तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

यसपटकको नयाँ प्रजातिको महामारी गतसालको जस्तो सामान्य छैन | ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा र बान्ता हुने, एकदम थकान हुने, निद्रा लागिरहने, छालामा बिमिरा आउने, आँखा रातो हुनेमध्ये केहि लक्षण मिलेमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला | यसपटक परिवारमा एकजना संक्रमित भएमा सबै संक्रमित हुने अवस्था छ | तसर्थ कुनै लक्षण देखिएमा आइसोलेसनमा बस्नुहोला | संक्रमणको शंका लागेमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला | सहेर वा हेरौं भनेर अलमल नगर्नुहोला | जति छिटो रोग पत्ता लाग्यो, त्यति छिटो उपचार पाउने अवस्था हुन्छ |

पिसिआर पोजिटिभ आएमा गतसाल जस्तो सप्लिमेन्ट ( भिटामिन वा इम्युन बुस्टर ) खाएर ढुक्क नहुनुहोला | यसपटक छिटो कोभिड निमोनिया हुने भएकोले तुरुन्तै नजिकको कोभिड अस्पतालको फिभर क्लिनिकमा जानुहोला | त्यहाँ चिकित्सकले तपाइंलाई परीक्षण गरेर आबश्यकता अनुसार छातीको एक्स रे, रगतको जांच तथा सिटि स्क्यान गर्ने सल्लाह दिनुहुन्छ | यदि तपाइंको अवस्था खराब छ भने उहाँहरुले औषधि वा भर्नाको लागि सल्लाह दिनुहुनेछ | उहाँहरुको सल्लाह अक्षरस पालना गर्नुहोला |

– लामो समय ज्वरो आयो, खोकी लाग्यो, सास फेर्न गाह्रो भयो, खाना खान गाह्रो भयो वा अक्सिजनको स्तर ९४ भन्दा तल भइरह्यो भने घरमा नबस्नुहोला | यो अवस्थामा तपाईंलाई छातीमा संक्रमण भएको बुझ्न सकिन्छ | जति छिटो अस्पताल पुग्यो त्यति छिटो भर्ना हुन् नपर्ने एबम सजिलोसंग निको हुने अवस्था हुन्छ |

– गतसाल संक्रमण भएका वा यो साल खोप लगाएका व्यक्तिलाई संक्रमण हुनसक्छ | प्रजाति फरक भएकोले गाह्रो हुन सक्छ | मैले खोप लगाएको छु वा पोहोरको एन्टिबोडीले काम गर्छ भनेर लापरबाही नगर्नुहोला | अप्ठ्यारो भए तुरुन्त अस्पताल जानुहोला |

– बालबालिका तथा युवालाई केहि हुँदैन भनेर घरमा नबस्नुहोला | यसपटक बालबालिका र युवाको संक्रमण दर, गम्भीर हुने दर तथा मृत्युदर गतसालको भन्दा धेरै छ |

– अस्पताल जाने बेलासम्म घोप्टो परेर सुत्नु भयो भने अक्सिजनको स्तर केहि बढ्दछ | तसर्थ पेटको बलमा घोप्टो परेर सुत्नुहोला |

– अस्पताल प्याक छन् भनेर नआत्तिनुहोला | अस्पताल जाँदैमा सबै भर्ना हुनु पर्दैन | प्याक भएका अस्पतालले अस्पताल बाहिर समेत अक्सिजन दिएर उपचार गरिरहेका छन् |

– चिकित्सकको सल्लाह बिना आफै अक्सिजन लगाएर घरमा नबस्नुहोला | अक्सिजन उपचार हैन | निमोनिया वा अन्य छातीको संक्रमणको औषधि चलाउँदै अक्सिजन लगाउनुपर्छ | अक्सिजनको मात्रा चिकित्सकको सल्लाह अनुसार मात्र थपघट गर्नुपर्छ |

– औषधि उपचार प्रत्येक व्यक्तिको फरक हुनसक्छ | एकजनालाई निको भएको औषधिले अर्को व्यक्तिलाई निको नहुन सक्छ | तसर्थ स्वास्थ्यकर्मी बाहेकका व्यक्तिले सिफारिस गरेको औषधि सेवन नगर्नुहोला | कुनै पनि औषधिले कोरोना च्वाट्ट निको हुने वा लाग्न नदिने कुरा गर्छ भने त्यो गलत हो |

– प्रतिरोध क्षमता बढाउनको लागि जथाभावी आयुर्बेद औषधि नखानुहोला | सम्बन्धित चिकित्सक तथा स्वास्थ्यकर्मीको सिफारस अनुसार मात्र आयुर्बेद औषधि सेवन गर्नुहोला | आयुर्बेद औषधिले कोभिड निको हुँदैन | तपाइंको स्टामिना बढाउँछ | यस्तो बेला सबै चिकित्सा पद्दतिको एकीकृत उपचार प्रभावकारी हुन्छ |

– यसपटकको संक्रमणले निकै छिटो फोक्सोमा असर गर्ने किसिमको छ | ४ – ६ घण्टामा निकै बढी असर गर्न सक्छ | तसर्थ भोलि अस्पताल जाउँला भनेर नबस्नुहोला | निको भएका संक्रमितका कुरा सुन्नुहोला |

– कुनैपनि चिकित्सकले औषधि चलाएको बेला पनि भित्रभित्रै असर हुनसक्छ | यो भाइरल संक्रमण भएको हुँदा एन्टिबायोटिकको भर पर्नु हुँदैन | यस्तो अवस्थामा एकपटक छातीको एक्स रे वा सिटि स्क्यान गर्नु सुरक्षित हुन्छ |

– अस्पतालमा गम्भीर बिरामीप्रति चिकित्सकको ध्यान बढी हुन्छ | तसर्थ नआत्तिनुहोला |

– उपचार पश्चात पिसिआर नेगेटिभ आएपनि कोभिडले तपाइंका बिभिन्न अंगमा असर गरेको हुनसक्छ | चिकित्सकको सल्लाह अनुसार यसको पनि उपचार गरेर स्वास्थ्यलाभ गर्नुपर्ने हुन्छ |

( सरकारले जारी गरेका सुचना, सतर्कता तथा जनस्वास्थ्यका मापदण्ड पालनाबाट हामी संक्रमणबाट बच्नेछौँ | कृपया पटक्कै लापरबाही नगर्नुहोला | हामीले आफु, परिवार तथा समाजलाई संक्रमण हुन् नदिनको लागि सतर्क बनौं | सतर्क भएमा हामी अस्पताल जानु पर्दैन |

( डाक्टर रविन्द्र पाण्डेको फेसबुक वालबाट )

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …