तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौँ। स्थानीय तहका जनप्रतिनिधिले कोरोना (कोभिड–१९) सङ्क्रमण तीव्र गतिमा फैलन थालेपछि आफू चढ्ने सवारीसाधन सङ्क्रमित बोक्न र स्वास्थ्य प्रयोजनका लागि प्रयोग गर्न थालेका छन् । 

सङ्क्रमित एम्बुलेन्स नपाएर घरमै छटपटाइरहँदा उहाँहरूकै करबाट खरिद गरिएको सरकारी गाडी चढेर हिँड्न आफूहरूलाई नैतिकताले नदिने भन्दै स्थानीय तहका जनप्रतिनिधिले धमाधम आफूले चढ्ने सवारीसाधन एम्बुलेन्स र स्वास्थ्य प्रयोजनका लागि प्रयोग गर्न थालेका हुन् । 

आफू नागरिककै सेवाका लागि निर्वाचित भएको र नागरिक अस्पतालसम्म पुग्न सवारीसाधनको अभाव भएपछि आफूहरूले चढ्ने सवारीसाधन एम्बुलेन्सका रूपमा प्रयोग गर्न थालिएको स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् । कतिपय सवारीसाधनमा अक्सिजनसहितको सिलिन्डरको व्यवस्था गरी सवारीसाधनलाई अस्थायी एम्बुलेन्स बनाइएको छ भने कतिपय पालिकाले कोरोनाका सङ्क्रमित बोक्नका लागि मात्र सवारीसाधन प्रयोग गर्न थालेका छन् । 

काठमाडौँका टोखा, रुपन्देहीको तिलोत्तमा, चितवनको रत्ननगर नगरपालिकाका र रसुवाको कालिका गाउँपालिकाका प्रमुखले चढ्दै आएको सवारीसाधन एम्बुलेन्स र स्वास्थ्य सामग्री बोक्न प्रयोग गर्ने गरेका छन् । रसुवाको कालिका गाउँपालिका अध्यक्ष सीताकुमारी अधिकारी (पौडेल)ले समुदायमा कोरोनाको सङ्क्रमण बढ्दै जाँदा आफूले प्रयोग गरिरहेको सवारीसाधन सङ्क्रमित बोक्न प्रयोग गर्नु आफ्नो दायित्व सम्झेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “गाउँपालिकामा दुईवटा एम्बुलेन्स छन्, सार्वजनिक सवारीसाधन नचलेको र सङ्क्रमित बढ्दै जाँदा दुईवटा एम्बुलेन्सले पनि नभ्याउने अवस्था छ । महामारीभरि आफूले चढ्ने सवारीसाधनलाई एम्बुलेन्सका रूपमा प्रयोग गरेको छु ।” काठमाडौँको टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले पनि आफ्नो सवारीसाधन स्वास्थ्य सामग्री ओसारपसार र प्रशासनिक कार्यमा प्रयोग भइरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “अहिलेलाई कोरोना सङ्क्रमित बोक्न एम्बुलेन्स छ, भोलि स्थिति भयावह बन्दै गयो भने एम्बुलेन्सकै रूपमा पनि प्रयोग गर्नुपर्ने परिस्थिति आउन सक्छ ।” नगरपालिकाको उपप्रमुखले चढ्दै आएको सवारीसाधन नन–कोभिड बिरामी बोक्न प्रयोग गर्न थालिसकिएको उहाँले जानकारी दिनुभयो । आफूले मोटरसाइकल चढेर कार्यालयमा आवतजावत गर्ने अधिकारीले बताउनुभयो । 

चितवनको रत्ननगर नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले चढ्ने सवारीसाधनलाई कोरोना सङ्क्रमित बोक्न प्रयोग गरिँदै आएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले भन्नुभयो, “नगरपालिकामा एउटा एम्बुलेन्स छ, सङ्क्रमितलाई बोक्न एम्बुलेन्सले नपुगेपछि आफूले चढ्दै आएको सवारीसाधन एम्बुलेन्सका रूपमा प्रयोग गर्न थालिएको हो ।

नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अनुसार धेरै जनप्रतिनिधिले आफूले चढ्ने सवारीसाधनलाई एम्बुलेन्सका रूपमा प्रयोग गरेका छन् तर तथ्याङ्क भने सङ्कलनकै क्रममा रहेको जनाएको छ ।गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …