाइ मार्न कृष्ण आयो भन्यो र करायो। यस्तै शिशुपालले पनि शत्रुताकै भावमा अहोरात्र कृष्णलाइ संझि रन्थ्यो, ।यसरीनै कृष्णलाइ मार्न भनेर आफ्नो विषालु स्तनपान गराउन आएकी पुतनाले कृष्णलाइ स्तन पान गराउंदा गराउंदै उसमा मातृत्व भाव जागेर आयो र उ मातृभावले भगवान संग जोडिन पुगि । गोपिनीहरुको भगवान संग यति लगाव थियो कि भगवानलाइ हेरेर कहिल्यै अघाउंदैन थे ,भन्थे यी भगवानलाइ हेरिरहेका आंखाका परेलाहरु यै वेलामा झिम्कन पर्थ्यो ?तेती समय पनि हामी उनी संग टाढा हुन सक्दैनौं भन्थे ।,चाहे उनीहरुको कामभावलेनै होस त्यसैले उनिहरुले गोलोक धाम पाए। भनेर परीक्षितलाइ संझाउनु हुन्छ। यै दृष्टान्त यहां पनि लागु हुन्छ।

 हाम्रा ऋषिमहर्षिहरु वर्षौ वर्ष जंगलमै वसेर तपस्या गर्थे सारावनस्पतिहरुको अनुसन्धान अन्वेषण गर्नु हुम हुन्थ्यो र कुनमा कुन तत्वछ?भन्ने कुरा उहांहरुलाइ अनुभव थियो त्यसैका आधारमा वहांहरुले जुन कुराले मानिसको कल्याण गर्न सक्छ त्यस कुरालाइ धर्म र कुन कुराले हानि गर्छ त्यस कुरालाइ पापहो यो नगर ,यो धर्महो गर भन्नु भयएको रहेछ भनेर संझनु पर्छ। ऐले विज्ञानले जति खोज गर्दैछ त्यो भन्दा वढी अध्यात्म विज्ञानले गरिसकेको थियो ।

धर्मशास्त्रहरुले वनस्पतिहरुमा वर,पीपल,शमी ,अमला, आदि वनस्तिहरुलाइ विशेष पूजा गर यिनमा देबताको वासछ यिनको पूजागर यिनले तिम्मीलाइ स्वास्थ्य प‌रदान गर्छन भनेको भनेर वुझ्नु पर्छ ।जस्तो हाम्रा शाश्त्रहरुले तुलसीको सेवन गर,तुलसीको मालस लगाउ, तुलसी भएको सेवनगरेका व्यक्तिलाइ यमदूतहरुले स्पर्श गर्न सक्दैनन् ,भनेकाछन् ,हाम्रो सषंस्कृतिले जीवनको अन्तीम क्षणमा तुलसीको मठसंगै गाइको गोवरले लिपि त्यसमाथि अन्तीम स्वास लिंदै गरेको व्यक्तिलाइ राख्नु तामाको अंखरीमा गंगाजल भरेर त्यसमा 2/4पत्ता तुलसी दल तथा भगवान शलिग्रामको चरणोदक राख्नु र मरणा सन्न व्यक्तिलाइ पिलाउनाले उसलाइ यमदूतले सताउंदैनन् भनेको देखिन्छ यसै गरी  घाटमा लगेर तुलसीको काठ चित्तामा राखिदिनाले उसको जीवात्मालाइ वाटमा यमदूतहरुले सताउंदैनन् भनेको देखिन्छ । यसको पछाडीको विज्यन  केहो  भने गाइको गोवर विषालु किटाणु नाशक,तुलसीले जीवनदायिनी शक्ति प्रदान गर्नुका साथै वरीपरिको वातावरण शुद्ध वनाउने यस्तै गंगाजल सवै मन्दा पवित्र त्यसमा पनि तामाको वर्तनमा तुलसीदल तथा शालिग्रामको चरणोदक राख्ननाले झन् पवित्र वस्तुको सान्निध्यताले उसमा रहेका सारानकारात्मक उर्जा विलाएर जाने भएर सकारात्मक भाव पैदाहुने भयो अन्तिम वेलामा उ जेभावमा रहन्छ त्यै भावमा उसको पुनर्जन्म हुन्छ भन्ने मान्यता रहेकोछ। जयश्रीकृष्ण राधे !!

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …