तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । कोरोना संक्रमण उकालो लाग्दोक्रममा रहेकै बेला नेपालमा १ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन योग्य जनसंख्या अनुमानित २ करोड १७ लाख ५६ हजार ७ सय ६३ रहेको प्रक्षेपण गरेको थियो ।

मन्त्रालय प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार हालसम्म २० लाख ९१ हजारभन्दा बढीले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका छन् । लक्षित जनसंख्यामध्ये ९ दशमलव ६ प्रतिशतले खोप लगाएको आँकलन छ । ३ लाख ६८ हजारले कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्रा खोप लगाएका छन् । अझै खोपलक्षित जनसंख्यामध्ये अनुमानित १ करोड ९० लाख नागरिक वञ्चित देखिन्छन् ।

– निकट भविष्यमै कोभिसिल्ड लगाइने

– २ जेठदेखि भेरोसिल लगाइँदै

सरकारले कोभिड खोपलक्षित समूहको प्राथमिकीकरण गरेको थियो । जसअन्तर्गत स्वास्थ्य तथा सामाजिक क्षेत्रका ९ लाख ११ हजार ३ सय ४२, ज्येष्ठ नागरिक, दीर्घरोगी ५१ लाख ६४ हजार २ सय ६९, ४० देखि ५४ वर्ष उमेर समूहका २९ लाख १ हजार १ सय ४ र १५ देखि ३९ वर्ष उमेर समूहका १ करोड १७ लाख ८० हजार ४८ जना खोप लगाउने लक्ष्य लिएको थियो । तर, अधिकांश अभियानबाट वञ्चित छन् ।

२३ फागुन २०७७ बाट ६५ वर्ष उमेर समूहका नागरिकलाई कोभिसिल्ड खोप लगाउने अभियान सुरु भएको हो । विज्ञका अनुसार कम्तीमा ८ देखि १२ साताभित्र खोप दोस्रो डोज दिइसक्नुपर्नेहुन्छ । यो आधारमा दोस्रो मात्रा दिने अभियान ढिलोमा पनि १५ जेठ सुरु गर्नुपर्नेहुन्छ । तर, पर्याप्त मौज्दात नहुँदा खोप अभियान ‘कहिलेदेखि सुरु गर्ने ?’ भन्ने अन्योल छ । कोभिसिल्ड नगन्य मात्रामा छ ।

पहिलो मात्रा लगाएको १२ साताभित्र खोप लगाउँदा प्रभावकारी मानिन्छ । जहिले खोप दिए पनि अब दोस्रो मात्रा दिने हो, दोहो-याउनुपर्दैन ।

खोप विज्ञ, डा. श्यामराज उप्रेती

खोपविज्ञ डा. श्यामराज उप्रेती पहिलो डोज लगाएको १२ सातासम्म लगाउँदा प्रभावकारी मानिने बताउँछन् । ‘पहिलो डोज लगाएको १२ साताभित्र प्रभावकारी मानिन्छ,’ उनी भन्छन्, ‘जहिले खोप दिए पनि अब दोस्रो मात्रा दिने हो ।’

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीका अनुसार हालसम्म भारतबाट १० लाख डोज कोभिसिल्ड र चीन सरकारबाट ८ लाख डोज भेरोसिल खोप अनुदान प्राप्त भएको छ । खरिद गरिएको २० लाखमध्ये १० लाख डोज खोप, कोभ्याक्समार्फत ३ लाख ४८ हजार डोज आएको छ ।

स्वास्थ्यमन्त्री त्रिपाठीले भारतबाट निकट भविष्यमै खोप प्राप्त हुने जानकारी दिए । ‘अमेरीका, रुस, बेलायत, चीनलगायत देशसँग खोप उपलब्धता सम्बन्धमा वार्ता भएको छ,’ उनले भने, ‘सक्दो पहल गरिरहेका छौं ।’

खोप प्राप्त गर्न नसक्नुको कारण उद्योगमा आगलागी, भारतमा फैलिँदो महामारीपछि निर्यातमा प्रतिबन्ध हुँदा खरिद गरिएको १० लाख डोज आउन सकेको छैन ।

सरकारले आगामी २ जेठदेखि काठमाडौंमा दोस्रो चरणअन्तर्गत चिनियाँ खोप भेरोसेल लगाउने भएको छ । दोस्रो चरणअन्तर्गत १८ माथि ५९ वर्षसम्मकालाई लगाउन लागिएको मन्त्रालयले जनाएको छ ।

औषधि व्यवस्था विभागले अक्सफोर्ड एस्ट्राजेनिका र सेरम इस्न्टिच्युट अफ इन्डियाद्वारा उत्पादित कोभिसिल्ड खोप, रुसी खोप ‘स्पुटनिक–भी’, सिनोफार्मअन्तर्गत बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको ‘सार्स–कोभ–२ भ्याक्सिन (भेरो सेल) प्रयोगका लागि अनुमति दिइसकेको छ ।

सक्रिय संक्रमित एक लाख नाघे

देशभर सक्रिय कोरोना संक्रमित संख्या १ लाख नाघेको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६ सय ३४ पुगेको छ । जसमध्ये संस्थागतमा ७ हजार २ सय ९१ र होम आइसोलेसनमा ९४ हजार ३ सय छन् ।

त्यस्तै, बुधबार देशभर ९ हजार ३ सय ५ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ६८ संक्रमितको मृत्युसँगै मृतक संख्या हालसम्म ४ हजार २ सय २५ पुगेको छ ।

देशभर ५ सय १७ क्वारेन्टाइनमा छन् । पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ४४ व्यक्ति निको भएका छन् ।राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …