तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन गरेको प्रस्ताव जनता समाजवादी पार्टी (जसपा)ले अस्वीकार गरेको छ । आफ्ना माग सम्बोधन भएपछि मात्रै सरकारमा सहभागी हुने जवाफ जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीलाई दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको छलफलमा ओलीले ‘सरकारमा सहभागी हुन’ प्रस्ताव ठाकुर र महतोलाई गरेका हुन् । सरकारले आफ्ना ‘केही माग पूरा गरेको तर अझ धेरै पूरा गर्न बाँकी रहेकाले मुद्दा सम्बोधनपछि मात्रै सरकारमा सहभागी हुने’ आश्वासन जसपा नेताले दिएका छन् ।

जसपा कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्णले आफूहरू अहिलेकै अवस्थामा सरकारमा सहभागी नहुने बताए । ओलीबाट प्रस्ताव आएको स्वीकार गर्दै उनले अहिलेकै अवस्थामा सहभागी नहुने प्रस्ट पारे ।

केही समयअघि जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोकै आग्रहमा प्रधानमन्त्रीले केही मुद्दा फिर्ता लिइसकेका छन् ।

‘सरकारमा आउनुस्, मिलेरै अगाडि बढौं भन्ने उहाँको प्रस्ताव छ,’ कर्णले राजधानीसँग भने, ‘तर, हामी अहिलेकै अवस्थामा सरकारमा सहभागी हुन सक्दैनौं भनेर जवाफ दिएका छौं ।’

संविधान संशोधन, मधेस आन्दोलन क्रममा लगाइएका झुठा मुद्दा फिर्ता, जेलमा रहेका सांसद रेशम चौधरीको रिहाई, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकतालगायत मुद्दा जसपाले उठाउँदै आएको छ । केही समयअघि जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोकै आग्रहमा प्रधानमन्त्रीले केही मुद्दा फिर्ता लिइसकेका छन् ।

आफ्ना माग केही पूरा भएको र केही बाँकी रहेको भन्दै ठाकुर–महतो समूह गत २७ वैशाखमा विश्वासको मतका बेला तटस्थ बसेको थियो । तर, जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले ओलीको विरोधमा मतदान गरेका थिए ।

भट्टराई–यादव समूहले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)सँग मिलेर सरकार गठन गर्ने गृहकार्य गरेका थिए । तर, ठाकुर र महतोकै कारण उनीहरूको योजना असफल भई ओली नै प्रधानमन्त्री हुन सफल भएका छन् ।

संसदीय दलमा महतो
जसपा संसदीय दल नेतामा राजेन्द्र महतो चयन भएका छन् । पार्टी एकताको एक वर्षपछि जसपाले संसदीय दलको नेता चयन गरेको हो ।

तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र संघीय समाजवादी फोरमबीच १० वैशाख २०७७ मा एकीकरण भएर जसपा घोषणा भएको थियो । एकीकरण भए पनि अहिलेसम्म विधान अभाव र नेताबीच सहमति हुन नसक्दा संसदीय दलको नेता चयन हुन सकेको थिएन ।

जसपा कार्यकारिणी समिति सदस्य एवं सांसद लक्ष्मणलाल कर्णले दलको नेतामा महतो चयन भएको बताए । बहुमत सांसद बैठकले उनलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो ।

जसपामा ३६ सांसद छन् । २० सांसदको बैठकले महतोलाई नेता चयन गर्ने निर्णय गरेको बताइएको छ । तर, जसपा संघीय परिषद् अध्यक्ष डा. भट्टराई र अध्यक्ष यादव समूहले अहिलेसम्म दलको नेता चयन नभएको जनाएको छ । सो समूहको सांसद बैठकमा सहभागी भएनन् ।

जसपा कार्यकारिणी समिति सदस्य एवं सांसद रामसहाय यादवले संसदीय दलको बैठक भएको र नेता चयन भएको झुठो रहेको प्रतिक्रिया दिए । ‘बैठक बसेकै छैन, हामीलाई केही थाहा नै छैन, संसदीय दलको नेता कसरी चयन भयो ?’ उपेन्द्रनिकटका सांसद रामसहायले भने, ‘यो सबै फर्जी काम हो । गलत प्रचार भइरहेको छ ।’

जसपाभित्र दुई समूह छन् । एक समूहको नेतृत्व ठाकुर–महतो अर्को समूहको नेतृत्व भट्टराई–यादवले गरिरहेका छन् । ठाकुर र महतो प्रधानमन्त्री ओलीसँग नजिक छन् ।

भट्टराई र यादव प्रधानमन्त्री ओलीको विरोधमा र कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिलेर वैकल्पिक सरकार निर्माण अभियानमा सहभागी छन् । राजधानी दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …