तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

महोत्तरी । लाग्दो वैशाखमै यो हाल छ, जेठको प्रचण्ड घाममा के होला ?” खानेपानीको धाराबाट पानी झर्न छाडेपछि दिक्क हुँदै महोत्तरीको बर्दिवास नगरपालिका–२ बुद्धचोककी गृहिणी गायत्री आचार्यले भन्नुभयो, “खै यसपालि त निको चाल छैन ।”गायत्रीमात्र नभएर लाग्दो वैशाखमै धाराको टुटीबाट पानी झर्न छाडेपछि यस भेगका आम गृहिणी विलखबन्दमा परेका छन् । 

खानेपानीका लागि धारा, इनार, खोल्सीको जरुवा र चापाकल स्रोत रहँदै आएका १४ वडामा विभाजित बर्दिवास नगरपालिकाका लगभग सबै क्षेत्रमा अहिले हाहाकार मच्चिएको छ । हेर्नोस् न, जताततै ढकमक्क कमल फुलेका तलाउ हेर्दाहेर्दै सुके, अहिले त कमल फुल्ने तलाउमा कमिला पो हिँड्न थाले”, बर्दिवास–४ माईस्थानस्थित पञ्चधुरामाई मन्दिर परिसरका खरमट्ट सुकेका तलाउका खाल्डा देखाउँदै त्यहीँकै बासिन्दा सोम कार्कीले भन्नुभयो, “चैत मध्यपछि पानीका मुहान सुक्दै गएका हुन् ।

 वन क्षेत्रभित्रको मन्दिर परिसरका तलाउ सुकेपछि वन्यजन्तु पनि खानेपानी नपाएर ठाउँ छाड्न थालेका कार्कीले बताउनुभयो ।तराईमा जेठ महिना प्रचण्ड राप र उखरमाउलो गर्मीयाम मानिन्छ । त्यतिखेर पानीको समस्या झेल्दै आइएको भए पनि लाग्दो वैशाखमै पानीको हाहाकार पर्न थाल्नु यसपालि राम्रो सङ्केत नदेखिएको यस भेगका सर्वसाधारण अड्कल काट्दैछन् । जिल्लाको बर्दिवासमात्र नभएर उत्तरी क्षेत्रका भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा पनि खानेपानीको समस्या बढ्दो छ । 

भङ्गाहा नगरपालिका–४ का रामनगर, प्रेमनगर र टोका बस्तीका इनार एकपछि अर्को सुक्दै गएका र तल्लो भेगका बस्तीमा खानेपानीका लागि चापाकल प्रयोग हुँदै आएका ठाउँमा पनि पानी सुकेर समस्या बढेको प्रेमनगरका जवाहर महतोले बताउनुभयो ।यहाँ १० वर्ष पहिलेका इनार त सबै सुकीसके, पछि खनिएका इनारमा पनि अब पानी भर्न झारिने डोल डुब्न छाडेको छ”, उहाँले भन्नुभयो, “बर्सेनि इनारमा पानीको सतह गहिरिँदै जाँदा समस्या प्रत्येक वर्षजसो हुने गरेको छ ।” लामो खडेरीले खानेपानीका सबै मुहान र स्रोत सुकेपछि जिल्लाको सुदूर–उत्तरवर्ती क्षेत्रका तीन नगर क्षेत्रका ३० भन्दा बढी बस्तीमा खानेपानीको हाहाकार मच्चिएको हो । 

यसपालि हिउँदे वर्षा नहुनु तथा चुरे र वरपरका नदीमा बालुढुङ्गा उत्खनन गर्नेहरुले गहिरा–गहिरा खाल्डा बनाएपछि वरपरका बस्तीमा इनार र चापाकलको पानीको सतह गहिरिँदै गएको चुरे विज्ञ भङ्गाहा–७ का बासिन्दा डा विजयकुमार सिंहको भनाइ छ । नयाँ वर्ष २०७८ शुरु भएयता इनार, चापाकल सुक्ने क्रम बाक्लिएको छ । रातु नदी र खोल्साखोल्सीको पानी सङ्ग्रह गरेर धाराबाट पानी वितरण गरिँदै आइएका बस्तीमा मुहान नै सुकेपछि धारामा पानी आउन कम हुँदै गएको हो । बर्दिवास नगर क्षेत्रका धेरैजसो बस्तीमा यस्तै धाराबाट खानेपानीको आपूर्ति हुँदै आएको छ । 

खोल्सीको जरुवा, इनार र चापाकल खानेपानीका स्रोत रहँदै आएको यस क्षेत्रमा जेठको गर्मी बढ्दै गएपछि पानी सुक्दै जाने पुरानै कुरा भए पनि यसपालि भने लाग्दो वैशाखमै मुहान सुक्दै गएका हुन् । गत चैतभरि छिटो पानी नपरेर खडेरी लागेपछि सबै सुकेका हुन् । बर्दिवास वरिपरिका खोल्सीबाटै खानेपानीको धारा व्यवस्थापन गर्दै आइएका बस्तीमा धाराबाट पानी झर्न छाडेर टुटीमा खिया लाग्दै गएको बर्दिवास–१२ बिजलपुरा–२ की बासिन्दा राजनीतिककर्मी प्रतिमा कोइरालाले बताउनुभयो । 

धारा सुकेर खिया लागेसँगै बस्तीका पुराना सबै इनार सुकेपछि खानेपानीको जोहोका लागि टाढाटाढा जानु पर्न थालेको बर्दिवास–७ मनहरिपुरकी गृहिणी मुना खत्रीको गुनासो छ । आकाशे पानीको भरमा खेती गर्दै आएका जिल्लाको सुदूर–उत्तरवर्ती क्षेत्रका बासिन्दालाई यसपालि हिउँदे वर्षा नभएर खेती गर्न पाइएन भन्ने मात्र नभई अब खानेपानीकै हाहाकार भएको छ । 

सुक्खायाममा खेती र खानेपानीको व्यवस्थापन कसरी गर्ने भन्ने कुरामा सम्बद्ध पक्ष सधैँ उदासिन रहँदै आएकाले आपूmहरुले कहिल्यै सञ्चोसँग गुजारा गर्न नपाएको यस क्षेत्रका बासिन्दा बताउँछन् ।यता बर्दिवास, गौशाला र भङ्गाहासहितका तीनवटै नगरपालिका नेतृत्वले भने खानेपानीलाई उच्च महत्व दिँदै काम गरिँदै आइएको जनाएका छन् । प्राकृतिक कारणले पानी नपर्नु र पानीका स्रोतका मुहान सुक्दै गएसँगै तिनको मर्मतसम्भार र नयाँ इनार निर्माणका काम अघि बढाइएको भङ्गाहाका नगरप्रमुख सञ्जीवकुमार साहले बताउनुभयो । 

चुरे र जलाधार क्षेत्र विज्ञले भने पुराना इनार मर्मत र नयाँ निर्माण गरेर मात्र यो समस्या नटर्ने बताएका छन् । चुरे क्षेत्र र यहाँका जलाधार क्षेत्रको संरक्षण तथा नदीमा हुने अनियन्त्रित दोहन नियन्त्रणको नेतृत्व स्थानीय तहले नलिएसम्म समस्या झन्झन् बढ्दै जाने चुरेविज्ञ डा सिंहको भनाइ छ । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …